कथा : एक रात – विश्वेश्वरप्रसाद कोइराला


लेखापढी      २४ भाद्र २०७७, बुधबार १४:५२

कथा : एक रात – विश्वेश्वरप्रसाद कोइराला

 

विश्वेश्वरप्रसाद कोइराला~

त्यो रात्रि पनि सधैंको जस्तो साधारण रात्रि थियो। अन्धकारमा मानिसको लोक थाकेर मरेको– चिसो, जाडोले कठाङ्ग्रिएको। काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन। घरघरमा बत्ती निभेका छन्, ढोकाझ्याल टम्म छन्। सून्य सडकका खामामा बत्ती घोरिएर भुइँतिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रिको निःश्वासजस्तो बत्तीबत्तीमुनि झुन्डिएर अडिरहेको छ। निष्पट्ट शान्ति छ सहरमा, झन् जाडोले शान्तिलाई जम्मोठजस्तो डल्लो पारेर अडाइदिएको छ।

अरु जाडाका रात्रिसरह नै त्यो रात्रि पनि थियो। जीवनको कार्यरतता एकदम थामिएर अडेको मानौं तमाम विश्व स्पन्दनहीन भएको छ। दरबारमा राजारानी र अरू राजपरिवारका प्राणीहरू सुतेका थिए। मन्त्रीहरू र अरू ठूलाठूला कर्मचारीहरू सरकारी आवासस्थानहरुमा; पसले, जागिरिया, कृषक, गरिब, मध्यवित्तीय तथा धनी व्यक्तिहरू, नरनारी सबै, बालक, विद्यार्थी, ज्यामी, कामी, आफ्नाआफ्ना घरमा सर्वहारा पाटीका सत्तलमा जहाँ मुन्टो घुसार्ने ठाउँ पाए त्यहीँ सबै सुतेका थिए।

रात्रिक्लबबाट छरिएका मोटरहरूको ठाउँठाउँमा आवाज र मोटरभित्र बसेका पुरूष र नारीकण्ठको हाँसो मिस्सिएको ध्वनि, सडकमै फुटपाथमा गोडा लतार्दै अझै आफ्नो घरको आश्रयमा पुग्न नसकेका लुगैलुगाले सारा शरीरलाई बेरेर हिँडेका एकदुई मानिसहरू, कुनैकुनै घरबाट सुनिने बूढाहरूको भारी छातीको खोकी, साना नानीहरुको अचानक उठेको र त्यस्तै अचानक थामिएको क्रन्दन। कुनैकुनै झ्यालको कापबाट फुस्किएको ज्योति जसले भित्र बन्द कोठामा कुनै दाम्पत्यमा क्रयीविक्रयी प्रणयलाई सजिलो पारिरहेको थियो। आदि यस्तै सानासाना चहलपहलका कुराहरूले मात्र यो सङ्केत दिन्थ्यो- जीवन हठात मरेको थिएन – थामिया मात्र थियो, मृत्युवत निद्रामा।

र, झ्यालखानाको एक कुनामा एकतले मुन्डा घरको कालकोठरीमा एउटा किशोरलाई पनि अकस्मात झपक्क आँखा लागेछ र त्यसै गुँडुल्किएर राडीको बिछ्यौनामा सुतेछ – जाडोले एकडल्लो भएर हातलाई तिघ्राका बीचमा घुसारेर। त्यसैबखतमा फलामे डन्डी भएको कोठरीको ढोकामा बाक्लो साङ्ग्लो बज्यो। किशोरको तन्द्रा भङ्ग भयो। सोच्यो- उनीहरु आए। बाहिर, धेरै मानिसहरुको गोडाको आवाज खस्याकखुसुक सुन्यो र कर्कश शब्दका साथ फलामे डन्डीमा सिक्री रगडिएको पनि।

भर्खर यसो उँघेको मात्र थियो क्यारे, तर घडी कति छिटै बितेको। रात्रि कमिस्नर आएर सोधेर गएका थिए- के खान मन छ?

उसले भनेको थियो टाउको हल्लाएर- केही खान मन छैन।

कमिस्नरले फेरि सोधेका थिए- घरका मानिसहरुलाई केही भन्नु छ?

उसले फेरि टाउको हल्लाएर भनेको थियो- छैन, केही भन्नु।

फेरि कमिस्नरले बडो कोमल स्वरमा अन्तिम बार सोधे- तिम्रो अन्तिम इच्छा के छ? केही भन्नु छ?

किशोर केही सचेत भयो र उसलाई लाग्यो, कमिस्नरको यो प्रश्नमा अन्तिम दिलचस्पी लिएर केही बोलिदिनैपर्छ। नत्र जीवनको केही टुङ्गो नलागेको जस्तो हुनेछ। बिसर्जन वाक्य त केही भन्नैपर्छ। उसले भन्यो- तमाम किशोर युवकहरुको जीवनमा मानवीय मर्यादा र सुख सम्भव हुन जाओस्।

कमिस्नर मानौं हडबडाएर उठे र उनले बडो अस्वाभाविक कण्ठमा भने- ल, भो भो।

त्यसपछि फेरि फलामे ढोका लाग्यो। सिक्री बारमा रगडियो। बाक्लो ताल्चा मारियो। र, गोडाको आवाज बिस्तारै चिसो माटोमा विलीन हुँदै गयो।

