जरो नभुल्नुस्, संस्कृति नभुल्नुस्, परम्परा नभुल्नुस्, भाषा नभुल्नुस्, साहित्य मामम्हेम्हे : जे. एन. यु. प्राध्यापक डा. महेन्द्र पी. लामा


लेखापढी      ८ भाद्र २०७७, सोमबार ०४:०९

जरो नभुल्नुस्, संस्कृति नभुल्नुस्, परम्परा नभुल्नुस्, भाषा नभुल्नुस्, साहित्य मामम्हेम्हे : जे. एन. यु. प्राध्यापक डा. महेन्द्र पी. लामा

“पाँचौ तामाङ पहिचान दिवसको पहिलो दिन डा. महेन्द्र पी. लामाले दिएको मन्तव्यको बिशेष अंश”:

म भारतीय गोर्खा अनि तामाङ। मैले भारतमा बसेर के देखे? आफैले अनुभव गरेको कुरा खोल्दैछु। भारतमा बस्ने गोर्खाहरु र तामाङ सन्तानमा अनि नेपालमा बस्ने नेपाली र तामाङ सन्तानमा ऐतिहासिक राजनीतिक र सांस्कृतिक कारणले धेरै फरक रहेछ।

तपाईँहरु एउटा राष्ट्रमा बस्नुहुन्छ। तामाङ, राई, लिम्बु, कामी, दमाई, सार्की, बाहुन क्षेत्री सबैमा होडबाजी हुने रहेछ। विभिन्न गोष्ठीमा चिनारी र पहिचानको कुरा हुने रहेछ। यता हामी भारतमा पहिले भारतीय हौं। त्यसपछि हामी गोर्खा हौं। त्यसपछि तामाङ, लिम्बु, राई, क्षेत्री, बाहुन हुन्छौं। हाम्रो देशमा तीनस्तरीय अस्तित्व र पहिचान हुन्छ। यो सबै भारतीयको लागि हो।

नेपालमा जस्तै नेपालीभित्र नै होडबाजी नभएर सग्लो गोर्खा जाति र अर्को भारतीय जातजातिसँग होडबाजी गर्नुपर्दो रहेछ यहाँ। राष्ट्र ठूलो भएकाले गोर्खा र अन्य जातिहरुसँग प्रतिस्पर्धा हुने रहेछ। यस्तो होडबाजी गर्न एक हुनु पर्दोरहेछ। खाली तामाङ भएर होडबाजी गर्छु, बाहुन भएर गर्छु भनेर नसकिँदो रहेछ। कारण संविधान।

हाम्रा लागि सबैभन्दा ठूलो हतियार चाहिँ प्रजातन्त्र नै हो। अनि शिक्षाको क्षेत्रमा होडबाजी गर्नुपर्दो रहेछ।

कतिपय त १० पिंढी पढिसकेका। हाम्रो गोर्खा त दोस्रो पिंढी बल्ल शिक्षित भएका छन्। हामी दुई पिंढीमा शिक्षित, बंगालीहरु १२ पिंढी शिक्षित। उनीहरुसँग होडबाजी गर्नुपर्‍यो। एकत्रित, पूरा तागत र आत्मअभिमान लगाएर प्रतिस्पर्धा गर्नुपर्ने रहेछ।

हाम्रो होडबाजी गर्ने संस्था पर्लियामेन्ट, युनिभर्सिटीदेखि लिएर सबै क्षेत्रमा हुन्छ। हामी छुट्टै राज्यको लागि लड्दैछौं। हामीले नेपाली भाषाको लागि लडाई लड्यौं। अहिले प्राप्त भएको छ। भारतीय रुपैयाँमा नेपाली भाषामा पनि लेखिएको छ। एकत्रित भएर लड्दा नतिजा राम्रो हुन्छ।

