फेरी लकडाउन नहुने निर्णय सरकार द्वारा सार्बजनिक


लेखापढी      २७ श्रावण २०७७, मंगलवार १७:४९

फेरी लकडाउन नहुने निर्णय सरकार द्वारा सार्बजनिक

काठमाडौँ । सरकारका प्रवक्ता युवराज खतिवडाले फेरि लकडाउन गर्ने तयारीमा सरकार नरहेको प्रष्टाएका हुन्। कोरोना भाइरस संक्रमित संख्या वृद्धि भइरहे पनि संघीय सरकारले फेरि मुलुकव्यापी लकडाउन नगर्ने भएको छ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै मंगलबार मन्त्री खतिवडाले दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्ने बताए। उनले अहिले पनि मानिसको आवतजावत नरोकिएको जानकारी पनि दिएका छन् ।

‘हामीले मुलुकव्यापी लकडाउन गरेका छैनौं। मन्त्रिपरिषदका निर्णयमा कहिँ पनि लकडाउन शब्द लेखिएको छैन,’ मन्त्री खतिवडाले भने, ‘कुनै जिल्ला कोरोनामुक्त भइसकेका छन् त्यसकारण केन्द्र सरकारले फेरि लकडाउन (बन्दाबन्दी) भन्न मिल्दैन। जरूरी पनि छैन। कोरोना बढेका ठाउँमा जोखिम हेरेर सिडिओ र स्थानीय तहलाई अधिकार दिइएको छ।’

व्यवसाय गर्न र मालसामान ढुवानीमा पनि केन्द्र सरकारले रोक नलगाएको जानकारी दिए। ‘निश्चित ठाउँ जहाँ कोरोना जोखिम देखिन्छ त्यहाँ स्थानीय तहले प्रतिबन्ध लगाउन सक्छ। केन्द्र सरकारले फेरि बन्दाबन्दी गर्ने तयारी गरेको छैन,’ मन्त्री खतिवडाले भने।

‘शैक्षिक संस्था, सैलुनलगायत अर्को सूचना जारी नहुँदासम्म बन्द नै रहने”

 प्रवक्ता युवराज ले भनेका छन् -होटल तथा रेष्टुरामा पकाएका परिकार लैजान दिने निर्णय भए पनि रेष्टुरा र होटलमा बस्न भने नदिइने उनले बताए। साउन १५ देखि होटल र रेष्टुरा खोल्न दिए पनि मास्क नलगाउने र स्वास्थ्य सुरक्षाको ख्याल नगरी अनावश्यक भीडभाड गरेकोले होटल र रेष्टुरामा बस्न नदिने नियम लागू गर्नु परेको उनले बताए। भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने यसअघिको घोषणा अब कार्यान्वयनमा नआउने भएको छ। भदौ १५ गतेसम्म विद्यार्थी भर्नाका कार्यक्रम रोकिएको उनले जानकारी दिए। 

सीमा नाका भदौ ३१ गतेसम्म बन्द गरिएको छ। तर जोखिममा रहेका नेपालीलाई स्वदेश ल्याउन १० वटा नाका खुला गरिने उनले बताए। यसअघि जोखिममा रहेका नेपालीलाई स्वदेश ल्याउन भारततर्फ २० नाका खुला गरिएका थिए।