जिर्ण बन्दै गएको ‘ब्यासी कोट दरबार’
बझाङ राज्यको प्रादुर्भाव भएको स्थानका रूपमा परिचित छ, व्यासीकोट दरबार । भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा यो पहाडी जिल्ला बझाङ्ग अबस्थित रहेको छ । बझाङ नेपालको सुदूरपश्चिम प्रदेशको सेती अञ्चलको एउटा जिल्ला हो। हाल यस जिल्लामा १० गाउँपालिकाहरू र २ वटा नगरपालिकाहरु छन। नेपालकै शिक्षामा अग्रणी भुमिका निर्वाह गर्ने यो बझाङ्ग जिल्ला जयपृथ्वी बहादुर सिंह जस्ता मानवतावादी राजा, शिक्षा प्रेमीका कारणले पनि प्रख्यात छ ।
एउटा शिखरमा दरबार (कोट) बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिला (ढुङ्गा) फेला परेछ । उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फाल्दा बारम्बार साविककै ठाउँमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई काल भैरवको रुपमा स्थापित गरी पुजा गरे । अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङ वा वज्र परेछ । तर काल भैरवको प्रभावले उक्त चट्याङ प्रभावहिन भई दरबारमा कुनै क्षति नपुगेकोले त्यस ठाउँलाई बज्रङ्ग भनिएछ । कालान्तर पछि उक्त शब्द अपभ्रंश भई बझाङ्ग हुन गएको हो भन्ने ऐतिहासिक मान्यता रहि आएको छ ।
यस जिल्लाको नाम कसरी बझाङ्ग रह्यो भन्ने सम्बन्धमा एक ऐतिहासिक रोचक कथन छ । बझाङ्गी राजाका पूर्वजले साविकको व्याँसी गा.वि.स.मा हाल छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ४ मा पर्ने एउटा शिखरमा दरवार (कोट) बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिला(ढुङ्गा) फेला परेछ । उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फाल्दा बारम्बार साविककै ठाउँमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई काल भैरवको रुपमा स्थापित गरी पुजा गरे । अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङ वा वज्र परेछ । तर काल भैरवको प्रभावले उक्त चट्याङ प्रभावहिन भई दरबारमा कुनै क्षति नपुगेकोले त्यस ठाउँलाई बज्रङ्ग भनिएछ । कालान्तर पछि उक्त शब्द अपभ्रंश भई बझाङ्ग हुन गएको हो भन्ने ऐतिहासिक मान्यता रहि आएको छ ।
कोट दरबारबाट बझाङ राज्य संचालन गर्दै आएका तत्कालिन राजा ओमजंग सिंहले बझाङ राज्य नेपालमा गाभ्न असहमति जनाएका थिए । स्व. राजा महेन्द्रले बझांगी राजा ओमजंग सिंहलाइ आत्मसमर्पण गरि आबश्यक भत्ता सहित सम्मानपुर्बक रहन गरेको आदेश नमानी सोझै यस्तो जवाफ फर्काएका थिए – “म भत्ता खाने कसैको भतुवा होईन, भत्ता खादैन पनि बरु म लड्न तयार छु किनकि मेरो बझांग जिल्लालाई नेपालको राजधानी बनाउन्छु ।”