नेपालमा जस्तै बाहुन क्षेत्री अगाडि होला? अरु पछाडि होलान् भन्ने लाग्न सक्छ। तर, भारतमा त्यस्तो छैन। सबै एकैत्रित भएर आएको छ। नेपालमा जस्तो दलितलाई हुने व्यवहार यहाँ छैन। गोर्खाहरुमाथि त्यस्तो अपमान छैन, भएमा हामी डटेर लाग्छौं।

संवैधानिक संस्था खडा हुँदा गोर्खाहरु परे। अरिबहादुर गुरुङ, डम्बरसिंह गुरुङहरु परे। भोटेमा नेदेनला साबहरु निकै माथि पुगेर पूरा सेवा दिएर जानुभयो। रुपनारायण सिंहहरु पनि।

राजनीतिको क्षेत्रमा छेदर मानेनदेखि लिएर मायादेवी क्षेत्री र रतनलाल ब्राह्मणसम्म माथि पुग्नुभयो।

मानेन १९६० को दशकमा भारतीय राष्ट्रिय काँग्रेसको पण्डित नेहरुको दाहिने हात मानिनुहुन्थ्यो। उहाँ मुल मन्त्री हुनुहुन्थ्यो, दलित हुनुहुन्थ्यो, गोर्खा हुनुहुन्थ्यो।

तामाङमा पनि त्यस्तै मोक्तान चाउ बंगाल सरकारको आइजीपी भएर रिटाएर हुनुभयो। अर्जुन स्याङ्दन बंगालको प्रिन्सिपल चिफ फरेस्ट हुनुभयो।

५५ वर्षको कुरा, म स्कुले विद्यार्थी थिएँ। मेरा पिता बंगाल सरकारको उच्च पदमा हुनुहुन्थ्यो। भारतका राष्ट्रपतिले स्पेसल अवार्ड दिनुभयो। धेरै काम गरेर उहाँ बित्नुभयो। १९६५ तिर राजा महेन्द्रको जन्मदिवसमा ‘भारतबाट गोर्खाको सांस्कृतिक टोली चाहियो पठाउनु’ भन्नु भयो। सूर्यबहादुर थापा प्रधानमन्त्री हुनु हुन्थ्यो। बुबालाई भारत सरकारले भनेछ – ‘लौ तपाईँले भारतीय गोर्खाको टोली लिगेर जानुपर्छ।’

यही टोलीमा पहिलोपटक अम्बर गुरुङ जानुभयो। अम्बर गुरुङसँग राजा र थापासँग भेट भयो। फर्किँदा राजा महेन्द्रले ३ वटा कुरा भन्नुभयो बुबालाई।

पहिलो – त्यहाँ पर चार सन्दुक किताब राखेको छु। भारतमा रहेका जम्मै साहित्य संस्थालाई बाँडिदिनु।

दोस्रो – जति पनि भारतमा रहेका नेपालीलाई दु:ख पाएको खण्डमा नेपालमा पठाइदिनुस्, हामी मधेशमा जग्गा दिन्छौं। काम दिन्छौं।

तेस्रो – संस्कृतिको क्षेत्रमा काम गर्नुहुन्छ। यसलाई अगाडि बढाउनुस्।

अम्बर गुरुङले राष्ट्रिय धुन दिनुभयो। रवीन्द्रनाथ टैगोरले बंगलादेशको राष्ट्रिय गीत दिनुभयो। उहाँहरु दुईवटा यस्ता व्यक्ति हुनुहुन्छ जसले अरु देशको राष्ट्रिय गानमा काम गर्ने मौका पाउनु भयो।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले हुनुभयो। उहाँ तामाङ नै हो। भारतका गोर्खाहरुको पनि नेपालमा राम्रो काम गर्नुभएको छ। लैनसिंह वाङदेल, पारिजात, निर्मल लामा, अनुराधा कोइराला, गोपाल योञ्जन चर्चित नै हुनुहुन्छ। रणवीर सुब्बा विदेशमन्त्री हुनुभयो। उहाँहरुले एकदमै योगदान दिनुभयो। सन्तवीर लामाले पनि राम्रो गर्नुभयो।

