स्वास्थ्य मन्त्रालयले लक्षण नभएकाको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाउँदै


लेखापढी      ३० भाद्र २०७७, मंगलवार १४:३०

स्वास्थ्य मन्त्रालयले लक्षण नभएकाको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाउँदै

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुमा मात्रै पीसीआर परीक्षण गर्ने मापदण्ड बनाइने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अब लक्षणविहीनको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयले लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने गरी काम अघि बढाएको जानकारी दिए।

त्यसैगरी रोग प्रतिरोधी क्षमतासम्बन्धी समस्या भएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले निर्णय भएको तर मन्त्रिपरिषद्‍बाट पारित भइनसकेको जनाए । उनले भने, ‘क्याबिनेटबाट निर्णय भएपछि मात्र टुंगो लाग्छ र कोभिड परीक्षणमा नयाँ मापदण्ड परिवर्तन हुनेछ ।’

यस्तै मन्त्रालयले विपन्न वर्गको मात्र नि:शुल्क कोरोना उपचार गर्ने र अन्यले आफ्नै खर्चमा उपचार गर्नुपर्ने विषयमा पनि छलफल अघि बढाएको छ।

‘छलफल मात्र भएको हो। अब यसको निर्णय गर्ने त सरकारले हो,’ सहप्रवक्ता अधिकारीले भने।