पाथी (कथा)


लेखापढी      १३ भाद्र २०७७, शनिबार १३:२१

पाथी (कथा)
छिमेकी चौहानको घरमा छोराको बिहे आएको गाइँगुइँ चल्यो । छिमेकीको घरमा बिहे, त्यो पनि घरै नजिकैको…..
 
‘निम्तो आउँछ होला बुढी, छिमेकीको नाताले सघाउपगाउ पनि गर्नुपर्ला, जन्त–भोज जानै पर्ला…. जन्त जानलाई मेरो लुगाफाटा ठिक परिराख है…… ’ यस्तै के-के धेरै कुरा भन्नु भएको थियो बाले आमासँग ।
 
सबै छिमेकमा निम्तो आयो यतिसम्म कि हाम्रै काका बडाबाको घरमा पनि निम्तो पुग्यो तर हामी कहाँ आएन । बा-आमा अचम्ममा पर्नु भयो । बिहे घरको र हाम्रो कुनै मनमुटाब, रिसराग झैं झगडा पनि थिएन….
 
‘मेरा दाजुभाइमा निम्ता गयो मलाई त कसरी छुटाएछन….’ बा भन्दै हुनुहुन्थ्यो
 
बिहेको चटारो कति थोक जुटाउनु पर्छ बिर्से होलान नि….” आमाको सहज जवाफ आयो तापनि बाको मनमा निम्ता नपाएकोमा चसक्क बिजेको थियो ।
 
बिहेको दिन पनि आयो । बडाबा, काका काकाको छोरा (मेरो भाइ) सबै दंग परेर जन्त जान तयार हुँदा मेरो मन पनि चस्स बिज्यो ।
हामीलाई पनि निम्ता दिएको भए म पनि बासँग जन्त जान पाउँथे है आमा…..” मैले पनि आमा सँग दुखेसो पोखे ।
 
“नकारा… स्कुल जान छाडेर जान्थिस होला जन्त ..” झर्केर आमाले जवाफ दिनु भयो सायद निम्ता नआएको तिक्तता म माथि पोख्दै हुनुहुन्थ्यो । पुलुक्क आमाको अनुहार हेरें मलिन थियो । सायद आमाको पनि बिहे घरमा रत्यौली खेल्ने रहरमा तुषारापात भएर होला …. केहि बोलिन किताब कपी बोकेर भारी मनले स्कुल तिर लागें ।
 
बेलुका स्कुलबाट फर्केर आउँदासम्म जन्ती फर्केको थिएन । बा आमा बारीतिर काममा हुनुहुन्थ्यो । म पिँडीमा बसेर खाजा खान थाले । त्यहीबेला बेहुलाकी आमा हाम्रो आगनमा टुप्लुक्क झुल्किन् । तीनलाई अनुहार देख्ने बित्तिकै किन हो किन म भित्र भित्रै मुर्मुरिन  थालें ।
 
“आमा खै बाबु….. ? न्याउरो अनुहार लगाएर सोधिन् । अब किन चाहियो मेरी आमा भनुँ कि जस्तो लागेको थियो तर मुखसम्म आएर पनि भन्न सकिन । 
 
“उता बारीमा….” छोटो जवाफ दिएँ ।
 
उनी फटाफट बारी तिर लागिन । मलाई पनि उनी किन आईन् भनेर कौतुहल लाग्यो र उनको पछि पछि लागें । उनलाई देखेर बा आमाको मुहारमा परिवर्तित भाव देखियो ।
 
“हेर्नुस न तँपाईहरूलाई निम्ता नै पुगेन छ है…. साह्रै चटारो थियो …. कान्छालाई सबै निम्ताको जिम्मा दिएको थिएँ के गर्यो के…. उनले आफ्नो गल्तीको ढाकछोप गर्न खोज्दै थिईन । बा आमाको मुहारमा केही परिवर्तन आएन ।
 
“भरे माना पाथीको काममा पाथी चाहिएको थियो…. ओल्लोघर पल्लो घरमा खोजिनीति गरेको तर कतै पाइएन । तँपाईहरूकोमा छ भन्ने थाहा पाएर आको….. छ होला त …?”
 
