घुम्नैपर्ने ठाँउ- बझांङको पाथिभेरा बासुधारा ।


लेखापढी      ३१ श्रावण २०७७, शनिबार १६:३४

घुम्नैपर्ने ठाँउ- बझांङको पाथिभेरा बासुधारा ।
घुम्नु मानिसको लागि  अति आवश्यक हो, यात्रा एउटा अनुभव पनि हो , नयाँ नयाँ ठाउको घुमफिरले मानिसमा एक खालको अनुभव, उर्जा, जोस र जागर उत्पन्न गराउँछ । भनिन्छ जिन्दगी यात्रा हो । प्रसिद्ध कवि रूमीले भनेका छन् “यात्राले तपाइकाे जीवनमा शक्ति र प्रेम फिर्ता ल्याउँदछ ।” जब हामी कुनै यात्रामा जान्छौ त्यस ठाँँउका थुप्रै मिठा अनुभव बोकेर आउछौ, तर यात्रा जब महत्वपुर्ण हुन्छ जव हामी रमाइलो यात्राको अनुभव गछौ । यसैले त दार्शनिक कन्फुसियसले Confucius भनेका छन् “तपाईं जहाँ जानुहुन्छ, त्यहाँ तपाईं हुनुहुन्छ।” 
रिखेनी चौरमा भेडाहरु चराउदै स्थानीय: फाेटाे लेखककाे संग्रहबाट
# परिचय :- सुदुरपश्चिम प्रदेशमा सेती अञ्चलको बझाङ जिल्लाको मध्य क्षेत्रको पहाडी भागमा छबिस पाथिभेरा गा.पा. अवस्थित रहेको छ। वि . सं . २०७३ सालमा संघिय मामिला तथा स्थानीय तह लागू गरेपछि  बझाङ जिल्लामा साविकका  ४ वटा  गा .वि . स . मटेला, ब्यासी, कडेल, लेकगाउँ,  मिलेर  छबिस पाथिभेरा गाउँपालिका बनेको हो । यस गा .पा . को कुल क्षेत्रफल ११६.१५ वर्ग कि . मि . रहेको छ । हाल यो गा . पा. ७ वटा वडामा विभाजित छ । समुद्री सतहबाट ३६०० फिट देखि ९९८१ फिटको उचाइमा रहेको छ ।
ग्रामीण पर्यटनको विकासका लागि प्राकृितक पक्षहरूका साथसाथै धार्मिक र सांस्कृितक पक्षहरू पनि उत्तिकै महत्त्वका विषय हुन्छन् ।
फुर्सदको बेला भ्रमणमा निस्कन मानिसहरू सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा रुचाउँछन् । धुलो धुवाँ फोहोर जस्ता प्रतिकुल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन्  । ग्रामीण पर्यटनको विकासका लागि प्राकृितक पक्षहरूका साथसाथै धार्मिक र सांस्कृितक पक्षहरू पनि उत्तिकै महत्त्वका विषय हुन्छन् ।
स्थानीयहरू घाँसकाे भारीसँगैः पृष्ठभूमीमा निलाे अाकाश,  लेखेककाे डायरीबाट
पाथिभेराकाे बासुधारा मन्दिर
 