शिक्षाको खेती गर्नुपर्छ

नेपालका जति पनि जनजाति छन् उहाँहरुले सिक्नैपर्ने पाठ शिक्षाको खेती हो। ज्ञानको खेती। शिक्षा भन्ने कुरा ठूलो रहेछ।

शिक्षा पाएर मेरो आपाले राष्ट्रियस्तरमा काम गर्न पाएको हो। गाउँमै बसेको, गेडै खाएको, सिस्नु नै खाएको, गुन्द्रुकै खाएको, सुँगुरको कान पुच्छर पोलेर खाएको, स्कुसको जरो खाएको। केका ल्यापटप, केका सेल्फोन? केही थिएन।

ठन्डा महिना भएपछि खुट्टामा चिसो भए पनि जंगलमा जानुपर्थ्यो। गाउँबाट आए पनि हामी किन ठाउँमा पुग्यौं भने? केले गर्दा यहाँ पुग्यौ? एउटै कुरा – आफूमाथि विश्वास र शिक्षा।

शिक्षाले तपाईँको चिनारी, अस्तित्व, अर्थिक अवस्था, राजनीतिक अवस्था, सोच्ने धारणा, देश विदेशमा काम गर्ने होडबाजी सबै सम्हाल्ने रहेछ।

यो डिग्रीमात्र होइन। विश्वविद्यालयमा पुगेर पीएचडीको धाक लगाउनुमात्र शिक्षा होइन। क्लासको डिग्री त एक प्रतिशत पनि होइन ज्ञानको।

मेरो पीएचडी डिग्री त एक प्रतिशत पनि होइन। ९९ प्रतिशत ज्ञान त श्रेणीदेखि बाहिर पाउने रहेछ – स्कुसको घारीमा पनि ज्ञान, उखु टिप्दा पनि ज्ञान, विदेश घुम्दा पनि ज्ञान, खोलामा पौडी खेल्दा पनि ज्ञान, मह काढ्दा पनि ज्ञान। चारैतिरबाट ज्ञान हुनेरहेछ।

अलिकति पहिले नेपालमा पनि ज्ञान बाँडिदिँदा ज्ञान लिएछन्। अनि बाहुन क्षेत्री अलि माथि पुगेछन्। भारतमा पनि त्यही हो। कसैले गीता पढेर ज्ञान लिएछन्। कोही रामायण पढेर। कोही बाइबल पढेर माथि पुगेछन्।

पछि बुझ्दा त ती सबै सामान्य ज्ञान रहेछन्। ज्ञान त सबै क्षेत्रमा निकाल्नुपर्‍यो। रणनीतिदेखि कुटनीति सबैमा ज्ञान निकाल्नुपर्‍यो।

नेपालमा ज्ञानको क्षेत्रमा अमृत योञ्जन, कुटनीतिको क्षेत्रमा गणेश योञ्जन, विद्युतको क्षेत्रमा कुलमान घिसिङ हुनुहुन्छ। ज्ञान प्राप्त भएपछि आध्यारो नेपालमा उज्यालो ल्याइदिनुभयो घिसिङले।

म्हेम्हेको म्लागन पोरपोर कम्पनी

हामी सबैमा ज्ञान भरिभराउ छ। अब ज्ञानको व्यापार गर्नुपर्छ। माइक्रोसफ्टदेखि घरमा भएको मोबाइलसम्म ज्ञानको व्यापार रहेछ। हाम्रो ज्ञानलाई व्यापार गर्नुपर्छ।

व्यापार गर्ने सन्दर्भा हाम्रो म्हेम्हेको याद आउँछ। म्हेम्मेहले मामलाई दबाइ बनाउनु लगाउनुहुन्थ्यो

मामले सनासोले डेक्ची समातेर फूल हो कि के ओखती उमालेर स्वाट्टै पार भन्नुहुन्थ्यो। स्वाट्दै पारेपछि ज्वरो ठीक हुन्थ्यो।

सानोमा यो दबाई के दिनुभएको भनेर मैले कलेज जान थालेपछि सोधेँ। ‘लेख त बाबु’ – म्हेम्हेले भन्नुभयो।

‘सेतो धमाल भन्छ नेपालीमा। तामाङमा म्लागन पोरपोर’

कहाँबाट ल्याउनुहुन्छ त?

