एकै दिन अहिलेसम्म पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्याः १०१६ जना कोरोना संक्रमित पुष्टि


लेखापढी      २ भाद्र २०७७, मंगलवार १९:१४

एकै दिन अहिलेसम्म पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्याः १०१६ जना कोरोना संक्रमित पुष्टि

नेपालमा एकै दिनमा हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । 

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ । अहिले कोभिड-१९ का कारण मृत्यु पुष्टि भएका व्यक्तिमध्ये छ जना पुरुष र एक जना महिला हुन्। उनीहरू काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र तनहुँको भएको मन्त्रालयले जनाएको छ।

उपत्यकामा एकैदिन २ सय ५ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।