सम्झना हत्या प्रकरण: पहिलो बलात्कारमा मिलापत्र, दोस्रो पटक प्रमाण लुकाउन हत्या


लेखापढी      ११ आश्विन २०७७, आईतवार २२:१३

सम्झना हत्या प्रकरण: पहिलो बलात्कारमा मिलापत्र, दोस्रो पटक प्रमाण लुकाउन हत्या

बझाङ । बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामीको बलात्कार र हत्यामा संलग्न भनिएका राजेन्द्र बोहरा यसअघि पनि बलात्कारमा संलग्न भएको प्रहरीले पत्ता लगाएको छ ।

बोहराले यसअघि पनि गाउँकै एक दलित बालिकाको बलात्कार गरेको प्रमाण अनुसन्धानका क्रममा फेला परेको प्रहरीले बताएको छ । यसअघि १४ वर्षीय बालिकालाई बलात्कार गरी गाउँमै मिलापत्र गरिएको कागजात प्रहरीले फेला पारेको हो ।

बोहरा परिवारको गाउँमा घट्ट भएको र घट्टमा आएका बेला ती बालिकामाथि बलात्कार भएको प्रहरीले तथ्य फेला पारेको हो । उक्त घटनामा गाउँकै केही व्यक्तिको रोहबरमा कागज गरी मिलापत्र गरि रु.५०० जरिवाना सहित मिलाएको थियो ।

मिलापत्रमा यदि बालिका आमा बन्ने अवस्था आएमा आफूले जिम्मा लिने बोहराले कबुल गरेका छन् । प्रहरीले सम्झना प्रकरणसँगै यो घटनालाई पनि कानुनी प्रक्रियामा लैजाने तयारी गरेको छ ।

यसअघि गत बुधबार साँझ घरबाट गोठमा गाईभैंसी बाध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमा नै बलात्कार पछि हत्या भएको थियो । घटनामा संलग्न भएको आशंकामा छिमेकी १८वर्षका राजेन्द्र बोहोरा पक्राउ परेका थिए ।

सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययन गर्थिन् । घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् ।