मृत्यु-इच्छा (लघुकथा)


लेखापढी      २८ भाद्र २०७७, आईतवार ०४:५८

मृत्यु-इच्छा  (लघुकथा)

बृद्धाआश्रमको शान्त परिवेश… उ विभिन्न उत्सब तथा कार्यक्रममा उक्त आश्रम गइरहन्थ्यो ।

त्यहा बृद्ध-बृद्धाहरुसंग यति घनिष्ठ भइसकेको थियो कि, सबैले आफ्नो तिता-मिठा कुराहरु बताएर मन हलुका बनाउथे । 
प्रायः त्यहा आश्रय लिनेहरु सबैको एकै प्रकारको कथा-ब्यथा हुन्थ्यो तर एक जना बृद्ध आमाको दृष्टान्त केहि फरक थियो ।

“बुझ्यौ बाबु ! तिनीहरुले त मेरो लास पनि छुन नपरोस । मलाई दागबत्ती पनि दिन नपरोस । म बुढीलाई कम रुवाएका छन तिनीहरुले…”
मुहारमा आक्रोस र रोदन सहित यहि कुरा दोहोर्याईरहन्थिन ति आमासंगको प्रत्येक भेटमा । नालायक छोराहरु जन्माएर हुर्काएकोमा आफैलाई धिक्कार्थिन ।

तर आज कुनै उत्सब मनाउनु छैन तापनि उ सधै झैँ आश्रममा उपस्थित छ । ति आमाको अन्तिम बिदाइ गर्न ।
आश्रमका अन्य बृद्ध-बृद्धाहरु सबै एक प्रकारले नजरबन्दमा परेका छन।  चौतर्फी सुनसान छाएको छ । आश्रमको आगनमा ति आमाको मृत देह पुर्णत प्लास्टिकले बेरेर राखिएको छ ।
वरिपरी रक्षात्मक कवच (पिपीई) मा केहि सैनिक जवानहरुको उपस्थिति देखिन्छ।
आमाका छोरा-बुहारीहरू, नाति-नातिनाहरु कृतिम रुवाईमा परैबाट एकटकले हेरिरहेका थिए ।

टोलाएर उ सोचिरहेको थियो –“साच्चै उनको मृत्यु-इच्छालाई पुरा गरिदिएको छ कोरोनाले, न आफन्तले छुनु पर्यो..  न त दागबत्ति नै दिनुपर्यो…” 


मनिष  कुमार शर्मा ‘समित’
ठिमी, भक्तपुर 
(निरन्तर रुपमा उत्कृस्ट साहित्यिक रचनाहरु पठाउनुहुने “मनिश कुमार शर्मा ‘समित’ ज्यू प्रति हार्दिक आभार ब्यक्त साथै निरन्तरताको कामना गर्दछौ – लेखापढी मिडिया )


हजुरहरुका लेख-रचना  ईमेल गर्न सक्नुहुन्छ – lekhapadhee@gmail.com
Visit us : www.lekhapadhee.com