आमाले केही बोल्नु भएन छ भन्ने भावमा टाउको हल्लाउनु भयो । बा बारीतिरै बस्नु भयो… आमाले सरासर कोठा भित्र गएर पाथी ल्याएर दिनुभयो ।
 
“भोलि बिहानै म फर्काइदिई हाल्छु ….” पाथी हातमा लिदैं उनले भनिन् । मलाई र बालाई पाथी दिएको रत्तीभर मन परेको थिएन ।
भोलि नै फर्काउछु भनेर लगेको पाथी दुई दिन सम्म पनि फर्केन । पुर्ख्यौली चिनो निकै वजनदार तामाको पाथी…. हिजोआज बजारमा त्यस्तो पाथी पाउन गाह्रो … आमाको बेचैनी बढ्न थाल्यो ।
 
“जान्ने भएर दिएको थिईस नि…..” भन्दै बा झन आमालाई थप्दै हुनुहुन्थ्यो । 
“तँ आफै जा त बाबु …. पाथी लिएर आइज ।” 
“आ… म त जान्न…. आज तिनीहरूको जन्ते बाख्रो खुवाउने दिन …..फेरि बिना निम्ता खान आयो भन्लान…”
“जा न जा हेर त्यो तेरो जिजुबाको पालाको पाथी हो… हरायो भने तेरो बाले मलाई बसी टिक्न दिनुहुन्न….” 
बाको रिस मलाई थाहा थियो… आमा माथि रिस पोख्नुहुन्छ भनेर मन नलागि नलागि म चौहानको घर तिर लागें ।
निकै तडकभडक र रमजम थियो । त्रिपालले आगन बारेको… रङरोघन ध्वजापतकाले चिटिक्क परेको घर….. घरको बारीको पाटोमा दुई चुल्हो माथि खड्कुलोमा पाकवान पाकिरहेको…. तर मलाई यी सबैसँग कुनै सरोकार थिएन । म चाँडो भन्दा चाँडो त्यहाँबाट पाथी लिएर फुत्किन चाहन्थे ।
चौहान आमैलाई आँगनमै भेट भयो उनी उनका आफन्तसँग गफ्फिदै थिईन्
“म पाथी लिन आको….” उनले केही बोल्नु अघि मैले भने ।
“पाथी … पाथी त मैले हिजो नै पठाइदिसके त ….. पाएको छैन र…..”
“कसलाई दिएर पठाउनु भयो घरमा त पाथी पुगेकै छैन…..” आश्चर्य मान्दै मैले सोधें ।
उनले जवाफ दिनु भन्दा पहिला माथि बरण्डाबाट उनको नन्दले पाथी हातमा लिदैं भनिन् “भाउजु यो पाथीको धान कता खन्याउनु ….?”
उनी कालो निलो भईन्
“ए त्यो…” उनी अकमकिन थालिन् “त्यतै कुनै भाँडोमा खन्याएर यहाँ ल्याइदिनु मैया…बाबु पाथी लिन आका छन….
चौहान बा पनि टुप्लुक्क आइपुगे र भने “ए बाबु …. भोज खाएर जानु है….”
“ निम्तै नदिएको ठाउँमा लाजै पचाएर खाना जाने चलन हाम्रो घरमा छैन र नैतिकताले पनि दिदैन…..” मेरो ठाडो जवाफले चौहान बुढाबुढी दुबैको अनुहार निचोरिएको कागती जस्तो भएको थियो…… भने मेरो मुहारमा हल्का बिजयी मुस्कान छाएको थियो । पाथी लिएर घर फर्कदा मन निकै हल्का भएको थियो ….. तर उनीहरुले हामीलाई निम्ता नदिनको कारण आज सम्म थाहा पाउन सकेको छैन ।

मनिस कुमार शर्मा  (समित)
ठिमी, भक्तपुर


तपईहरुका रचना, सिर्जना, अनुभव र विचार हामीलाई लेखि पठाउने ठेगाना  : lekhapadhee@gmail.com