‘तेरो सेते आगु आउँदा पहाडबाट ल्याउनुहुन्छ’ – हजुरबाले भन्नुभयो। वैशाखमा १५ दिनमात्र हुने रहेछ त्यो। पहाडबाट ल्याउनुपर्छ भनिन्थ्यो।

म्लागन पोरपोरको इन्लेक्चुअल प्रोपर्टी लिनुभएको भए अथवा त्यसको लाइसेन्स पाएको भए मेरो म्हेम्हेले कोकाकोलाले झै कमाउनुहुन्थ्यो। मेरो म्हेम्हेको पनि म्लागन पोरपोर कम्पनी हुन्थ्यो। अरबौं रुपैयाँ कमाइन्थ्यो। त्यसैले हामीले पनि ओखती मुलोको ज्ञानको व्यापार गर्नुपर्छ।

दार्जिलिङमा म स्कुलमा छाँदा एकजना बोजुले टुक्सुक्क बसेर मेलको चुक बेच्नुहुन्थ्यो।

‘के हुन्छ यसले?’ भनेर सोध्दा – ‘बान्ता हुँदैन, सेतो मासी पर्दैन’ भन्नुहुन्थ्यो। बोजुको नातिनीले पनि चुक बेच्नुभयो। मेल यहाँनेर, चुक यहाँनेर, यही बीचको दुरीको कुरा ज्ञान हो। बोजु मरेर जानुभयो। ज्ञान पनि लिएर जानुभयो। यही कुरा जापानिज, कोरियन, अमेरिकन, चाइनिजले भेटेको भए मेलको चुकको कम्पनी बनाउँथे अरबौ कमाउँथे।

म सिक्किम विश्वविद्यालयको कूलपति भएर गएपछि मलाई सबैभन्दा लोभलागेको कुरा बाजेबोजुको मौखिक इतिहास भन्ने कार्यक्रम शुरु गर्‍यौं। चिन्डेको रुख कसरी छास्नुपर्ने रहेछ, बाख्रा बिरामी हुँदा कसरी ठीक पार्ने रहेछ। त्यतिबेला कहाँ भेटनिरी हुन्थ्यो? पशुको डाक्टर थिएन। तर, के खुवाउनुहुन्थ्यो बोजुले? च्वाट्टै निको हुन्थे बाख्रा।

हामीले ‘ओरल हिस्ट्री’ लेख्न शुरु गर्‍यौं। स्थानीयलाई ‘बाजे मरे बोजु बित्दा दुई वटा पुस्तकालय लिएरै गए’ भन्यौं।

धर्मले पनि सिकायो होडबाजी गर्न

विश्वमा दुईवटा शक्तिवीचमा द्वान्द्व हुनेरहेछ। एउटा हार्ड पावर भएका – सबमरिन फाइटर, एटम बम भएका अमेरिका, चीन, भारतजस्ता।

अर्का सफ्ट पावर, एकदम मुलायम शक्ति। मुस्कान संस्कृति साहित्य खानपान नरम शक्ति हुन्।

यी दुईबीच द्वन्द्व रहेछ।

चीन र अमेरिकाले हार्ड पावरले मात्र हुन्न रहेछ भन्दै सफ्ट पावरको प्रयोग गर्न थालेका छन्।

