काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा एक साता


लेखापढी      १० भाद्र २०७७, बुधबार १२:४५

काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा एक साता

काठमाडौं – काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १७ भदौ मध्यरात १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च बनेपछि उपत्यकामा ३ भदौ मध्यरातदेखि लागू गरिएको निषेधाज्ञा आज मध्यरात १२ बजे सकिंदै थियो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अबको १ साता निषेधाज्ञा लम्ब्याइएको जानकारी दिए। हाल गरिएको निषेधाज्ञाले कोरोनाका संक्रमितहरुलाई आइसोलेट गर्ने काम गरेको र अबको एक सातासम्म कन्ट्याक्ट ट्रेसिङ गरीने उनले जानकारी दिए।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।