सुदुरपश्चिममका  धार्मिक पिठहरुमा महत्त्वपूर्ण धार्मिक स्थल बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा अवस्थित बासुधारा मन्दिर पनि एक हो । यो मन्दिर समुन्द्री  सतह देखि करिब ४२ सय मिटरको उचाइमा अवस्थित छ ।  वर्षको  ४ महिना हिउँ, ४ महिना पानी,४ महिना लगभग सफा मौसम हुने यस मन्दिर क्षेत्रमा १२ महिना नैं त्यहाँको सजिलै  भ्रमण गर्न सकिन्छ । त्यस  ठाँउमा सुन्दर प्राकृतिक दृश्यावलोकन  गर्न,  यहाँ रहेका अन्य जडिबुटी,  बनस्पति , नौरङ्गी  डाँफे, मुनाल ,जंगली कुखुरा, तित्रा, कालिज, मृग, झारल, घोरल, बाघ, भालु आदि जस्ता जनावरहरु पनि आकर्षक केन्द्रबिन्दु रहने गरेका छन् । हालसम्म रास्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसारमा नआएकोले यो क्षेत्र अझै ओझेलमा परेको   छ । 
बासुधारा जहाँ २२ वटा गौमुखे धाराहरु छन्ः  फाेटाे साैजन्य सुनिल धामी
धार्मिक, एतिहासिक, भौगोलिक दृस्ठिकोणबाट बझाङ  जिल्लाको आफ्नो परिचय विश्व सामु उजागर गर्नको लागि  नौलो कुरा होइन । सुर्मा सरोबर, सेती नदी, मष्टा देवता, सुर्मा देबी, वड्डी ज्यावन, थली दुर्गा, चैतली मेला, खप्तड स्वामिको तपस्यास्थल, जयपृथ्बी बहादुर सिँह जुन विश्व विख्यात मानवतावादी दार्शनिक, मोटेसाघु जुन मासको गारोले साघु बनाएको अझै रोचक,  दान्छडाे झरना, वारिल झरना, देउडा गीत, फाग आदि जस्ता धरोहरहरु बझाङलाई पहिचानको फड्को मार्न भुमिका निर्वाह गरेको तथ्य छ ।
बाटाेमा अवस्थित झरनाः फाेटाे साैजन्य  सुनिल धामी
# धार्मिक महत्त्व :- 
बासुधारा मन्दिर हिन्दु धर्मावलम्बीका लागि धार्मिक आस्थाको केन्द्र बिन्दुको रुपमा छ । बझाङको छबिस पाथिभेरा गाउँपालिका – ७ पाथिभेरा हिमालको फेदीको  बासुधारामा माघ १ गते महास्नान भब्य मेला लाग्ने गर्दछ । पाथिभेरे बासुधारा  पवित्र शिवालय तीर्थ स्थलमा सो मेला लाग्ने गर्दछ । विभिन्न देवादी देवहरुको तपस्यास्थल भएको यो पावनभूमिमा गंगा सीता उत्तर तर्फ बहिरिएपछि गंगा उत्तराभिमूखि भइ त्यहाँ सम्पूर्ण ब्रमाण्डमा रहेका महान तीर्थस्थलहरु पाउन सकिन्छ भन्ने पौराणीक मान्यताका अनुसार मेला लाग्ने गरेको स्थानीय जानकारहरु बताउँछन्।
बासुधारा जाँदा गर्दा बुडखोरी पौडीको ठिन्गेको विशाल रुख । लेखक
‘बसु’ नाम गरेका स्वर्गका प्रसिद्घ देवताले यस बासुधारा क्षेत्रमा अण्ट लक्ष्मीलाई स्मेत साथमा ल्याई यस यसै क्षेत्रमा लामो समयसम्म जलधारा युक्त भएको भन्ने किंवदन्ति रहेको छ।
विभिन्न देवादी देवहरुको तपस्यास्थल भएको यो पावनभूमिमा गंगा सीता उत्तर तर्फ बहिरिएपछि गंगा उत्तराभिमूखि भइ त्यहाँ सम्पूर्ण ब्रमाण्डमा रहेका महान तीर्थस्थलहरु पाउन सकिन्छ भन्ने पौराणीक मान्यताका अनुसार मेला लाग्ने गरेको स्थानीय जानकारहरु बताउँछन् ।
त्रेतायुगी अयोध्याका राजा दिलिपले बासुधारा मन्दिरको मुनि रहेका स्नान कुण्ड, पितृ कुण्ड, शाही स्नान कुण्ड, मोक्ष कुण्ड र अन्य कुण्डहरुमा स्नान गरी वर, पर स्थल विशेष पुजनादी कार्यहरु गरी हालको छबिस पाथिभेरा गा.पा.७ बासुधारा  मठलाई निवास स्थान बनाएका थिए।
 
यसै गरी गोलोकबाट नन्दिनी नामक गाई ल्याई गाईद्वारा नै दुधको धारा दिइरहेको ठाँउमा जोतिलिङ्ग र बाईस वटा कडा चट्टानबाट पानीका अलौकिक धाराहरु भेटियो र स्वलिङ्गको पूजा, आराधना गरी यस पवित्र देव भूमिमा बस्दै तपस्या गरी मुक्ति पाएको पौराणिक मान्यताहरु पाइन्छन्।
 