जलवायु परिवर्तन रोक्न बौद्धमार्गीको ठूलो योगदान हुनेरहेछ। हाम्रो आमाको मृत्युपछि लामाले भन्नुभयो – तिम्रो आमा लोखर्के भएर जन्मिन्छ। म लोखर्कै देख्दा हात जोड्छु। पुनर्जन्म पाउँदा मेरो पिता बाघ भए होलान्। अरु चरा भए होलान्। यसले सबै प्राणीप्रति हाम्रो आदरभाव रहन्छ। सबै पशुप्राणीलाई हामी मान्छौं। यसमा वाइल्ड लाइफ एक्ट पनि लगाउनु परेन। अनि संरक्षण भयो वन्यजन्तुको।

तर, बुद्ध भएकै ठाउँमा हिंसा र युद्ध भयो। कम्बोडिया, श्रीलंका, थाइल्यान्ड, तिब्बत, भुटान, बर्मा, भियातनाम, बंगलादेश उदाहरण हुन्। नेपालमा झन् बुद्ध भगवान जन्मनुभयो। एकापट्टि राज्यले बुद्ध धर्म मान्ने, सर्वसाधारणले पनि मान्ने। त्यही देश चाहिँ हिंसाको गुँड! केले सिकायो यो? धर्मले त होइन।

सपना देखौं, कल्पना गरौं

सबैभन्दा ठूलो कुरा सोच नै हो। भव्य सपना देख्नुपर्छ। विस्तृत कल्पना गर्नुपर्छ। सपना देख्नु र कल्पना गर्न कसैले रोक्न सक्दैन। एक पैसा पनि तिर्नुपर्दैन, कसैले गाली पनि गर्दैन। तपाईँ कल्पना गर्नुस् – जहाँ उडे पनि हुन्छ। सबैले विकासमा परिकल्पना परिकल्पना भन्छन्। विकासको कुरामा उडेर गयो। विकास त हुँदो रहेछ। नेपालमै भइरहेको छ, भारतमै भइरहेको छ।

कल्पना कवितामा लक्ष्मीप्रसाद देवकोटाले पहिलो हरफमै लेख्नुभएको छ ‘कल्पना नै आनन्दको आत्म हो’।

क्या राम्रो कुरा लेख्नुभयो। जब मलाई न्यास्रो लाग्छ म सेलो गीत र नेपाली गीत सुन्छु। अनि व्यर्थको कल्पना गर्न शुरु गर्छु। नेपालमा दुईटा स्थिति देख्छु – जनजाति, तामाङको, दलितको लागि। हामी थिचियौं, अत्याचार भयो, तिरस्कार भयो, दु:ख भयो भनेर गुनासोको संसारमा बस्नु एउटा कुरा हो। तर, थिचिएकै स्थितिले नै मान्छेले धेरै कुरा निकाल्छ भन्ने कल्पना गर्नुपर्छ। महात्मा गन्धी, बाबा अम्बेडकर विश्वमा निस्किएका अनेकन नेताहरु थिचिएर पेलिएरै निस्केका हुन्।

मैले ‘रेयरेस्ट ब्लु’ भन्ने किताब पढ्दैथेँ। लेखक बरुच स्टरमेनले २०१२ मा लेखेका रहेछन् न्युटनको बारेमा। १६६५ देखि ६६ मा क्याम्ब्रिजमा युनिभर्सिटीमा पढ्नुहुने रहेछ न्युटन। त्यतिबेला अहिलेको कोभिड-१९ जस्तै बोबोनिक प्लेग महामारी शुरु भएछ। त्यसपछि युनिभर्सिटी बन्द भयो। कुम्लो कटेरो बोकेर जाउ भनेर सबै विद्यार्थीलाई भनियो। आइज्याक न्युटन घर फर्के। जबरजस्ती दिएको छुट्टीमा मन बहलाउन उनले वैज्ञानिक अनुसन्धान खोज गरे। ल अफ ग्राभिटेसन भेटे। तपाईँ गुनासोकै संसारमै बस्ने कि? अर्को संसार पनि छ।