नेपाल एकीकरण अघिको राज्यमध्ये बझाङ्ग पनि एउटा राज्य थियो । जसका अन्तिम राजा ओमजङ्ग बहादुर सिंह थिए । बझाङ्ग मात्रै नभई सम्पुर्ण देशकै शैक्षिक इतिहासमा अग्रणी मानिएका सु-प्रख्यात एसियाका दोस्रो गौतम बुद्ध भनेर चिनिने मानवतावादी राजा श्री जयपृथ्वी बहादुर सिंहले नेपाली भाषाको पहिलो पाठ्यपुस्तक “अक्षरांश” लेखि नेपालकै शैक्षिक इतिहासमा ठुलो योगदान पुर्याएका थिए ।
दरबार परिसरमा रहेको मन्दिर
बझाङ्गी राजाको कोट (दरबार), बझाङ्ग जिल्ला, साबिक व्यासी गा.वि.स., वडा नं. ५ हाल छबिस पाथिभेरा गाउँपालिकाको व्यासीको अग्लो रमणीय ठाउँमा पर्दछ। यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरबाट पश्चिम तर्फ २० कि.मि. को दूरीमा रहेको छ । यहाँ आउन गाडीबाट २ घण्टा र पैदल ८ घण्टा समय लाग्दछ । जिल्लाको सदरमुकाम बाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो चैनपुर सरदमुकाम, तमैल, भाँडे, व्यासी हुँदै बझाङ्गे राजाको कोट पुगिन्छ । अन्य बैकल्पिक बाटोको रुपमा चैनपुर सदरमुकामको नौरा, जय पृथ्वीनगर, कडेल, पाटा गाउँ, बान्नी चौरी हुँदै बझांगी राजाको कोट पुगिन्छ । यस जिल्लाको सदरमुकाम चैनपुर पुग्न कैलाली जिल्लाको अत्तरिया महाकाली राजमार्ग हुदै १५ घण्टाको समय लाग्छ । यहाँको मौसम सामान्यतया मध्यम खालको न धेरै चिसो न धेरै गर्मी रहने गर्दछ तर हिउदमा हिऊ पर्ने गर्दछ।
राजा ओमजंग सिंहले उक्त आदेश नमानेपछि बि. सं. २००७ सालमा बझाङ राज्यमा क्रान्ति सुरु भएको थियो। सोही क्रान्तिको समयमा श्री ५ राजा महेन्द्र शाहको आदेशमा खटेका अराष्टे भनिने सेनाले राजा ओमजंग सिंहलाई लखट्दै दार्चुला जिल्लाको मार्मा भन्ने ठाउँमा औडारमा लुकेर बसेको बेला गोली हानी हत्या गरेका थिए। बझाङी राजा ओमजंग सिंहको बि. सं. २०१९ सालमा हत्या भए पश्च्यात तत्कालीन नेपालका राजा श्री ५ महेन्द्र शाहको आदेशबाट खटिएका वडा हाकिम शुवर्ण शमशेरले कोट दरबारमा रहेको श्रीपेच, हिरा, सुनचाँदी लगायतका सबै सम्पति खोसेर लगेको यहाँका स्थानीय बुढापाका बुद्धिजिबीहरु बताउछन।
रोचक कथन- तत्कालिन बझाङ्गी राजा एक राजा मात्रै थिएनन, उनी एक बिशेष दैबी शक्ति भएका व्यक्तित्त्व पनि थिए । राजा र रानी ब्यासीकोट दरबारबाट तिर्खा लागेको बेला उक्त दरबारबाट सोझै देखिने दक्षिण तर्फ ५ किलोमीटर जति टाढा भिरालो भएको ठाउँबाट गिलासमा पानी खाने र त्यहीँबाट ५ किलोमिटर उत्तर बार्है महिना आकर्षक बनावट जो कोहीलाई मन्त्रमुग्ध पार्ने खालको पर्यटक लोभ्याउने सुन्दर पाथिभेरा बासुधारा हिमालको हिउँ खाने गर्दथे भन्ने वास्तविक कथन अझै प्रचलित रहेको छ ।
भौगोलिक अवस्थिति :-
