१ असोजबाट आन्तरिक हवाई टिकट बुकिङ खुल्ने


लेखापढी      ३० भाद्र २०७७, मंगलवार १४:४५

१ असोजबाट आन्तरिक हवाई टिकट बुकिङ खुल्ने

काठमाडौँ- वायुसेवा कम्पनीहरुले १ असोजबाट बुकिङ खुलाउने तयारीमा छन् । एक वायुसेवा सञ्चालकका अनुसार सरकारले त्यो दिनसम्म गन्तब्य नतोके सबै गन्तब्यका लागि टिकट बुकिङ खुल्नेछ ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकासहित शहरहरुमा निषेधाज्ञा लागू भयो । त्यसपछि उडान समेत पर सरेको हो । पछिल्लो समय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय लिएको हो ।

पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने खुल्ने छैनन् ।

‘सम्भवतः एक तिहाई उडान मात्र पहिलो चरणमा खुल्नेछन्,’ उनी भन्छन्, ‘त्यही अनुसार वायुसेवा कम्पनीले उडान अनुमति पाउने छन् ।’

अब सुरु हुने उडानमा भने स्वास्थ्य मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेपछि जहाज चढ्न पाइन्छ । यसमा ज्वरोसहित कोरोनाको लक्षण भएका बिरामीले जहाज चढ्न पाउने छैनन् ।

सबै यात्रुलाई ज्वरो नाप लिएर मात्र जहाजमा जाने अनुमति हुनेछ । सबै यात्रुले जहाज चढ्नु अगाडी अब आफ्नो परिचय र यात्रा विवरण खुल्ने फारम भर्नुपर्छ । यात्राका दौरान मास्क अनिवार्य गरिएको छ ।