उपत्यकामा निषेधाज्ञाबारे तीन वटै जिल्लाका अधिकारीहरुबीच भर्चुअल संवाद हुँदै


लेखापढी      २३ भाद्र २०७७, मंगलवार १४:३०

उपत्यकामा निषेधाज्ञाबारे तीन वटै जिल्लाका अधिकारीहरुबीच भर्चुअल संवाद हुँदै

काठमाडौं । उपत्यकामा चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालेको छ । मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद हुँदैछ ।

कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने बताए ।

गृह मन्त्रालयले पनि निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न भनेको छ । मंगलबारको संवादपछि निस्किने निष्कर्षबारे गृहसचिव महेश्वर न्यौपानेलगायतसँग छलफल गरेर उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुने स्रोतको भनाइ छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनलाइनखबरसँग भने, ‘हामी छलफलमा छौं, बुधबार मात्र निषेधाज्ञाबारे निर्णय हुनेछ ।’ एजेन्सी