सिन्धुपाल्चोकको लिदीमा पहिरोमा ३८ जना बेपत्ता, ३७ घर पुरियो


लेखापढी      ३० श्रावण २०७७, शुक्रबार १३:०८

सिन्धुपाल्चोकको लिदीमा पहिरोमा ३८ जना बेपत्ता, ३७ घर पुरियो

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले  जानकारी दिइन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए ।

यसैबीच पहिरोमा पुरिएर घाइते भएका ५ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत चौतारा लगिएको छ । अहिले घटनास्थलमा उद्धार र राहतलाई तीव्रता दिन भन्दै सभामुख अग्‍निप्रसाद सापकोटासहितको टोली पुगेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।