किशोर फेरि एक्लै भयो कोठामा। अन्तिम घडी आएछ- चटक्क चुँडिने जीवनको कोमल हाँगोबाट। हठात समाप्त हुने– छु र छैनका बीच छुट्याउने एउटा पातलो रेखा सायद खुकुरीको धारको या कुनै बटारिएको चिल्लो डोरीको। साधारण मृत्यु होइन यो, जसमा जीवन बिस्तारबिस्तार निभ्दै जान्छ, बिलाउँदै–बिलाउँदै जान्छ। कालगतिको सामान्य नियममा बाँधिएको मृत्यु यो होइन। न हो यो त्यस्तो अकस्मातको मृत्यु जस्तो कि युद्धमा तातो गोली खाएर प्राण उठेको हुन्छ। सोच्दै नसोचेको गोली लाग्छ छातीमा, अनि त्यही अकस्मातको आश्चर्यमा मान्छेको शरीर सेलाइहाल्छ।

यहाँ त धेरै दिनदेखि पर्खिएको मृत्यु हो यो। झन् दरबारबाट मृत्युदण्डको पुष्टि भएपछि– आज हुन्छ, भोलि हुन्छ भन्दै औंलामा दिन गन्दै मृत्युलाई पर्खेर बसेको। कालगतिको नियमबाट आएन यो, न अकस्मात नै आयो। यहाँ त धेरै आयोजना भए थानामा, प्राइभेट न्याय गोष्ठीमा, दरबारमा– खुब छलफल भए, ऐनको ठेलीबाट निकै दफा झिकेर न्यायको व्याख्या भयो र अहिले पनि मृत्युका लागिको यो बृहत आयोजन समाप्त भैसकेको छैन– बाँकी रहेको कागजमा अफिसरहरुको दस्तखत पर्दै होला, अन्तिम अर्डरहरु लेखिँदै होलान्, खुकुरीमा सान लगाइँदै होला, या डोरी, तख्ताको व्यवस्था मिलाइँदै होला– तर तैपनि मृत्यु त हठात नै– छु र छैनका बीच केवल आधा सास– मुटुको केवल आधा चडकाइ।

किशोरले घरलाई सम्झ्यो। पहिलेपहिलेको जस्तो भावनाले विभोर भएर होइन, एकदम अनुद्विग्न भएर। मानौं घरको दृश्य त्यो हेरिरहेको छ, तस्बिरहरुमा। उसका आमाबा एउटा ठेट ग्रामीण दम्पती। उनीहरुले बुझे होलान् र राजनीतिका कुरा? सानो गृहस्थीमा आइपर्ने सुखदुःखका कुराभन्दा माथि कहाँ उठ्थ्यो र उनीहरुको विचार! जेठो छोरोलाई अङ्ग्रेजी पढाउने पनि बडो छलफल गरेर मात्र निर्णय भएको थियो। नत्र आमा त भन्थिन्- गाउँको पाठशालामै कौमुदी पढाए भइहाल्यो नि।

इष्टमित्रहरुले भनेका थिए- आजकाल अङ्ग्रेजी नपढाइकन हुँदैन।

र, बालाई जेठो छोरोमाथि बडो आशा थियो। त्यसैले अङ्ग्रेजी पढाउने नयाँ कुरा तिनले गरे। छोरोले जब म्याटि्रकमा प्रथम श्रेणी ल्यायो, बाको आँखा त्यसै गर्वले उज्यालो भएको थियो। तर मुखले भने गर्वको एक वाणी झिकेका थिएनन्। बरू गाउँवालाहरुले आफ्नो एउटा ठिटोले इज्जत कमाइदिएको हुनाले भने- क्याबात!

बालाई त मनग्य पुगेको थियो। जेठो छोरोले त्यति अङ्ग्रेजी पढिहाल्यो। अब घर बसोस् र खेती हेरोस्।

आमा पनि भन्थिन्- अब यसलाई धेरै पढाउनु पर्दैन। घरमा दुई छाक खान पुगिहालेको छ, नोकरी गर्नुपर्ने होइन। हेर हेर, कति दुब्लो भएको छ अङ्ग्रेजी पढ्दा।

गाउँलेहरुले नै फेरि ढिपी गरेर- यत्रो जेहन भएको छोरोलाई घरमा थन्क्याएर राख्ने हो? पढ्छलेख्छ काजी, मिनिस्टर, जज, बेरिस्टर हुन्छ। इज्जत थुपार्छ यसले हामी सबैको।

अनि आइए पढाउन हिन्दुस्तान पठाएको थियो। आमा त केही नबुझेर अन्ध वात्सल्यमा आँसु बगाइरहँदी होलिन्। बा भने आँसुलाई बलपूर्वक थाम्दै, नरिवलको हुक्कामा तमाखुमाथि तमाखु तानेर पिँढीमा एकोहोरो टोलाएर बसिरहँदा होलान्। सानो भाइ आफ्नो स्कुलमा राजनीतिका कुरा गर्दो हो र भन्दो हो- नेपालमा प्रजातन्त्र ल्याउनुपर्छ।

अनि एक्लै भएको बखतमा मलाई सम्झिँदो हो र सायद साथीहरूले नदेख्ने गरी तकियामा मुन्टो गाडेर आँसुलाई पुछ्दो हो। मेरो राजनीतिक इतिहासका मोटामोटा किताबलाई पल्टाएर भन्थ्यो- दाइ, म कहिले पढ्छु यिनलाई!

