सुर्मा देबी बिरिजातः बझाङकै प्रसिद्ध मेला


लेखापढी      २३ श्रावण २०७७, शुक्रबार २०:३७

सुर्मा देबी बिरिजातः बझाङकै प्रसिद्ध मेला

सुदूरपश्चिमकै पहाडि जिल्ला बझाङकै प्रसिद्ध बिरिजात मेला सम्पन्न भइसकेकाे   छ । द्वादशीका दिन बझाङ जिल्लाकै सबैभन्दा ठुलो धार्मिक सुर्मा देबी बिरिजात मेला सुरु भएर त्रियोदशिका दिनसम्म लाग्ने गर्दछ । श्रावण पहिलो औँसीबाट सुरु भएर जनैपूर्णिमाका दिन समापन हुने गर्दछ ।

स्थानीयहरू ठूलो जमातमा विभिन्न किसिमका खेलहरू खेल्दै, ढाँका नाँच नाच्दै, ढुस्का गीतहरू गाउँदै तथा धामीझाँक्री काम्दै सुर्मा सरोवर स्नानका लागि हिँडेका गर्दछन् । बिरिजात बझाङको धार्मिक महत्वको पर्व हाे । विषेशतः सुर्मादेवी भगवती माताको लामो समयसम्म पूजाआराधना गरी मेला मनाउने परम्परा रहेको छ। यस मेलामा तीर्थ यात्रीहरू बाजुरा लगायतका पहाडी जिल्लाहरूबाट पनि आउने गर्दछन् ।

याे पर्व सँगसँगै सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा रहेको सुर्मासरोवर ताल धार्मिक एवं पर्यटकीय क्षेत्रका दृष्टिकोणले निकै महत्वपूर्ण रहेकाे छ । सुर्मा सरोबर ताल प्राकृतिक छटाले भरिपुर्ण ताल हो । सुर्मा गाउपलिका देखि सुर्मा सरोबर सम्मको पदयात्रा समेत रमणीय छ । प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरको समिश्रण रहेको यस पदयात्राका बिभिन्न गुफा, ताल तलैया, भुइँ फूलहरुले यस पदयात्राको महत्व बढाएको छ ।

सुर्मा सरोबर ताल प्राकृतिक छटाले भरिपुर्ण ताल हो । सुर्मा गाउपलिका देखि सुर्मा सरोबरसम्मको पदयात्रा समेत रमणीय छ ।

विरिजात मेलाकाे कथा – थारको भेषमा बिस्कुन खान पुगेको सुर्मा माताको कथा 

सुर्माले अपि सैपालको काखमा रहेको अति स्वच्छ सुन्दर महादेवको सम्झनामा चार वटा रौलेश्वरको बीचमा पर्ने बझाङको सुर्मा ताललाई रोजि सर्बप्रथम आफ्नो आलिपाली लिन खोरी घट्टे गाउँमा थारको भेषमा बिस्कुन खान पुगे ।

त्यतिवेला खोरी घट्टे गाउँका सम्पुर्ण मानिस सिकार खेल्न बनमा जान्थे रे, खोरी घट्टे गाउँको उत्तर पट्टी छबिस पाथिभेरा गा.पा. ७ बुडखोरी गाउँबाट आएर थारले बिस्कुन खाएर जान्छ तिमि भने कहाँ पो शिकार खेल्न जान्छौं । यदि तपाईहरुमा मार्दको ईमान मर्यादा भएमा भोलि नै मिर्ग खेद्न जाउ नत्र हाम्रो गुन्यु चोली तपाईहरु पहिरनु तपाईहरुको झगुला पागडा (पुरुषले लगाउने कपडा) हामी पहिरन्छौ हामी जान्छौं भन्दा खोरेल घट्टेल्लीको वचन छातिमा लागेर भोलि बिहान नै कुकुरमा घाँडो लगाई भुतेमा डोरी लागाई खोरी घट्टे गाउँको उत्तर पट्टी जडे भन्ने ठाउँको वरिपरि हेर्दा निगालाको झाङ भित्र सोह्र बहिनी मध्ये कान्छी बहिनी सुर्मा देबीको अवतार भएको देखेर खोरी घट्टे गाउँबाट आएका शिकारीहरुले अचम्म मान्दै दर्शन गरे ।  अवतार भएको माताजीले भने म तपाईंहरुको पालिकी सुर्मा देबी हुँ भन्दै आफ्नो कम्मरको पटुका फुकाएर खोरेल र घट्टेल बाजेको कम्मरमा बाधी तपाईंहरु नास भए म नास, म नास भए तपाईहरु नास भन्ने उपदेश दिएर माताले भने म मृर्गको भेषको रुपमा आफ्नो आलिपाली लिएर जान्छु मेरो साथ नछोड्नु भन्दै अहिलेको छबिस पाथिभेरा गा.पा. ७ बुडखोरीको पौडी बाट प्रस्थान गर्यो ।

