काेराेनाबाट दैनिक संक्रमित हुनेकाे संख्या घटेन, लगातार पाँचौँ दिन हजारभन्दा बढी सङ्क्रमित


लेखापढी      २० भाद्र २०७७, शनिबार १७:२१

काेराेनाबाट दैनिक संक्रमित हुनेकाे संख्या घटेन,  लगातार पाँचौँ दिन हजारभन्दा बढी सङ्क्रमित

काठमाडाैं । विगत २४ घण्टामा शनिबार देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी भएको यो लगातार पाँचौँ दिन हो भने विगत १० दिनमा सातौँ पटक हो।

जसमध्ये काठमाडौं उपत्यकामा मात्र ४०८ जना छन् ।

यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

थप ९ जनाको मृत्यु

अहिलेसम्म काेराेना भाइरसकाे संक्रमणबाट २८० जनाको मृत्यु भएको छ। मृतकहरूमध्ये तीनजना काठमाण्डू जिल्लाका रहेका छन्। ती सबै पुरुष र ४१ देखि ६५ वर्षका रहेका छन्। अन्य मृतकहरूमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासी पूर्वकी ३५ वर्षीया महिला हुन्। त्यस्तै पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रूपन्देहीका ४० वर्षीय पुरुषको पनि सोही अवधिमा मृत्यु भएको मन्त्रालयले जनाएको छ। एजेन्सी