किशोरले बैनीलाई सम्झ्यो, जसलाई ऊ बडो माया गर्थ्यो। बाहिरबाट छुट्टीमा आउँदा उसलाई एकजोर रङ्गीन सूती सलवार र कुर्ता ल्याइदिएको थियो। घरमा उसले ठूलो आन्दोलन मच्चाएर बैनीलाई यो वेशमा बाहिर निस्किन लगाएको थियो। बाले भने- जेठोले के–के गरिहिँड्छ, नगरेको चलन।

उसले बैनीलाई राखेर भन्यो- बैनी, तिमीले पढ्नु पनि पर्छ। म तिमीलाई पढाउँछु।

बैनी बडो उत्साही बालिका थिई। उसले भनी- म पढ्छु, दाइ! म पनि ठूलो हुन्छु। धेरै पढ्छु।

अनि बडो मेहेनत गर्न थालेकी थिई पढ्नमा। जहिले पनि कापी, किताब र कलम उसको हातमा हुन्थे। र, घरको कुनामा या आँपको गाछीमुनि ऊ घोप्टो परेर सुतेर पढ्थी। एउटा स्याल बडो धूर्त थियो … दाइ, …धूर्त’ भनको के भनेर किताबबाट मुन्टो झिकेर सुतीसुती कराएर सोध्थी। अनि अङ्ग्रेजी पनि पढ्न थाल्थी- ए, बी, सी, डी…!

आमा भन्थिन्- छोरालाई के थरीथरीको कुरा गर्न मन लाग्छ। मैयाँलाई अंग्रेजी पढाउने रे! बिहा भएर पराईका घर जाने छोरीलाई घरको काम सिकाउने कहाँकहाँ?

आमा हाँस्थिन् छोरीले कनीकुथी गरेर पढेको देख्दा र कहिलेकहिले त्यहीँनिर बसेर उसले पढेको कथा सुन्थिन्।

बैनी भन्थी- आमा, म बिहे गर्दिनँ।

आमा भन्थिन्- के भनेकी रे, बिहे गर्दिनस्?

अहँ गर्दिनँ। देशसेवा गर्छु पढेर, आमा! – भन्थी बैनी।

त्यसपछि किशोरको बिहा भयो। सानी केटी आई, दुलही भएर।

उसले बालाई एकदुई चोटि भनेको थियो- बा, अहिले बिहे गर्दिनँ, पढिसिध्याउँछु अनि।

बाआमा दुवैले बडो आग्रह गरे र भने- बुहारी घरैमा हामीसँग बस्छे, तँ पढ्न जालास्। के बिग्रिन्छ त्यसले!

उसले यसमा धेरै जिद्दी गरेन। यद्यपि उसलाई मनमनै लाग्थ्यो- पढ्न सिध्याएर आफ्नै गोडामा उभिने भएपछि बिहा भए असल। त्यसो हुनाले आमाबाको आज्ञा मानेर मात्र उसले बिहा गरेको थियो। आफ्नो बिहेमा उसलाई दिलचस्पी थिएन।

तर, बिहे गरेर जब उसले एउटी सानी केटीलाई घर लिएर आयो, उसलाई लाग्यो, उसलाई म आफ्नो रुपमा ढाल्छु। दुलही बैनीजत्री थिई। उसले भन्यो- यसलाई पनि पढाउँछु, लेखाउँछु र बाहिरको जगतमा अर्धाङ्गिनी बनाएर उपस्थित गर्छु। मेरो जीवनमा यो गाँसिन आई।

अनि बडो चाख लिन थालेको थियो, आफ्नी सानी पत्नीमा।

तर, ऊ यति सानी थिई कि, के कुरा गर्ने ऊसँग! यो बिरानो घरमा ऊ पनि चुप लागेर बसिरहन्थी र केही सोध्यो भने आफ्ना ठूलाठूला आँखा उठाएर हेर्थी। तर बोल्न बडो गाह्रो मानेको जस्तो गर्थी।

एकदिन किशोरले सोधेको थियो- राधा! तिमीले घरमा लेख्नपढ्न सिकेको थियो कि थिएन?

उसले आँखा उठाएर हेरेर मुन्टो मात्र हल्लाएकी थिई- यो भन्नलाई कि पढेकी छैन।

त्यसपछि राति बसेर ऊ दुलहीलाई पढाउन थालेको थियो। र, उसले बैनीलाई भनेको थियो- बैनी, भाउजूलाई पनि आफूले पढेको सिका न।

एकदिन उसले दुलहीलाई भन्यो, साँझतिर- राधा! हिँड जाऊँ घुम्न, नदीतिर।

यस्तो कुरा गाउँमा पहिले कहिल्यै पनि भएको थिएन। राधाले छक्क परेर किशोरलाई हेरिरही। किशोरले फेरि आग्रह गरेको थियो- हो, नयाँ युगका अनुसार हामीले पनि हिँड्ने बानी गर्नुपर्छ, राधा!

अनि राधा खुसी भएकी जस्ती थी, तर भन्नचाहिँ यति भनी- तर मलाई लाज लाग्छ।

त्यसरी राधासँग उसको प्रेम घनिष्ठतर हुँदै गएको थियो। कति सुधी, लाटी छ राधा!

