लिदी पहिराे (अपडेट): मृतककाे संख्या १३ पुग्याे, ११ जनाको सनाखत, बेपत्ताको खोजी कार्य जारी


लेखापढी      ३१ श्रावण २०७७, शनिबार ११:००

लिदी पहिराे (अपडेट): मृतककाे संख्या १३ पुग्याे, ११ जनाको सनाखत, बेपत्ताको खोजी कार्य जारी

सिन्धुपाल्चोक —  सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो । ११ जनाको शव शुक्रबार पहिरोले पुरिएको अवस्थामा फेला परेको र सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ र ४ महिनाका रेमिश दोङ रहेका छन् ।

पहिरोले विस्थापित लिदीका ३७ परिवारको तत्कालीन समस्यालाई टार्न पहल सुरु गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा गृह मन्त्रालयले हेलिकप्टरबाट ४० सेट त्रिपाल, भाँडाकुँडा, ब्ल्यांकेट, म्याट्रेस, डस्नालगायतका लत्ताकपडा सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट पीडित ३७ परिवारलाई राहत दिइएको थियो ।

पीडित र मृतक परिवारलाई तत्कालका लागि खर्च दुई लाख रुपैयाँ घटनास्थलमा पुगेका गृहमन्त्री थापाले वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, पर्यटन तथा वन मन्त्री अरुण नेपाल, सांसद सुरेश नेपाललगायत पनि राहत सामग्री लिएर लिदीतर्फ लागेका छन् । एजेन्सी