महाशिवरात्रीको तिथिमा यस खर्जुर क्षेत्रको बासुधारामा जिल्लाका विभिन्न ठाँउबाट भक्तजनको उपस्थिति रहने गर्दछ । भक्तजन शिवरात्रीको साँझबाट बिहानसम्म निराहार व्रत बसेर, भजनकिर्तन गर्छन् र बाइसधारामा स्नान गर्दछन् । महर्षि वेदव्यासद्धारा लेखिएका अठार पुराण मध्यको एक स्कन्द पुराणको १ सय ५२ अध्यायको मानसखण्ड पर्वमा खर्जुर क्षेत्रको बारेमा वर्णन गरिनुले बासुधाराको धार्मिक तथा ऐतिहासिक महत्व उल्लेख्य छ भन्ने स्पष्ट हुन्छ ।
यस क्षेत्रका बासुधारा लगायत अन्य धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान, विकास र आयाम नगण्य छन् । हाल स्थानीय र प्रदेश सरकारबाट उक्त क्षेत्रको विकासका लागि केही कार्यक्रम लागू भएका छन् ।
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन  भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।
अनुसन्धानका क्रममा लेखक
यस पर्वका दिन उपवास गरी  ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनिन्छ । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । 
 
#स्थानीयको भनाई :- स्थानीय बुद्धिजिबी श्री गोरख धामीका अनुसार  प्रचलित एउटा किम्बदन्ती अनुसार
धेरै पहिला तारु गाडको मुहान भएको पाथिभेरा हिमालको काखमा जहाँ बासुधारा क्षेत्रमा भैसिका छाना (खरक)  बनाई भैंसी  गोठालाहरु घास काट्न जादा रहेछन । एक दिन एक जना गोठालोले हालको बासुधारा  मन्दिर रहेको स्थानमा अप्रत्याशित रुपमा एउटा गाई पानी पिईरहेको र मन्दिर माथिको पहाडमा पिपलको रुख देखेको रहेछन। त्यसै राती सपनामा भगवान शिवले त्यो कुरा कसैलाई नभन्नु पनि  भनेका रहेछन । तर उक्त गोठालोले ती सबै कुरा अन्य आफ्ना आफन्त गाउँलेहरुलाई सुनाएछन ।अन्यलाई ती कुरा सुनाएपछी उनको मृत्यु भएको भन्ने किम्बदन्ती छ ।
त्यसले यो मन्दिरमा भक्तजनहरुले चिताएको वर माग्दा गोप्य रुपमा मागेमा चिताएको पूरा हुने जन बिश्वास रहि आएको छ ।
 
जिल्लाको उत्तर पश्चिम भेग छबिसपाथिभेरा गाँउपालिका-७ खोरी, घट्टे, नौरा, मजखोरी, बुडखोरी गाँउमा उत्तर पट्टी  रहेको बासुधारा धार्मिक स्थलप्रतिको जनविश्वास र आस्था यस क्षेत्रका बासिन्दा माझ गहिरो सम्बन्ध बनाएर बसेको छ । करिब ४२ सय  मिटरको उचाईमा ९ काट हिमाल हालको पाथिभेरा हिमालको फेदबाट चट्टान फोरेर प्राकृतिक रूपमा बाइसवटा पानीका धारा निस्केका छन् । प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने २२ वटा पानीका अद्त धारा बाह्रै महिना एकनास बहिरन्छन् । पानीका धारासँगै शिव मन्दिर छ । मंसिरदेखि वैशाखसम्म ६ महिना ढपक्कै हिउँले ढाक्ने र बर्खामा सयौँ थरीका बुकी फूलले सिंगारिने बासुधारासँग जोडिएका अनेकौँ किवंदन्ती स्थानीयसँग छन् ।
स्कन्द पुराणमा उल्लेख छ,  “२१ पटक केदार यात्रा गर्नाले जो फल प्राप्त हुन्छ त्यसै फलका सामानको फल चाबिस पाथिभेरा ७  बुडखोरीको माथी बासुधारा तिर्थमा गएर एकपटक मात्रै स्नान गर्दा प्राप्त हुन्छ ।”
 
# प्रर्यटकिय महत्त्व :- बासुधारा पदमार्गमा विभिन्न प्रजातिका लेकाली फलफूल, डाँफे, कस्तुरी, मृग, झारल, औषधियगुण भएका जडिबुटी चराचुरुङ्गी, लागिगुँरास, चिमाली आदि अवलोकन गर्न सकिन्छ । बासुधारा तिर्थ स्थलको पदमार्गमा बासुका झर्ना रहेको छ । पर्यटक तथा तिर्थयात्रीको यात्रालाई अविस्मरणीय बनाउने बासुका झर्नामा अहिले पार्क तथा सिँढी निर्माण गरिएको छ ।
वैशाखदेखि असारसम्म पाथिभेरा हिमालमा पहेँलो सुनका नामले परिचित बहुमूल्य बुटी यार्सागुम्बा पाइन्छ । सयौँ थरीका बुकी फूलले सुसज्जित पाटन, भेडाका बथान, मनोरम प्राकृतिक दृश्य यस क्षेत्रका थप आकर्षण केन्द्र हुन् ।जिल्लाको विभिन्न स्थानबाट धार्मिक यात्रा, पर्यटन तथा वनभोजका लागि मानिसको यस क्षेत्रमा उपस्थिति रहने गर्दछ । 
पाथिभेरा बासुधारा जाने बाटाेमा फूलेका फूलहरूः लेखककाे फाेटाे संग्रहबाट
 