यही बमकाण्डभन्दा केही दिन पहिलेको कुरा। कलेजमा क्रान्तिकारी गोष्ठीले बम फ्याँकेर तानाशाहलाई अत्याउनुपर्छ र चेतावनी दिनुपर्छ भन्ने निर्णय गरेको थियो। र, किशोरले स्वेच्छाले यो काम आफ्नो जिम्मामा लिएको थियो। त्यसपछि बम लिएर घर आएको थियो ऊ।

बेलुका उसले राधालाई भन्यो- हिँड जाऊँ, नदीतिर घुम्न।

राधाले फेरि आफ्ना ठूलाठूला आँखा उठाएकी थिई र भनेकी थिई- लाज लाग्छ मलाई।

किशोरले राधाका ठूलाठूला आँखापट्टि लक्ष्य गरेको थियो। उसलाई लागेको थियो, कत्रा ठूलाठूला निर्दोष आँखा छन् यसका। र, साँच्चै उसको अनुहारमा लाजको चिह्न पनि थियो, चिल्लो श्यामल अनुहारमा हलुको रक्त चढेको।

उसले भनेको थियो- राधा, अझसम्म लाज गएको छैन, तिम्रो! आमा हुने बखतमा पनि?

राधा लाजले भुतुक्क भएकी थिई। तर एकछिनपछि तिनीहरु सन्ध्याको अँध्यारोको आडमा गाउँलाई राखेर नदीतिर आएका थिए। राधा कत्रो भरोसा लिएर आइरहेकी थिई ऊसँगै, त्यस साँझमा। घाटमा एकछिन बसेर उनीहरुले कुरा पनि गरे, गोडा पानीमा झुन्ड्याएर।

किशोरले भन्यो- राधा, तिमीले आफ्नो जिउको राम्रो हेरविचार गर्नू।

राधाले केही नबोलेर आफ्नो गोडा पानीमा हल्लाइरही। अनि एकछिनपछि त्यसै लहडमा सोधेको जस्तो गरी किशोरले भन्यो- तिमीलाई पहिलो सन्तान छोरा कि छोरी, के मन पर्छ?

राधाले अँध्यारोमा पनि लाजको मुख छोपी। तर मनमा बडो प्रसन्न थिई। र, बिस्तारै छोपेको मुखबाट भनेकी थिई- छोरो।

किशोरले त्यस्तै सहज स्वरमा भन्यो- राधा! छोराको राम्रो हेरविचार गर्नू!

अनि राधाले मुखबाट हात झिकेकी थिई र टुलुटुलु किशोरतिर हेर्न थालेकी थिई। उसको पानीसँग खेलिरहेको गोडा थामिएका थिए। उसले सानो आशङ्काको स्वरमा सोधेकी थिई- किन यस्ता कुरा गरिरहेका छौ आज, प्राणनाथ!

प्राणनाथ -अत्याहटको सानो वेगमा संयमलाई बिर्सेर हृदयको स्पष्ट ध्वनि निस्केको थियो, राधाको मुखबाट- प्राणनाथ! किशोरलाई आफ्नो एकान्तको कुरा बताएर सम्बोधन गरेको यही पहिलोचोटि थियो राधाले र आखिरीचोटि। भोलिपल्ट त ऊ समातिइहालेको थियो।

राधाको अत्याहट बुझेर उसले वातावरण हलुको पार्न भनेको थियो, उसको हात आफ्नो हातमा लिएर- हामी दुवैले मिलेर आफ्नो छोरालाई राम्ररी हेरौंला, माया गरौंला, पढाउँला लेखाउँला र ठूलो पारौंला।

राधा कस्ती सरल बालिका जस्ती थिई। उसको गोलगोल अनुहारमा अझै बालिकाको स्निग्धता बाँकी नै थियो। तर आमा पनि हुन लागेकी थिई अब त्यो।

अनि स्वाभाविक स्थितिमा आएर उसले भनेकी थिई- तिमीले कहिलेकहिले अनौठो व्यवहार गर्छौ, अनौठो कुरा गर्छौ।

साँझको अन्धकार गाढा हुँदै आएको थियो। उनीहरु घर फर्के। बाटामा राधाले आफ्नी दिदीको कुरा गरी, जसले छोरा पाउँदा राधा पनि थिई। दिदीको छोरो कस्तो राम्रो छ, घुतुमुने काखभरि अटाउने लिइरहूँ जस्तो लाग्छ। म्वाइँ खाइरहूँ जस्तो लाग्छ।

त्यही एकचोटि थियो जब राधाले आफ्नो मनका कुरा मात्रै गरेकी थिई, एकदम मुखरा भएर।

थुनिएपछि उसले सुन्यो कि, राधाले छोरो पाई।

किशोरले राडीमा लेटीलेटी सुनिरह्यो, जेलका विभिन्न ध्वनिहरु। जबकि सबभन्दा उपर चढेको हुन्थ्यो चौकीदारहरुको गर्जन- होशियार! होशियार!

