आज कुशे औँशी (बुबाकाे मूख हेर्ने दिन) र माेतीराम भट्ट जयन्ती मनाइँदै


लेखापढी      ३ भाद्र २०७७, बुधबार ०९:४०

आज कुशे औँशी (बुबाकाे मूख हेर्ने दिन) र माेतीराम भट्ट जयन्ती मनाइँदै

काठमाडौँ । आज कुशे औँशी तथा बाबुको मुख हेर्ने दिन । कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ । आफ्नो बुबालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । 

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । दिवंगत पिताका नाममा काठमाडौको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरलगायत देशका विभिन्न तिर्थहरुमा मेला लागेको छ । तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता अनुरुप विहानैदेखि भक्तजनको घुइचो छ ।

माेतिराम जयन्ती

भर् जन्म घाँसतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो ।

नेपाली साहित्यका ऐतिहासिक महापुरुष मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔँसीका दिन भदौ २५ गते, शनिबार काठमाडौँको भोसिको टोलमा भएको थियो ।  मोतीराम भट्टको वंशचाहिँ कुमाउगढबाट आएको थियो । मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका   थिए । 

मोतिराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए। ६ वर्ष भएपछि यी काशी पुगेका थिए। किनभने त्यसबेला यिनका पिता पं। दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बसेका थिए। त्यसपछि मोतिराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्न थाल्यो। त्यहाँ यी फारसी स्कूलमा भर्ना भए र त्यहीँ बस्ताबस्तै यिनले फारसी र उर्दू पढ्न थाले। काशीमा यिनको भेट भारतेन्दु हरिश्चन्द्रसँग भयो, भारतेन्दु मोतिरामझैँ पोख्त थिए। भारतेन्दुसँग गहकिलो सङगत गर्दै उनले नेपाली साहित्यको सेवा गरे र यी पढाइमा पनि समर्पित भइरहे। हुँदाहुँदै मोतिराम पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषामा पनि दक्ष हुन थाले। बनारसमा यिनले हरिश्चन्द्र स्कूलमा अङ्ग्रेजी भाषासाहित्यको अध्ययन गरेका थिए। पढ्दापढ्दै आठ वर्षको उमेरमा बनारसमा नै यिनको व्रतबन्ध गरियो।

मोतिराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषा साहित्यमा समालोचनाको सुरु गरेस भट्टले नै संवत् १९४८ मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतिराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।

नेपाली साहित्यिक व्योमका चम्किला तारा मोतीराम भट्ट बहुमुखी प्रतिभासम्पन्न विभूतिका रूपमा अमर छन् । भट्टले नेपाली भाषासाहित्यको उत्थानका लागि गरेको योगदान सदा स्मरणीय छ । मध्यकालमै बहुचर्चित भट्टले कविता, कथा, नाटक, समालोचना, शब्दकोश लेखनद्वारा आफूलाई बहुप्रतिभा सम्पन्न बनाएका छन् ।