अक्षांस: उत्तरी अक्षांस २९ डिग्री २९” देखि ३० डिग्री ९” उत्तरी अक्षांससम्म
सिमाना: पूर्व- बाजुरा र हुम्ला, पश्चिम- बैतडी र दार्चुला, उत्तर- हुम्ला र चीनको तिब्बत, दक्षिण- डोटी र अछाम
जिल्ला :-
देशान्तर: ८० डिग्री ४६” पूर्वी देशान्तरदेखि ८१ डिग्री ३४” पूर्वी देशान्तरसम्म
होचो भाग: समुन्द्री सतहबाट सबैभन्दा होचो भू-भाग रायल गाविसको देउरा समुन्द्रसतहदेखि ९१५ मिटर उचाइँमा रहेको छ।
अग्लो भाग :-
सबैभन्दा उचाँईमा साईपाल गाउँपालिकाको साइपाल हिमाल । साइपाल हिमाल ७०३६ मिटरको उचाइँमा छ।
सदरमुकाम: चैनपुर
वंश : चन्द्रवंशी
गोत्र :कश्यप गोत्र
बझांगी राजाको वंशावली :-
१ | शक्ति सिंह (संस्थापक) -विसं १५०३ |
२ | सुजान सिंह |
३ | भाउ सिंह |
४ | भीम सिंह |
५ | पृथ्वी सिंह |
६ | जितारीब सिंह |
७ | इन्द्र सिंह |
८ | दिलीप सिंह |
९ | महेन्द्र सिंह |
१० | रतनी सिंह |
११ | कल्याण सिंह |
१२ | अमर सिंह |
१३ | रघुनाथ सिंह |
१४ | समुद्र सिंह |
१५ | गजराज सिंह |
१६ | भूपेन्द्र सिंह |
१७ | विक्रम बहादुर सिंह |
१८ | जयपृथ्वी बहादुर सिंह |
१९ | देवीजङ्गबबहादुर सिंह |
२० | रामजङ्ग बहादुर सिंह |
२१ | ओमजङ्ग बहादुर सिंह |
२२ | ईश्वरीजङ्ग बहादुर सिंह (माननीय न्यायाधीश) |
२३ | दीपकजङ्ग बहादुर सिंह २०३० वैशाख २५ [१] |
२४ | विनोदविक्रम सिंह, २०६५ जेठ १५ सम्म (श्री ५ ज्ञानेन्द्र शाहका भान्जा) |
दरबार प्रवेश द्वार (ढुंगा बाट निर्मित)
व्यासीकोट दरबार :-विसं १५०२ तिर तत्कालीन बझाङी राजा शक्ति सिंहले निर्माण गर्न लगाएका थिए । बझाङी राजाले यही दरबारबाट करिब चार सय वर्ष राज्य चलाएको विभिन्न अभिलेखमा उल्लेख छ । उक्त कोट दरबारमा १९७० देखि १९९० सम्म राजा देवीजंगबहादुर सिंहले बझाङ राज्यको राजधानी स्थापना गरी शासन गरेको अभिलेख छ । १९९५ मा उनको मृत्युपछि १९९६ मा जेठा पुत्र रामजंगबहादुर सिंहले सोही दरबारमा मालपोत, कारागार, अदालत स्थापना गरी राज्य चलाएका थिए । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले समेत केही समय यही दरबारमा राज्य सञ्चालन गरेका थिए ।
अग्लो डाडामा अबस्थित ब्यासी दरबार
दरवारको क्षति :-
बझाङमै निर्मित इँटाद्वारा बनाइएको यो दरबार सुरुमा २५ कोठाको रहेकामा बि.सं. १९९० को भूकम्पले क्षति गरेपछि तत्कालीन राजा देवीजंग सिंहले पुनर्निर्माण गरी १० कोठे बनाएको स्थानीय बूढापाकाको भनाइ छ । पुनः वि.सं २०२३ मा आएको भूकम्पले हल्लाएपछि उक्त दरबारका केही भित्ता चर्किएका थिए । वि.सं २०५७ मा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनी गरेर त्यहाँका प्राचिन धातु, बहुमुल्य मूर्तिहरु समेत लुटेर लगेका थिए । दरबारको चारैतिर भगवती, व्रजेश्वर, महादेव, मष्टा, कालाढुंगो लगायत विभिन्न देवी-देवताका मन्दिर छन् । कोट दरबारमा प्रत्येक वर्ष बडादसैँ, गौरापर्व र चैते दसैँमा पूजाआजा गर्ने प्रचलन छ ।