कहिले किशोर फेरि तस्बिर हेरेको जस्तै मनको चिसो आँखाले कलेजका साथीहरुलाई हेर्न थाल्थ्यो। उसले विदेशमा पनि कलेजमा पढ्ने विद्यार्थीहरुको एउटा सङ्घ बनाएको थियो, जहाँ नाना विषयमा छलफल हुन्थे- प्रजातन्त्र, मार्क्सवाद, स्वतन्त्रता, समाज र व्यक्ति आदि विषयहरुमा। र, सबै विद्यार्थीहरु युवकको उत्साहमा आफ्नाआफ्ना मतमा अडिग भएर बहस गर्थे। तर सबैको हृदयमा नेपाललाई उन्नतिको आधुनिक बाटोमा लग्ने इच्छा थियो र सबै नेपालको पुरानो व्यवस्था र हुकुमी शासनको अन्त्य चाहन्थे।

हिंसा–अहिंसाको पनि तर्क उग्र जोशका साथ हुन्थ्यो उनीहरुका बीच। कोही भन्थे- अहिंसाको मार्गले प्रजातन्त्र दिगो हुन्छ। र, कोही भन्थे- अहिंसालाई सफल प्रयोगमा ल्याउन पनि प्रारम्भिक हिंसा चाहिन्छ, बाटोलाई छेकेको तगारो हटाएको जस्तो। त कोही भन्थे- अहिंसाले राजनीतिक परिवर्तन गर्ने भए र त्यसरी दिगो प्रजातन्त्र कायम गर्ने मनसुवा भए अनन्तसम्म पर्खन पनि तयार हुनुपर्छ तर यत्रो दु्रतगतिमा बढिरहेको दुनियाँमा के हामी नेपालीले अनन्तसम्म पर्खिरहने!

त्यहीँ एउटा सानो क्रान्तिकारी गोष्ठी पनि बन्यो, जहाँ यो निर्णय लिइन्थ्यो कि राजनीतिमा हिंसाको पूर्णतः त्याग असम्भव छ। त्यसो हुनाले प्रयत्न यसमा मात्रै गर्नुपर्छ कि, हिंसा सीमित रहोस् र अनिवार्य भएमा मात्र अनिवार्य परिमाण प्रयोग होस्। बम फ्याँक्दा किशोरले मनमा निस्सङ्ग भएर विश्वास गरेको थियो कि त्यसको यो कार्य अनिवार्य छ। उसलाई पुलिसले केर्दा या न्याय गोष्ठीमा सोध्दा उसले एकनाससँग भनेको थियो- मैले फ्याँकेको हो बम। तर हत्याका लागि होइन, चेतावनीका लागि कि, युवकलाई स्थिति असह्य हुन लागिरहेको छ। तर हत्या हुन गएको भए त्यो अनिवार्य थियो, जनताका अधिकारका लागि।

अन्तिम घडीमा एकएक गरेर सारा दृश्य उसका सामुन्ने आइरहेका थिए र सोच्दासोच्दै ऊ गुँडुल्किएर निदाएछ।

अनि कालकोठरीको फलामे ढोका उघि्रयो। सिक्री डन्डीमा रगडियो। उसले लेटीलेटी सोच्यो- लिन आए।

कस्तो अनुद्विग्न छ उसको मन! एकदम भावनाशून्य भएको छ उसको हृदय धोइएर, पुछिएर चोखो।

कमिस्नरको बोली सुनियो कोठामा- अब बाहिर आउनुपर्‍यो।

उठेर बस्यो ऊ। कोठामा तीनचार जना पसेका थिए। निलो पेन्ट र कोट लाएको डाक्टर, एउटा मिलिट्रीको सुबेदार र कुन्नि एकदुई जना अरु। किशोरले कोठामा एकचोटि दृष्टिपात गर्‍यो। कोठाको अँध्यारो बाहिरको एउटा बल्बको प्रकाशले हटाइरहेको थियो। ढोकाको डन्डीको छाया एउटा भुइँमा सोझो, अर्को भित्तामा च्याप्टो र बाङ्गिएको परिरहेको थियो। कुनामा एउटा सानो माटाको पानीको घैला थियो, जसको मुखलाई कचौराले छोपेको थियो र नजिकै धोएको थाल पनि भित्तामा ठड्याएर राखेको थियो। गिलास पनि घैलानिर नै थियो। राडीको बिछ्यौनामा एउटा खाँडीको चादर बिछेको थियो। एउटा तकिया र एउटा खाँडीकै बर्को र दोलाइँ पनि खाटमा थियो। तकियानिर तीन थान किताब थिए। किशोरले किताबहरुलाई मिलाएर तकियासँगै टाँसेर राख्यो। तल मोटो जातक कथाको पुस्तक, त्यसमाथि बाइबिल र सबभन्दा माथि भाषाटीका भएको गीता।

उसलाई लिन आउने अफिसरहरुले हडबडी गरिरहेका छैनन्। चुप्प लागेर उभिइरहेका थिए। किशोरले बिस्तारै किताब मिलायो र मनमा भन्यो- यी किताबहरुले के भने? जीवनमा तिनका उपदेशहरुको प्रयोग त सम्भव छैन र यो पनि जान्न सकिएन कि उसको त्यो कार्यका प्रति के भनाइ छ यिनीहरुको! र, अब अर्कै ठाउँमा गएर यिनमा सङ्केत गरिएका त्यहाँका बुँदाको भावार्थ बुझिएला।

