बैतडीमा १७ वर्षिय किशोरी बलात्कारका तीन जना आरोपित पक्राउ


लेखापढी      २४ भाद्र २०७७, बुधबार ०८:११

बैतडीमा १७ वर्षिय किशोरी बलात्कारका तीन जना आरोपित पक्राउ

बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । 

किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ।

बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ। ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटकपटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। “हामीले घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौँ । पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौँ। यो घटनामा संलग्न भएका कसैलाई पनि छाडिँदैन।”

किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको हो। यो घटना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन्।