गलत तथ्याङ्‍क नजाओस भनेर प्रम ओलीले किताब रोक्न निर्देशन, नयाँ नक्सा नै राखिने: मन्त्रि पद्मा अर्याल


लेखापढी      ८ आश्विन २०७७, बिहीबार ०८:०२

गलत तथ्याङ्‍क नजाओस भनेर प्रम ओलीले किताब रोक्न निर्देशन, नयाँ नक्सा नै राखिने: मन्त्रि पद्मा अर्याल

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको किताबमा केहि तथ्यांक  नयाँ नक्सा र क्षेत्रफल सच्याईनु पर्ने भएकोले प्रम ओलीले पुस्तक वितरण नगर्न मौखिक निर्देशन दिएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिपयले भारतीय दबाबले काम गरेको तर्क गरिरहेका छन् । कतिपयको पार्टीभित्रको अन्तरविरोधले काम गरेको आकलन गरेका छन् ।

नक्सा छाप्ने र क्षेत्रफल निर्क्योल गर्ने विभागीय मन्त्री पद्‍मा अर्यालले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ सन्दर्भ पुस्तकमा समावेश गरिएको तथ्य-तथ्याङ्‍क त्रुटिपूर्ण रहेकाले रोक्नुपरेको जिकिर गरेकी छन् ।

 मन्त्री पद्‍मा अर्यालले भनेकी छिन-“पाठ्यक्रम विकास केन्द्रले तयार पारेको किताब केही दिनअघि नै हामीले हात पारेका थियौं । किताबमा समावेश गरिएका तथ्य-तथ्याङ्‍क त्रुटिपूर्ण पाएपछि सच्याउनुपर्ने निकर्ष निकालिएको हो,”
“किताबको मस्यौदा सबै मन्त्रीहरूलाई उपलब्ध गराइएको थियो । तथ्य र तथ्याङ्‍कमा त्रुटि देखिएपछि वितरण गर्ने कुरा आएन ।” उनले राष्ट्रलाई एकढिक्का बनाएर भूमि फिर्ता ल्याउन पहल गरिरहेको सरकारले नक्सा छापेर बाँड्न डराएको भन्ने कुरा आधारहीन रहेको जिकिर गरिन् ।

“नक्सा कसरी रोकिन्छ ?” उनले प्रश्न गर्दै भनिन्, “नक्सा छाप्ने निकाय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि होइन । बाँड्ने निकाय पनि त्यो होइन । भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी हो । हामीले जेठ ७ गने नै नक्सा छापेर बाँडिसकेको छौं । सबै निकायमा पुगिसक्यो । अहिले रोक्ने कुरा आउँछ त ?”
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको किताबमा कुल २ लाख ६७ हजार ५७५ वर्ग किलोमिटर भूभागमध्ये विभिन्न सन्धि, सम्झौताका कारण १ लाख १९ हजार ९३३ दशमलव ७२ वर्ग किलोमिटर भूभाग गुमाएर नेपाल हाल अद्यावधिक गरिएको नक्साअनुसार १ लाख ४७ हजार ६४१ दशमलव २८ वर्ग किलोमिटर क्षेत्रफलभित्र सीमित भएको उल्लेख छ । त्यस्तै नेपाल-भारतको सीमा रेखा १९३० किलोमिटर रहेको र नेपाल-चीनको सीमा रेखा १४९७ किलोमिटर रहेको बताएको छ । नेपालको अद्यावधिक भएको भनिएको क्षेत्रफल त्रुटिपूर्ण रहेको मन्त्रालयको भनाइ छ ।