# कसरी पुग्न सकिन्छ त  पाथिभेरा  बासुधारा  :- 
यहाँसम्म जोड्ने बझाङ सदरमुकाम चैनपुरबाट जयपृथ्वी राजमार्ग हुँदै  भाँडेबजार, चौघानपाटा  हुँदै, छबिसपाथिभेरा गाँउपालिका हुँदै खोरी, नौरा, घट्टे, मजखोरी, हुँदै  बुडखोरी गाँउसम्म हालसालै सडक निर्माण गरिएको छ । बुडखोरी गाँउबाट  करिब ३ घण्टाको पैदल यात्रापछि बासुधाराको दर्शन गर्न सकिन्छ । बास बस्नका लागि घट्टे, मजखोरी, बुडखोरी गाउँमा होम स्टे,  ‘टि-हाउस’हरूर स्थानीय किसिमका साना होटेलहरु पनि  छन् । स्थानीय परिकारहरु जौ को रोटी, कोदोको रोटी, बाको, फापर, पिँडालु, सिस्नुको दाल, फाडो, लितुडा, मकैको भात, चिसो मुलको पानी पर्यटकका लागि नौलो अनुभव हुन सक्छन् ।
पर्यटकहरूका लागि बस्ने घर वा हाेटेलः लेखककाे संगहबाट
# बासुधारा क्षेत्र :- 
पर्दा अगाडिदेखि रहेका सीमित धार्मिक, ऐतिहासिक, भौगोलिक, प्राचीन संस्कृति, संस्कार र सभ्यता मात्रै बझाङका जननी होइनन्  । नेपथ्यमा कयौँ सम्पदा, सभ्यता, संस्कार पहिचानको पखाईमा छन् । जसमध्येको एक धार्मिक, ऐतिहासिक तथा पर्यटकिय केन्द्र हो बासुधारा ।
पाथिभेरा बासुधारा जाने बाटाेकाे प्रकृति
यहीँ  विभिन्न प्रजातिका जडिबुटी जस्तै :- पाँच औंले, यार्चागुम्बा, गुच्चाच्याउ, चिराईतो, सतुवा, जटा मसी, विभिन्न सुगन्धित धुपका प्रजाती, बीस प्रजातिका जडिबुटी, मृर्गहरु झारल, घोरल आदिले भरिभराउ क्षेत्र हो ।यहाँ बर्षा याममा गाउँ बाट गाई, गोरु, घोडा, भेडा, खच्चड , भैसीहरु, र अन्ने जनावरको बथान एकदमै आकर्षक देखिन्छन् ।यदि यहीँ मौसम सफा भएर पाथिभेरा बासुधारा बाट हेर्ने हो भने स्वर्गकै टुक्रा हो भन्ने आभास हुन्छ ।यस क्षेत्रमा मौसम अनुसार विभिन्न प्रजातिका रङ्गिबिरङ्गी फुलहरु गलैंचा झै आकर्षक देखिने गरेका छन ।
पर्दा अगाडिदेखि रहेका सीमित धार्मिक, ऐतिहासिक, भौगोलिक, प्राचीन संस्कृति, संस्कार र सभ्यता मात्रै बझाङका जननी होइनन्  । नेपथ्यमा कयौँ सम्पदा, सभ्यता, संस्कार पहिचानको पखाईमा छन् । जसमध्येको एक धार्मिक, ऐतिहासिक तथा पर्यटकिय केन्द्र हो बासुधारा
# कस्ता किसिमका बोटविरुवा पाइन्छन् :-
यहाँ क्यान्सर राेगकाे उपचारका लागि अनुमान गरिएको लौठ सल्ला घरको लागि झायाल ढोका बनाउँन अति बलियो मानिन्छ ।  यसका साथै झुले सल्ला, बाँच, लालिगुराँसका बोट, गुराउँस, धुपि सल्ला, उतिस, दल्लो, हाँडे, ओखर, मछाइना, घँगारु, बकाइनो, चिलाउने, एैसेलु, चिराइतो, पाँच औले, हत्ताजडी, भुतकेश, कटुस, खर्सु, बेउलो निगाला, जंगलमा पाइने फलफूल काफल, गुयाला, चुत्थ्रौ, किरमुणा, बाँको जस्ता अन्य सयौं किसिमका बोटविरुवा पनि पाइन्छन् ।
यात्राका मनाेरम दृश्यहरूः लेखककाे फाेटाे संग्रहबाट
# यहाँ आउनुको खास कारण :-
प्राकृतिक दृष्टिकोणले अती मनोरम दृश्यहरुको मज्जा लिन सकिने र वरिपरी हजारौँ रङ्गीबिरङ्गी फूलहरुको बीचमा रहेको यो मन्दिरमा दर्शन गरेपछि आफूले चिताएको पुग्ने धार्मिक विश्वासले पनि मानिसहरू यहाँ आउने गरेको पाईन्छ । बाईस धारामा  नुहाए पाप पखालिन्छ भन्ने धार्मीक जनविश्वास पनि रही आएको पाईन्छ । सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास पनि गरिन्छ त्यस्तै युधिष्ठिर स्वर्ग जांदा बासुधारा हुंदै गएका थिए भनिन्छ । स्कन्द पुराणमा बासुधाराको चर्चा छ । त्यहाँ ‘खेचराद्री’ भनिएको छ । खेचरको अपभ्रंश हुँदै बासुधारा भएको मानिन्छ ।
 