अनि किशोर बिछ्यौनाबाट उठ्यो। उसले खाँडीको कुर्ता र धोती लगाएको थियो। काठको किलाबाट स्वेटर झिक्यो, त्यसलाई लगायो। जाडोले आङ काँपेको जस्तो भयो। कोट पनि काँटीबाट झिकेर लगायो। अनि फेरि एकचोटि कोठामा दृष्टि दिएर भन्यो- ल जाऊँ, म तयार भएँ।

बाहिर आएर उसले भन्यो- त्यो कोठाको सामानहरु कसैलाई दिनुहोला।

अनि अघिपछि मिलिट्रीहरुले घेरिएर त्यो हिँड्यो। अँध्यारो जाडोको राति। नबोलीकन त्यो सानो जुलुस जेलको दक्षिणपश्चिम कुनापट्टि लाग्यो। किशोरले चिसो हावालाई तान्दै लामो सास लियो। उसले जुत्ता लगाएको थिएन, पैतालामा सानासाना ढुङ्गा गडिरहेका थिए।

उसलाई हठात् लाग्यो- उसको मनमा कुनै किसिमको भावना छैन। केवल उसका आँखाले देखिएका दृश्यलाई अङ्कित मात्र गरिरहेछन्, कुनै रिकर्डरले मालहरुको सूचीमा टिक मारेको जस्तो।

शरीरले जाडो अनुभव गरिरहेको थियो र त्यसबाट उसले सम्झ्यो- यो माघको महिना हो। गोडाले कङ्कड गडेको अनुभव पनि गर्‍यो। बस्, त्यत्ति। फेरि उसलाई लाग्यो- कस्तो सबै जना चुप्प छन्, एकअर्कोसँग वास्ता नभएको जस्तो।

उसले सबैतिर हेर्‍यो। सबै एकनाससँग हिँडिरहेका थिए, ऊतिर नहेरेर। उसले त्यसै आफैंलाई सम्बोधन गरेको जस्तो भन्यो- किन कोही बोल्दैन?

किशोरले आफ्नै वाणीलाई अर्कोले बोलेको जस्तो गरेर सुन्यो। कमिस्नरको मसिनो बोली पो सुनियो- भनेको मानेनौ माफी माग भनेको …। के गर्नु आफ्नो ड्युटी गर्नैपर्ने भो …।

किशोर मुस्कुरायो, भन्यो- मलाई पनि लागिरहेछ म पनि ड्युटी गर्न गैरहेको छु।

किशोरलाई लाग्यो, उसले मुस्कुराएको कुनै ठूलो व्यङ्ग्यको बोधले होइन। उसलाई ठूल्ठूला कुरा कहाँ आइरहेका थिए र त्यस समयमा! त्यही क्षणका कुरामा मात्र उसको ध्यान थियो र उसको शरीरले पाउन थालेको अनुभव पनि त्यही क्षणसँग सम्बन्ध राख्थे।

फेरि त्यो जुलुस शान्त भएर हिँडिरह्यो। अनि अचानक किशोरले देख्यो, यात्राको अन्त्य आइसकेछ। जेलको बाहिरिया र पर्खालको कापनिर सानो मञ्चजस्तो दायाँबायाँ दुइटा लामा खामा खडा थिए। र, ती खामाका उपर तेर्सो गरेर एउटा अर्को खामो राखिएको थियो, जसबाट एउटा डोरी झुन्डिरहेको थियो। र, डोरीको झुन्डिएको सिरानपट्टि मुन्द्रीको आकार बन्न गएको थियो, जसमा एउटा गाँठोले अड्याएर राखेको जस्तो थियो। मञ्चमा एउटा अल्गो मोटो मानिस सुरूवाल र कालो स्वेटर मात्र लाएको उभिरहेको थियो। तल, पहिलेदेखि नै एउटा सानो डफ्फा सिपाहीहरुको पर्खिरहेको थियो।

मञ्चनिर पुगेर त्यो सानो जुलुस टप्प अड्यो। किशोरले मञ्चको दुई खुड्किलो सिँढीका सामुन्ने आफूलाई पायो। उसलाई लागेन, कसैले केही भने। तर प्रयासहीन त्यसका गोडा त्यसै त्यसमा उक्लिँदै चढे।

चारैतिर निष्पट्ट शान्ति थियो। टाढा कुनै दरबारको कुकुरको बाक्लो भुकाइले झन् त्यहाँको निस्तब्धतालाई घनीभूत पारिरहेको थियो। अन्धकार पनि आकाशमा निविष्ट केवल मञ्चनिर पर्खालमा लागेको बिजुलीको प्रकाशद्वारा बन्न गएको एउटा उज्यालो केन्द्र। किशोरले मञ्चमाथि चढेर तल हेर्‍यो। उसलाई लाग्यो, उसको मस्तिष्क एकदम स्पष्ट भएको छ, जसले त्यस क्षणका तमाम दृश्यलाई राम्ररी अङ्कित गर्दै गैरहेको छ – एउटा क्यामेराको मसिनजस्तो।