दरबार रहेको उक्त डाँडामुनि सुन, अभ्रख, सितोपल, तामा र चुम्बकीय शक्तियुक्त खनिज रहेकाले बढि चट्याङ पर्ने गरेको छ ।
हालको छविसपाथिभेरा, दुर्गाथली, थलारा, सुर्मा लगायत गाउँपालिका र जयपृथ्वी नगरपालिकाको दृश्यसमेत देखिने यो दरबार पर्यटकिय गन्तब्य बनेको छ ।
पर्यटकीय सम्भावनाको अनुपम स्थान कोट दरवार:-
मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो। पर्यटकीय गन्तव्यहरुको धनी सुदूरपश्चिम नेपालको भाषा, कला र संस्कृतिको प्रतिबिम्ब मात्र होइन, पर्यटकीय गन्तव्यको खोजीमा यात्रा गर्ने स्वदेशी र विदेशीहरुका लागि अद्भूत भूस्वर्ग मानिन्छ बझाङ । स्थानीयका लागि राजपरम्परा महत्त्वपूर्ण भए पनि बाहिरबाट बझाङ्गी राजाको ब्यासीकोट दरबार जानेहरूका लागि ब्यासीकोट दरबार र यहाँको परम्परा पर्यटकीय आकर्षणमुखी छ । पाथिभरा हिमाल, मष्टा मन्दिर, जयपृथ्वी नगर मेल्लेख, थली दुर्गा मन्दिर नौबिस, खोरी सुर्मा देबी मन्दिर, घट्टे, गाउँमा अवस्थित सुर्मा, धौलदेउ, लाङ्गा, मन्दिर, ऐतिहासिक माटेसाघु, दानछडो झराना, ऐतिहासिक रमणीय ठाउँ बासुधारा, जुजीको रमणीय जिउलो, थलारा,छन्ना, नाम्पा हिमाल, रमणीय ठाउँ नौबिस लगायतका अन्य हिमश्रृङखलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । हालको छविस पाथिभेरा, दुर्गाथली , थलारा, सुर्मा लगायतका गाँउपालिका र जयपृथ्वी नगरपालिकाको दृष्य समेत देखिन्छ । दक्षिणतिर सेती नदी र त्यस छेउछाउका बस्तीहरूको दृश्य पनि माथिबाट उत्तिकै आकर्षक देखिन्छन् । यस क्षेत्रमा घुम्न आइपुग्नेहरू दरबारमा अनिवार्य पुग्ने गरेको शिक्षक श्री नारायण भट्टले बताए।
कतिपय विदेशी पर्यटक पनि आइपुग्छन् । केहीले परम्परा बुझ्न र भौगोलिक वातावरणमा रमाउन दोहोर्याएर आउने गरेको स्थानीय बासी नारायण प्रसाद भट्टले बताए । ‘कतिपय दुई–चार दिन यतै बसेर जान्छन् । कोही एक–दुई वर्ष पछि पनि फर्केर आउँछन्,’ उनले भने, ‘यहाँको वातावरण देखेर नेपाली भन्दा पनि विदेशीहरू बढी रमाउँछन् ।
छबिस पाथिभेरा गाउँपालिकाले पनि यस दरबारलाई गाउँपालिकाको मुख्य पर्यटकीय तथा पुरातात्त्विक महत्त्वको स्थानको मानेको छ । यसको प्रचारप्रसार र प्रवर्द्धनका योजना निर्माण भइरहेको गाउँपालिका अध्यक्ष अक्कल बहादुर धामीले बताए ।
बझाङ राज्य :-