बनावटी पर्खाल तोडौं

हाम्रा नानीहरुले संसारमै होडबाजी गर्न सक्छन्। सबै नानीहरुलाई च्वाइस् दिनुहोस्। के गर्छन्, के पढ्छन्। ठूलो सोच दिएर कल्पना गर्न दिनुस्। सबै जाति होडबाजी गरेर माथि पुगिरहेछन्।

म दिल्लीमा बस्न थालेको ४० वर्ष पुग्यो। मेरो कोही गडफादर थिएन। दार्जिलिङमा फ्रि अक्सिजन खाएर आएका हामी मलेरिया, टाइफाइड, पसिना, पोलुसन भएको दिल्लीमा पढ्यौं। त्यसले १० घण्टा पढ्यो भने म १८ घण्टा पढ्छु भनेर पढ्यौं। राष्ट्रिय सुरक्षा परिषदको सदस्य बनाउनुभयो प्रधानमन्त्रीले। अस्तिसम्म चौकीदार हो, बहादुर हो भन्थ्यो नेपालीलाई। भारतको उच्चतम संस्थामा पुग्दा मलाई गर्व लाग्थ्यो – एउटा अर्को पर्खाल पनि भत्काइदिएँ भनेर। सबैको ठूलो लक्ष्य पर्खाल नाघ्ने हो। पर्खाल नाघ्ने क्षमता छैन, बलबुद्धि छैन भने हुँदैन। बनेका कृत्रिम पर्खाल, बनावटी पर्खाल एकएक गरी तोड्नुपर्छ। अनि निस्कन सक्छ एक जना तामाङ प्रधानमन्त्री। अनि एक जना निस्किन सक्छ दलित न्यायाधीश।

विदेशका राष्ट्र प्रमुख आउँदा मलाई भारतका राष्ट्रपतिले रात्रिभोजमा बोलाउनुहुन्छ। प्रधानमन्त्रीज्यूले हैदरावाद हाउसको दिनको भोजमा बोलाउनुहुन्छ। त्यहीँ नै मैले नेपालका राजा वीरेन्द्रलाई भेटेको। त्यही नै गिरिजाप्रसाद कोइरालाज्यूलाई भेटेको, अहिलेको प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेको।

हामी नेपाल पुग्दा – जम्मै जनजातिहरु दलितहरु, थिचिएका, मिचिएकाहरु भन्नुहुन्छ। ‘हामी त खोरभित्रको बाघ हौं,’ भन्नहुन्छ। तामाङ, राइ, मगरलाई भेट्यो त्यसै भन्छन्। मधेशमा गयौं यादवले त्यसै भन्छन्। ‘अनि के गर्नुहुन्छ?’ भन्दा – ‘निस्कन त देओस्। हामी उखरमाउलो लाउँछु भन्छन्। हामी ढोल पिट्छु भन्छन्। संसार खान्छौं भन्छन्।’

विस्तारै साथीहरुलाई जिस्काएर सोध्छु – ‘के भन्नुभएको? बाघ हो भन्नुभयो। खोरभित्र यत्रो बस्नुभयो?’ प्रजातन्त्रले, संविधानले बाघको खोर खोल्दियो त। तर, बाघ निस्कनै मान्दैन। फेरि उखरमाउलो कसरी गर्नुहुन्छ? ‘खोरको बडो बाघ हुनुहुन्छ तपाईहरु निस्कनुस’ भन्छु म।

खोरको बाघ भएर निस्कँदा भुल्न नहुने कुरा – जरो नभुल्नुस्, संस्कृति नभुल्नुस्, परम्परा नभुल्नुस्, भाषा नभुल्नुस्, साहित्य मामम्हेम्हे, आपाआमा, अस्याङआङी नभुल्नुस्। सबै जनजातिले यस्तै सोचले नै संसार जित्न सक्छ।