तल मञ्चमा अर्धवृत्त बनाएर अफिसर र मिलिट्रीका मानिसहरु उभिएका थिए। उसले एकएक गरेर सबैलाई हेर्‍यो। सबै नबोलेर मुन्टो तल निहुराएर उभिरहेका थिए- डाक्टर, कमिस्नर, सुबेदारप्रभृति। उसले डाक्टरको पहिरनलाई लक्ष्य गर्‍यो- गाढा निलो पेन्ट र हलुको कालो रङ्गको कोट उसले लाएको थियो। कमिस्नरको कोगटी टोपी तलको निधारमा दिनभरिको चन्दन र टीका जस्ताको तस्तै थियो। सुबेदारले लाएको ग्रेट कोट र काने टोपीको रङ्गमा भएको फरकपट्टि पनि किशोरको ध्यान गयो। उसलाई लाग्यो- कस्तो आश्चर्य कि अन्तिम बेलामा उसलाई यी सानासाना कुराहरुको मात्र ध्यान आइरहेको छ।

उसको गोडामा डोरीको छाँद हाल्न लाग्दा उसले यसो निहुरिएर हेर्‍यो। मञ्चमाथिको कालो स्वेटर लाउने मोटो अल्गो मानिसले स्वाँस्वाँ गर्दै झुकेर उसको दुवै गोडालाई जोरेर गोलीगाँठानिर बाँधिरहेको थियो। उसको गोडाले कस्सिएको गाँठोले किचेको पनि बोध गर्‍यो र पैतालाले खस्रो फल्याकको अनुभव। त्यसपछि घुँडानिर अर्को छाँद हालियो। त्यहाँ पनि डोरीले छालालाई किचेर दुखाए जस्तो किशोरलाई लाग्यो।

कदम शान्तिमा यी सब क्रिया भैरहेका थिए। केवल किशोरको मन र शरीर अत्यन्त चनाखो भएर यी सबै कुरालाई स्पष्ट किसिमले टिपिरहेका थिए। कालो स्वेटर लाउने मानिसले उसको टाँक फुकाल्न लाग्दा उसको मुखको गन्ध किशोरको घाँटीमा लाग्न गएको थियो। भावनाशून्य भएर किशोरले मनमनै भन्यो- यो के भएको? किन ममा केही भावना आउँदैन! मन र शरीरले अनुभव मात्रै गरिरहेको छ, तत्क्षणका अर्थहीन क्रियाहरुको!

कोट फुकालेपछि उसको हातलाई पनि पछिल्तिर लगेर बाँधिदिन थालेको उसले थाहा पायो। कोट नभएको शरीरले बाहिरको चिसोको अनुभव गर्‍यो। शरीरमा ठन्डाले एउटा हलुका सिहरन ल्यायो। उसले टाउको उठाएर आकाशतिर हेर्‍यो। आकाश गहिरो कालो र चिसो। तिनमा असङ्ख्य नक्षत्र असाधारण ज्योतिले टिलपिल गरिरहेका थिए। उसलाई लाग्यो- ती नक्षत्र ठूलाठूला हीराका टुक्रा हुन्। अनि झल्याँस्स राधालाई सम्झ्यो। आकाशजस्तै गहिरो, कालो स्निग्ध अनुहारलाई। उसको सुधो अनुहारका टल्किने दुई आँखालाई। उसलाई लाग्यो, ऊ देखिरहेको छ। उसले सम्झ्यो राधा आमा भएकी छ। छोरो कस्तो होला!

आकाशमा ठूलो चमकसँग उदाएको शुक्र तारालाई उसले एकछिनसम्म हेरिरह्यो। र, मनको कुनामा सधैंको अनुभवजस्तो गरेर उसलाई लाग्यो- अब अरूणोदय हुन्छ, अनि सूर्योदय।

त्यसैबखतमा पछिल्तिरबाट उसको टाउकोमाथि कालो खोल लगाइदिए। उसको घाँटी ठाडै उठेको थियो। तत्क्षण उसलाई लाग्यो, एउटा चिसो डोरी मालाजस्तो उसको तानिएको घाँटीमा पर्‍यो र यसलाई अनुभव गर्दागर्दै उसलाई लाग्यो- पैतालाको खस्रो फलेक सर्‍यो र कसैले बेहद शक्तिले उसको घाँटीलाई तान्यो।

त्यसपछि एउटा युवकको मृत शरीर बिहानपख आकाशमा हल्लियो। सबैले मुन्टो निहुराए।

सुबेदारले त्यहीँ जेलको अर्कोपट्टिको उनीहरुको अस्थायी शिविरमा आफ्ना मानिसलाई मार्च गराउँदै फर्काएर ल्यायो। त्यही कामका लागि डिटेल भएर उनीहरु आएका थिए। एउटा ठूलो हरियो पाल गाडेर हिजोदेखि उनीहरु जेलमा बस्न आएका थिए। सुबेदार, हवलदार र तीन जना सिपाही। कसैले एकशब्द बोलेनन्। आएर बिस्तारबिस्तार आफ्नो वर्दी फुकालेर आफ्नोआफ्नो बिछ्यौनामा सुते। जाडोको याम, मुख छोपेर सबैले रातभरिको थकानलाई निद्रामा मेटाउन चाहे।

सुबेदारलाई पटक्क निद्रा लागेन। आँखा टुलुटुलु हेरेर धेरैबेरसम्म बिछ्यौनामा सुतिरह्यो ऊ।

शरीर थाकेको त थियो, तर निद्रा भने पटक्क छैन। उसले देख्यो, अर्को खाटमा हवलदार पनि चटपटाइरहेको छ। उसले भन्यो- हवलदार, निद्रा लागेन?

