नेपालकाे राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका ९ जना पक्राउ


लेखापढी      ३ भाद्र २०७७, बुधबार १४:०३

नेपालकाे राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका ९ जना पक्राउ

नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका गायक ग्याल्जेन दोर्जे तामाङ सहित ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

पक्राउ परेका मुख्य आरोपी ग्याल्जोन दोर्जे तामाङ भन्ने रोजित कुमार तितुङ मंगोलिनय ग्रुपका सदस्य हुन् । पक्राउ पर्नेमा लावाङ तामाङ, चलाकमान तामाङ उर्फ प्रयास, अनोज कुमार तितुङ उर्फ मंगोल बुद्ध, हुत्तबहादुर तामाङ उर्फ संजय, कमलबहादुर लामा,  अरुणा थामीसहित ९ जना रहेका छन् । 

सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको थियो । 

मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भएको छ । भिडियोमा क्षेत्री, बाहुन समुदायलाई अश्लिल गाली गरिएको छ ।

पक्राउ पर्नेमा क्यामेराम्यान, भिडियोमा आवाज दिने, भिडियो सम्पादन गर्ने लगायत हुन् ।