बझाङमा सलहको बथान देखियो, किसान चिन्तित


लेखापढी      २४ श्रावण २०७७, शनिबार २३:३८

बझाङमा सलहको बथान देखियो, किसान चिन्तित

बझाङमा सलहको एउटा बथान प्रवेश गरेको छ । हिजो चौधारीतर्फबाट केदारस्युँतर्फ लगातार २ घण्टा उडेको बथान नै तितरवितर भएर जिल्लाका विभिन्न ठाउँमा पुगेको हो ।

कृषि ज्ञान केन्द्र बझाङका प्रमुख दिलबहादुर सिंहका अनुसार केही दिन पानी नपर्दा फेरि एउटा ठूलो बथान जिल्ला प्रवेश गरी यहाँका कृषकका बालीनालीमा क्षति पुर्‍याउन थालेको हो । अहिले जिल्लाका दुर्गाथलीको थली जिउला, छबिसपाथिभेरा गा.पा.७ को खोरी, घट्टे, मजखोरी नौरा बुडखोरी सुर्मा गा.पा.को दौलीचौर लुमण्ड थकुन्नाडा सैनगाउ लगायतका ठाउँ, खप्तडछान्नाको पाटादेवल र जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा सलह देखापरेको किसानले बताएका छन् । दुर्गाथली गाउँपालिकाको चौधारीतर्फबाट केदारस्युँ गाउँपालिकातर्फ लगातार २ घण्टा बढी सलहको ठूलो बथान उडेको दुर्गाथली ३ का चन्द्र रोकायालेl जानकारी दिए । सलहले धानखेती, मकैखेती र तरकारीमा क्षति पुर्‍याउन थालेको किसानले बताएका छन् ।

छबिस पाथिभेरा ७ का किसान शिबराज मण्डेलका अनुसार हिजोदेखि आएको सलहको बथानले मकै कोदो भाङ्गो विभिन्न तरकारी र धानखेती सखाप पार्न थालेको छ । विभिन्न बालीसम्बन्धी रोग र कोरोना महामारीबाट पिल्सिएका किसान सलहले बालीनाली सखाप पार्न थालेपछि झन् चिन्तित भएका छन् ।

कृषि ज्ञान केन्द्र बझाङका प्रमुख सिंहले अझैं ठूलो झुण्ड जंगलतिर बसेको हुनसक्ने अनुमाग गरेका छन् । उनले बझाङमा डाँडाकाँडा बढी भएकाले उड्दै जाँदा डाँडा वरीपरि बस्दै सलह टुक्रिएको बताएका छन ।


मीन बहादुर मण्डेल
बझाङ,