कात्तिक ७ गतेसम्म क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन, के हाे क्लिन फिड?


लेखापढी      ५ आश्विन २०७७, सोमबार १५:२५

कात्तिक ७ गतेसम्म क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन, के हाे क्लिन फिड?

काठमाडौं । संसदीय समितिले यही कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरि क्लिन फिड लागू गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

संसद्‌को विकास तथा प्रविधि समितिले २०७७ कार्तिक ७ गतेभित्र बोर्ड गठन गरि ऐनको दफा ६ अनुसार डाउन लिंक अनुमित लिएर नेपालमा प्रशारणमा रहेका टिभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

विज्ञापन रहित हुन नसक्ने च्यानलहरुको प्रशारण रोक्न मन्त्रालयले बनाएका कार्ययोजना १५ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन्।

ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरुको प्रशारण रोकिँदा पर्ने सकारात्मक र नकारात्मक प्रभावको बारेमा पनि मन्त्रालयको धारणा पनि १५ दिनभित्र पेश गर्न समितिले निर्देशन दिएको छ।

समितिमा आज विज्ञहरु र सञ्चारमन्त्रालयका पदाधिकारीहरुसँगको छलफलपछि स्वदेशी टिभीलाई प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी टिभीको प्रशारणमा नेपाली विज्ञापन नराख्न पनि निर्देशन दिइएको छ।

के हाे क्लिन फिड

विज्ञापनरहित टेलिभिजन च्यानलको अवधारणा नै ‘क्लीन फिड’ हो । यो अवधारणा अन्तर्गत दर्शकले टेलिभिजन च्यानलका ‘कन्टेन्ट’ बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन ।

अहिले विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेका छन् । नयाँ विधेयक पारित भएमा विदेशी च्यानलहरुले नेपालमा त्यस्ता विज्ञापन प्रसारण गर्नका लागि शुल्क तिर्नुपर्ने हुन्छ ।