भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन


लेखापढी      १५ भाद्र २०७७, सोमबार १८:५१

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौँ-  भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । उनले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् 

पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो। उनको फोक्सोमा संक्रमण भएको थियो।

अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो ।

कांग्रेसका दिग्गज नेता मानिने मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए। उनी राष्ट्रपति भएपछि र त्यसअघि अर्थमन्त्री हुँदा नेपाल आएका थिए। 

मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सन् २०१६ को नोभेम्बर २ देखि ४ सम्म नेपाल भ्रमण गरेका थिए। उक्त भ्रमण भारतबाट राष्ट्रपति स्तरमा १८ वर्षपछि भएको भ्रमण थियो।

त्यसअघि सन् १९९८ मा के आर नारायणनले नेपाल भ्रमण गरेका थिए भने उनीपछिका भारतीय राष्ट्रपति नेपाल आएका छैनन्।