विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त


लेखापढी      ३० भाद्र २०७७, मंगलवार २०:३०

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सोमबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका हुन् ।

कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

वरिष्ठताको आधारमा कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । अर्थ निर्देशनालयका प्रमुख कोइराला प्राधिकरणका कार्यरत १२औं तहका उपकार्यकारी निर्देशक हुन् । वरीयताक्रममा कोइरालाभन्दा अघि रहेका अर्का उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालकको रुपमा काजमा खटिएका छन् ।

शाक्य र कोइरालासहित ग्राहक तथा वितरण सेवा केन्द्रका उपकार्यकारी निर्देशक हरराज न्यौपाने १२औं तहका कर्मचारी हुन् ।