नेपालले भारतलाई एक वर्षमा झण्डै एक अर्बको विजुली बेच्यो


लेखापढी      १४ भाद्र २०७७, आईतवार १३:२२

नेपालले भारतलाई एक वर्षमा झण्डै एक अर्बको  विजुली बेच्यो

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७६/७७ मा झण्डै एक अर्ब रुपैयाँको विजुली भारत निर्यात गरेको छ ।

आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपाल  विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो । यसले देश विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको संकेत गरेको प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ४१ करोड ३० लाख रुपैयाँको विद्युत निर्यात गरेको प्राधिकरणले त्यसलाई बढाएर ९५ करोड ७० लाख रुपैयाँ पुर्‍याएको हो ।

नेपालले कुशहवा–कटैया, परवानीपुर–रक्सौल, ढल्केबर–मुजफ्फरपुर र रामनगरबाट भारत विद्युत निर्यात गरिएको हो ।

यता भारतबाट आयात हुने विद्युतको अंश घट्दै गएको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ । गत आवमा प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ ।

साभार: अनलाइन खबर