#के के लैजाने ?
बाटाेमा पर्ने काठकी पुल
बासुधारा चिसो ठाउँ भएकाले न्यानाे कपडा बोक्नु पर्ने हुन्छ । ज्याकेट पनि पर्ने भएकोले रेनकोट,  लेक लाग्ने सम्भावना भएकाले टाउको दुखेको औषधि, हातखुट्टा फुट्ने भएकाले मस्चराइजिङ क्रिम, सामान्य किसिमका जङ्क फूड बोक्न सकिन्छ ।
धार्मिक आस्था तथा पर्यटकीय क्षेत्र आकर्षणलाई जोगाई राख्न र अझ बढी पर्यटक भित्र्याउन यसको संरक्षणमा स्थानीयवासीका साथै राज्यका सम्पूर्ण सम्बन्धित निकायहरुले अहम भुमिका खेल्न तिर लाग्नु आवश्यक देखिन्छ  ।
प्राकृतिक, धार्मिक र सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएपनि भाैतिक पूर्वाधार र प्रचार प्रसारकाे कमीले बासुधारा मन्दिर  यथेष्ट महत्व पाएकाे देखिँदैन।पछिल्लो समयमा पाथिभेरा बासुधारा क्षेत्रलाई राष्ट्रिय तथा अन्अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन बिभिन्न प्रयास भएको भएपनि यसको गरिमा र महिमाका बारेमा अझै पनि प्रचार प्रसार हुन सकि रहेको छैन । (प्रस्तुत लेख तयार पार्ने क्रममा केही जानकारी सुनिल धामीकाे लेखबाट समेत सहयाेग लिइएकाे छ । स्तम्भकार तथा अध्येता सुनिल धामीलाइ सहयाेगका लागि हार्दिक धन्यवाद !)

मिन बहादुर मण्डेल
बझाङ

(लेखक पेशाले शिक्षक हुनुहुन्छ । यसका साथै नेपाली कला र संस्कृतिकाे अनुसन्धानकर्ता समेत हुन्  र यस लेखापढीका नियमित स्तम्भकार समेत हुन।)


लेखपाढीः यस लेखले पाथिभेरा बासुधारा क्षेत्रकाे पर्यटकीय क्षेत्रकाे विकासका लागि महत्वपूर्ण सहयाेग पुग्नेमा विश्वस्त छ । यस लेख मार्फत कतिपय घुम्न मन पराउने व्यक्तिहरूका लागि नयाँ स्थानकाे खाेजी भएकाे आभाष हामीले पाएका छौ । पक्कै पनि भविस्यमा बासुधारा क्षेत्र राष्ट्रिय स्तरकाे पर्यटकीय स्थल बनाउका लागि स्थानीय, प्रदेश र केन्द्रिय सरकारले सहयाेग गर्नेछ भन्ने विश्वास लिएका छाैं । हामी पुनः लेखकलाइ यसप्रकारका जानकारीमूलक लेख र राष्ट्रिय विकासमा याेगदान पुर्याउन सक्ने खाेजमूलक अध्ययन अनुसन्धानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछाैं ।


https://lekhapadhee.com/2020/08/15/gift-of-nature-basudhara-pathibhera/


https://lekhapadhee.com/2020/08/15/gift-of-nature-basudhara-pathibhera/