धन्यवाद कुलमान ! आभार कुलमान !! (कविता)


लेखापढी      ११ भाद्र २०७७, बिहीबार २२:०९

धन्यवाद कुलमान ! आभार कुलमान !! (कविता)

स्वीच अन गर्दा
बत्ती बल्छ भन्ने कुरा बिर्सिसकेका थियौं !

अध्यारो कौशीमा उभिएर
सधै घण्टाैं नियाल्थे अध्यारो राजधानी चूपचाप
र हाल्थे सुस्केरा
मनले सोध्थ्यो
हामी कुन युगमा छौ ?
जुन देशको राजधानी दैनिक डुब्छ
अध्यारोमा अठार घण्टा

हाम्रो लागि विकासको परिभाषा के होला ?

बीस बाइ बीसको कक्षा कोठामाथी
छतको  सिलिङ्ग बीचोबीच, 
पंखाको लागि राखिएको हुकमा
अर्को लामो हुक अडकाएर झुन्ड्याउने गर्थे

एउटा इमर्जेसी लाइट !!
जसको धूमिल प्रकाशमा दैनिक चारघण्टा
पढथे, लेख्थे बच्चाहरु 
र गरिरहन्थे भोलिपल्ट टाउको दुख्नुको गुनासो
उनीहरुकै छेउमा अक्षरहरु देख्न
बाल्नु पर्थ्यो थप दुइवटा मैनवत्ती !
र पनि दुखिरहन्थे आँखाका नानीहरु
फतक्क गल्थे र टलपलाउॅथे !

बिग्रे भनेर फालिएका इन्भर्टरको पनि चाङ ,
थाहै भएन बत्ती हुँदो हो न चार्ज हुँदा हुन ती !

एस.एल.सी ताका
असाध्य थकानपूर्ण हुने गर्थ्यो हाम्रो दैनिकी
मन गुहारी रहन्थ्यो कमसे कम एक महिना नभए
एक हप्ता त बत्ती ननिभाइ देऊ सरकार !
समय सापेक्ष आवाजहरु उठिरहेका हुन्थे
सम्पादक मार्फत चिट्ठीहरु लेखिरहेका हुन्थे !
टुकी बत्तीको उज्यालोमा पढिरहेका
बाल बलिकाका तस्वीरहरु
पत्रिकाले छापिरहेको हुन्थ्यो
मुलुकभरिका आमा बाबा
अलिकति उज्यालोको निरन्तरताको लागि
गुहार मागिरहेका हुन्थे !!
तर सरकार त बहिरो थियो
चेतना र सम्वेदनहीन थियो
सुन्ने कसले ?

सूचनाहरु आइरहन्थे
हरेक आउने सूचनाले
अध्यारोको सीमा बढाइ रहन्थ्यो
अब अध्यारो हामीलाई हाम्रो नियति हो झै लाग्न थालेको थियो !
सरकार भन्थ्यो  ‘पानी परेन यसैले बिधुत उत्पादन घटेको छ’
हामीले पत्यायौ !
सरकार भन्थ्याे ‘बिधुत गृह मर्मत हुन सकेन यसैले उत्पादन घटेको छ’
हामीले पत्यायौ !!

सरकार भन्थ्यो ‘नयाँ योजनाहरु कार्यान्वयन हुन सकेन र उत्पादन घटेको छ’ 
हामीले पत्यायाै !!!

अनि एक साँझ
सारा झुठहरुलाइ हुत्याउँदै बालेको बत्ती बलिरह्यो ।
मैले उज्यालो कौशीमा उभिए,
उज्यालो राजधानीलाइ हेरिरहे

घण्टौ चूपचाच !
अनि समाचार आयो
आयो हामी अध्यारोमा बस्नु परेका कारणहरु !!
अनि पो ,
हिजोका दुःखहरु स्तब्धतामा बदलिए !
एउटा मान्छेको अधिकार दुरुपयोगले
ल्याएको अन्धकार !!
अनि…
एउटै मान्छेको अठोट र इमानले ल्याएकाे यो उज्वल प्रकाश
आँखामात्र होइन  अन्तर्मन नै  तिर्मिरायो !

स्वभाविक हो अध्याराका व्यापारीहरु छटपटाउनु !
मान्छेका इमान विरुद्ध आरोप लगाउनु
तर..
सत्यलाइ किन थियो र डगमगाउनु !!
डगेन, टसमस भएन
बरु डुब्दै गएको प्राधिकरणलाइ बिस्तारै बिस्तारै उठायो !!!

अब हेर्नु छ,
उज्यालोका यी नायकको बिदाइ पछि
यो सम्वेदनहीन सरकार पहिलाकै अवस्थामा फर्कन्छ 
वा लाज बचाउँछ !
अनि हामी कागजका बाघ बनेर
गर्जिरहन्छाैं वा
विगतका ती अध्याराका व्यापारीहरुलाई
घिसारेर सडकमा पछार्छौ ?

जे भएपनि
तिमीलाई   हार्दिक धन्यवाद कुलमान !
तिमीप्रति  हार्दिक आभार कुलमान !!
तिमीलाइ हार्दिक स्वागत !!


गोबिन्द सिंह ठकुरी 
दैलेख, कट्टी  
हाल – टेक्सास , अमेरिका