हवलदारले भन्यो- मरे निद्रा आउँदैन।

सुबेदार उठेर बस्यो र भन्यो- सिगरेट झिक्न।

हवलदार पनि उठेर बस्यो र तकिया तलबाट सिगरेटको डब्बा झिक्दै भन्यो- आखिरी याममा मानिसको दृष्टि आकाशतिर हुँदोरहेछ।

सुबेदारले सिगरेट सल्काउँदै भन्यो- मेरो एउटा छोरो ठिक्क त्यस्तै छ। ठिक्क …!

हवलदारले सिगरेट तान्दै भन्यो- मेरो भाइ पनि गाउँमा ठीक त्यस्तै छ– चञ्चल, हँसिलो।

सुबेदारले भन्यो- होइन हवलदार, त्यसले यसो आकाशतिर हेरेर सबैलाई आशीर्वाद दिएको जस्तो तँलाई लागेन?

तबसम्म तीनैजना सिपाहीहरु पनि उठेर आफ्नाआफ्ना बिछ्यौनामा टुक्रुक्क बसिसकेका थिए।

एउटाले भन्यो- त्यस्तो अन्तिम घडीमा देउता चढ्छ मानिसलाई र त्यसले चिताएको कुरा पुग्छ।

सुबेदारले सिगरेटको लामो कस तानेर सिगरेटलाई पालबाट बाहिर फ्याँक्दै भन्यो- ल हेर, पूर्वतिर झकमक्क उज्यालो भैसकेछ।

उता, डाक्टर कमिस्नरको जिपमा आफ्नो घरमा फर्केर आयो। उसको शरीर लगलग काँपिरहेको थियो। लाग्यो, कस्तो जाडो आज राति। ऊ बिस्तारै आफ्नो कोठामा पस्यो। दुलही बिछ्यौनामा सुतिरहेकी थिई। उसले आफ्नो लुगा फुकाल्यो र बाथरूममा गएर हात धुन थाल्यो। धाराको शब्दले दुलहीको निद्रा टुट्यो। उसले भनी- यति अबेर के गरेको? कहाँ गएका थियौ?

डाक्टर सुत्ने कोठामा आएर बिछ्यौनामा पस्यो। दुलहीले सरेर उसलाई ठाउँ बनाइदी। उसको देहसँग टास्सिँदा उसले भनी- कस्तो चिसो शरीर तिम्रो!

डाक्टर नबोली धरिनतिर हेरेर बसिरह्यो।

दुलहीले भनी- किन नसुतेको?

र, एकछिनपछि डाक्टरको अनौठो व्यवहार देखेर फेरि भनी- के भो हँ, तिमीलाई? कहाँ गएका थियौ? भन भन, भन न।

डाक्टरले सुस्तरी भन्यो- नभन्नू है- मेरो मासु खाने, छोराहरुलाई। त्यही ठिटोलाई फाँसी दिलाउन जानुपरेको थियो! नभनेस् है, छोराहरुलाई।

दुलहीको मुखबाट केवल हाय! भन्ने शब्द निस्क्यो र उसले आफ्नो हत्केलाले मुख छोपी।

रात बितिसकेको थियो। झ्यालको कापबाट पूर्वपट्टिको आकाश उज्यालो भयो।

कमिस्नर डाक्टरलाई पुर्‍याएर सोझै दरबार गए। ढोकामा सिपाहीहरु ठूलो धुनी बालेर बात मारिरहेका थिए। कर्णेललाई उनले सबै वृत्तान्त भनेर उनी घर आए। आउनेबित्तिकै सोझै पूजाकोठामा गए। ढोकैबाट पूजा गर्ने गरेको मूर्तिलाई हेरे। पूजाकोठाको बत्ती बलिरहेको थियो र उनको गोडाको चाल पाएर अक्षता टिपिरहेको एउटा मुसा दगुर्दै कोठैको एउटा प्वालमा पस्यो। त्यसै उनी मग्न भएर एकछिन हात जोडेर उभिरहे।

अनि आफ्नो छोराको कोठामा गए। कलेजमा पढ्थ्यो, त्यो छोरो। कोठामा किताबहरु यत्रतत्र छरिएका थिए। टेबुलमा बत्ती बलेकै थियो। भित्तामा तस्बिरहरु थिए- एकदुई सिनेमाका नायिकाहरुका र ९७ सालका सहिदहरुका पनि। ऊ उत्तानो परेर सुतेको थियो। कमिस्नरले धेरैबेरसम्म उसको मुख हेरिरहे। अनि बिस्तारै गएर उसलाई छोए। उसले चटपटाएर कोल्टे फेर्‍यो। कमिस्नरले ओढ्ने उसमाथि राम्ररी ओढाइदिए र बाहिर आए। सुत्ने कोठामा उनकी दुलही बेखबर सुतिरहेकी थिइन्। तर उनलाई सुत्ने कहाँ टाइम थियो र! बिहान भैसकेको थियो। सधैंको जस्तो बागमती र पशुपति जाने बखत भैसकेको थियो।


सुन्दरीजल बन्दीगृह
६ र ७ फेब्रुअरी, १९६४


विशेश्वर प्रसाद काेइरालाकाे श्वेतभैरवी कथासंग्रहबाट साभार