अयोध्यापुरीबारे प्रधानमन्त्रीकाे चाँसाेः अध्ययन, उत्खननसम्बन्धी काम अगाडि बढाउन आग्रह


लेखापढी      २४ श्रावण २०७७, शनिबार १२:४६

अयोध्यापुरीबारे प्रधानमन्त्रीकाे चाँसाेः अध्ययन, उत्खननसम्बन्धी काम अगाडि बढाउन आग्रह

भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रामकाे जन्मभूमि अयोध्याका विषयमा चासो देखाउँदै शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन  एवम् उत्खनन कार्य अगाडि बढाउन अनुरोध गरेका छन् ।

वडाध्यक्ष सुवेदीले ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ ?’ भन्दै प्रधानमन्त्रीले टेलिफाेनमा चासाे राख्नुभएकाे बताउनुभयाे । 

प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताउनुभएको सुवेदीले जानकारी दिए । उनले भने, “प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ ।”

प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए ।

राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै माडी नगरपालिकाको एक टोली काठमाडौं प्रस्थान गरेको छ । नगर प्रमुख ठाकुर ढकाल नेतृत्वको टोली शनिबार विहान काठमाडौं प्रस्थान गरेको हो । एजेन्सी