को बन्ला विद्युत प्राधिकरणको कार्यकारी निर्देशक ? के दोहोर्‍याउलान् कुलमानलाई ?


लेखापढी      २४ भाद्र २०७७, बुधबार ०८:५४

को बन्ला विद्युत प्राधिकरणको कार्यकारी निर्देशक ? के दोहोर्‍याउलान् कुलमानलाई ?

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यावधि यही भदौ २९ गते सकिँदै छ ।

प्राधिकरणको कार्यकारी निर्देशक बन्ने दौडधुपमा एक दर्जन चर्चित नयाँ तथा  पुराना अनुहार राजनीतिक लविङमा लागेका छन् । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने बताइएको    छ । 

उच्चस्तरमा कसलाई बनाउँदा के फाइदा र कति घाटाका सवालहरू उठन थालेका छन् । उक्त पद घिसिङले नै पाउँछन् अन्य कसैले हात लगाउँछ भनेर माथिल्लो तहमा चासो र चर्चाको विषय पनि बनेको छ । सत्ता र पैसाको जोड घटाउ शुरु भएको छ । 

यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने गरी मन्त्रालयले प्रस्ताव लैजाने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। तर, ऊर्जा सचिव दिनेश घिमिरेले भने प्राधिकरणको कार्यकारी निर्देशकको प्रस्तावको सम्बन्धमा अहिलेसम्म मन्त्रालयले कुनै तयारी नगरेको स्पष्ट पारेका छन्।

 प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं उपकार्यकारी निर्देशक हरराज न्यौपाने बहालवाला कर्मचारीबाट बलियो दाबेदार हुन्। प्राधिकरणका पूर्व कर्मचारी शान्तिलक्ष्मी शाक्य पनि कार्यकारी निर्देशकको दौडमा रहेको हल्ला छ। प्रसारणलाइन विज्ञ हितेन्द्र शाक्य, तत्कालीन विद्युतीय महसुल निर्धारण आयोगका अध्यक्ष डा. जगतकुमार भुसालको नाममा पनि दाबेदारी नसुनिएको होइन। पछिल्लो समय प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले कुलमानको विरुद्घमा देखिएकाले उनी पनि त्यसका दाबेदार हुन् भन्ने बजारमा हल्ला छ।

नियुक्ति व्यवस्था

नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा १७ ले प्राधिकरणको कार्य सञ्चालनको निमित्त मुख्य प्रशासकीय अधिकृतको रूपमा समितिले एक जना महाप्रबन्धक र आवश्यकता अनुसार सल्लाहकार र कर्मचारी नियुक्ति गर्न सक्ने व्यवस्था छ। तर, साधारण सभाको व्यवस्था नभएसम्म त्यस्तो मुख्य प्रशासकीय अधिकृतको रूपमा नेपाल सरकारले एक जना कार्यकारी निर्देशक नियुक्ति गर्नेछ। सोही बमोजिम ऊर्जा मन्त्रालयले नेपाल सरकार मन्त्रिपरिाषद्को बैठकमा प्रस्ताव गर्नेछ र मन्त्रिपरिषद्ले नियुक्ति दिने प्रावधान छ।