प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता


लेखापढी      ३१ श्रावण २०७७, शनिबार १६:३०

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ ।

केपी शर्मा ओलीले शनिबार मध्यान्ह प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको टेलिफोन कुराकानीमा ७४औं स्वतन्त्रता दिवसको शुभकामनाका साथै भारत सुरक्षा परिषद्को अस्थायी सदस्यमा  निर्वाचित भएकोमा समेत बधाई दिएको जनाएको छ ।

‘नेपालका प्रधानमन्त्रीले भारत सरकार र जनतालाई ७४औं स्वतन्त्रताको दिवसको शुभकामना दिनुभयो । साथै हालै भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित भएकोमा समेत बधाई दिनुभयो’ भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ओली र मोदीबीच कोभिड-१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरे । दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको समेत परराष्ट्र मन्त्रालयद्धार जारी वक्तव्यमा उल्लेख छ । एजेन्सी