उपत्यकामा १२७ जनासहित थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, थप चार जनाको मृत्यु


लेखापढी      २९ श्रावण २०७७, बिहीबार १६:५६

उपत्यकामा १२७ जनासहित थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, थप चार जनाको मृत्यु

काठमाडौं । गएको २४ घण्टामा बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । 

काठमाडौं उपत्यकामा १२७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा  संक्रमण देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ ।

बिहीवार पुष्टि गरिएका चार मृतकहरूमा तीन पुरुष र एक महिला रहेका छन् । क्षयरोग भएका महोत्तरीका ४५ वर्षीय पुरुषको साउन २५ गते, मुटुसम्बन्धी समस्या भएका अछामका १८ वर्षीय पुरुषको साउन २८ गते निधन भएको हो। त्यस्तै धनुषाका ८५ वर्षीया महिला र मोरङ्गका मधुमेह एवम् उच्च रक्तचापबाट पीडित ५७ वर्षीय पुरुषको साउन २८ गते सङ्क्रमणका कारण निधन भएको मन्त्रालयले जनाएको छ।