बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु


लेखापढी      २३ श्रावण २०७७, शुक्रबार ११:२०

बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

काठमाडाैं । बैतडीमा बिहीबार राति करिब १२ बजेतिर पहिरो खस्दा  पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका ४, बलालीका ४० वर्षीया पशुपति बोहरा र १२ वर्षीय छोरा रिकेश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता (प्रहरी निरीक्षक) किसन चन्दले जानकारी दिए।

१६ वर्षीया सुजिता र १२ वर्षीया सुनीता बोहरा भने भागेर ज्यान जोगाउन सफल भएका छन्। माथिबाट खसेको पहिरोले घर पूर्ण रूपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिए।

घरभित्र पुरिएका दुवैको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ । घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ।

मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छैनन् । घरमाथिबाट खसेको पहिरोले आमाछोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको पन्तले बताए । 

एजेन्सी