कोट दरबारबाट बझाङ राज्य संचालन गर्दै आएका तत्कालिन राजा ओमजंग सिंहले बझाङ राज्य नेपालमा गाभ्न असहमति जनाएका थिए । स्व. राजा महेन्द्रले बझांगी राजा ओमजंग सिंहलाइ आत्मसमर्पण गरि आबश्यक भत्ता सहित सम्मानपुर्बक रहन गरेको आदेश नमानी सोझै यस्तो जवाफ फर्काएका थिए – “म भत्ता खाने कसैको भतुवा होईन, भत्ता खादैन पनि बरु म लड्न तयार छु किनकि मेरो बझांग जिल्लालाई नेपालको राजधानी बनाउछु ।”
राजा ओमजंग सिंहले उक्त आदेश नमानेपछि बि. सं. २००७ सालमा बझाङ राज्यमा क्रान्ति सुरु भएको थियो। सोही क्रान्तिको समयमा श्री ५ राजा महेन्द्र शाहको आदेशमा खटेका अराष्टे भनिने सेनाले राजा ओमजंग सिंहलाई लखट्दै दार्चुला जिल्लाको मार्मा भन्ने ठाउँमा औडारमा लुकेर बसेको बेला गोली हानी हत्या गरेका थिए। बझाङी राजा ओमजंग सिंहको बि. सं. २००७ सालमा हत्या भए पश्च्यात तत्कालीन नेपालका राजा श्री ५ महेन्द्र शाहको आदेशबाट खटिएका वडा हाकिम शुवर्ण शमशेरले कोट दरबारमा रहेको श्रीपेच, हिरा, सुनचाँदी लगायतका सबै सम्पति खोसेर लगेको यहाँका स्थानीय बुढापाका बुद्धिजिबीहरु बताउछन।
अन्तमा :-
जिल्लाको छबिस पाथिभेरा गाउँपालिका -४ ब्याँसीमा रहेकोे ऐतिहासिक कोट दरबार यतिखेर संरक्षणको पर्खाइमा रहेको छ। जिल्लाकै पुरानो र ऐतिहासिक उक्त “कोट दरबार”को कुनै राज्य पक्षबाट सही संरक्षण हुन सके सुदूरपश्चिमकै नमुना पर्यटकीय क्षेत्र बन्न सक्ने ठूलो सम्भावना देखिन्छ। दरबार संरक्षण हुनुपर्ने र उक्त कोट दरबार नेपालको सम्पदा सूचीमा दर्ता गरिनुपर्ने छबिस पाथिभेरा गाउँपालिका बासिको माग रहेको छ।
जिल्लाकै पुरानो र ऐतिहासिक उक्त कोट दरबारको कुनै पनि निकायबाट उचित संरक्षण र संवर्द्धन हुन नसकेपछि दिन प्रतिदिन जीर्ण बन्दै गएको पनि देखिन्छ ।
छविस पाथिभेरा गाउँपालिकाले पनि दरबारको संरक्षणको लागि पहल गरेको गाउँपालिका अध्यक्ष अक्कल धामीको दावी छ । उनले दरबार जाने बाटो नजिक सडक विस्तार गरिएको बताउदै गुरुयोजना नै बनाएर दरबारको संरक्षण, जिर्णाेद्धार र पर्यटकिय स्थलको रुपमा विकास गर्ने गरि काम थालिएको बताएका छन ।
ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको यस दरबारको सम्बर्दन, प्रबर्दन र जीर्णोद्धारमा राज्यको ध्यान पुग्न सकेको छैन । भावी सन्ततिहरुका लागि विभिन्न अध्ययन, अनुसन्धान तथा बझांगी इतिहासको साक्षीको रुपमा महत्त्वपुर्ण स्थान रहेको यो ऐतिहासिक दरबार सुरक्षित राख्न आवश्यक छ ।
मिन बहादुर मण्डेल
छविस पाथिभेरा
बझाङ्ग (लेखक पेशाले शिक्षक हुनुहुन्छ । साथै नेपाली कला र संस्कृतिकाे अनुसन्धानकर्ता समेत हुन् र यस लेखापढीका नियमित स्तम्भकार समेत हुन।)