खोरेल घट्टेल्लीको वचन छातिमा लागेर भोलि बिहान नै कुकुरमा घाँडो लगाई भुतेमा डोरी लागाई खोरी घट्टे गाउँको उत्तर पट्टी जडे भन्ने ठाउँको वरिपरि हेर्दा निगालाको झाङ भित्र सोह्र बहिनी मध्ये कान्छी बहिनी सुर्मा देबीको अवतार भएको देखेर खोरी घट्टे गाउँबाट आएका शिकारीहरुले अचम्म मान्दै दर्शन गरे ।

अहिले त्यस ठाउँमा साउन पुर्णिामाको दिन ठूलो मेला लाग्छ । त्यहाँबाट थार रुपधारी मृर्ग मजखोरी भएर थार घट्टे गाउको तल रगे मण्डेलले चौको चिनेको खोलादेली चौटाला हुँदै थार खोज भन्ने ठाउँमा आयो । त्यस ठाउँमा आफ्नो चिनारीको रुपमा खुट्टाको खोज, र सुन जुतो दिशा गरेकोले, अहिले सम्म त्यस ठाउँमा मन्दिरमा पुजा आगा गर्ने गर्दछन । त्यहाबाट खोरी गाउँमाआफुले बिस्कुन खाएको चौतारोमा पुगेछन । त्यहाँबाट ल्वाडाको ठेउकामा थारको भेषमा पुगेछ । सैन रोकाय गाउँ, उन्जाडा, बिजाडा, मौलाली, भएर आधा घर चिनेको जुजि रोकायाको, घरमा बुरकी खेलेछ।

लेखक विरिजात मेलामा ढाकाे बजाउँदै

बुरकी खेलेकोले अहिले सम्म त्यस घर भित्र देवाली (धामी काप्ने) गर्ने चलन छ । त्यहाँबाट थार गुरेल्थम, छल, परिङ्गाल,सुबेडा, देवल,चैनपुरमा पुगेछ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा देबि थान रहेको छ । त्यस मन्दिरमा असोज कार्तिक महिनामा ठुलो मेला लाग्दछ। त्यहाँबाट थार खेतकोट, गएर आफ्नो स्वरुप बदलेछ । त्यहाँ गरिब खड्काकी खड्केनीको घरमा बाँस बस्दा बिहानै खड्केनिले यस्तो अवस्था देखेछन ।

गीतमा कथा
# छकालै न्याउली खड्की बाहिर आईछ ।
हैन हेर सुरु खड्का बाहिर आउन। ।
# आज मैले अचम्मै देख्या ।
बाह बर्ष थाडी गाई गोठमुनी ब्याईछ। ।
# सधैकि अमिला भाडी सुकी झराझर ।
आजकी अमिला भाडी पाँकि पहेलीपुर । ।
# अब तिमी न्याउली खड्की लिपि घसी हेल ।
चारै कुना चारै दिशा दिया बाली हेल । ।

कपडाले बाटो छाेपी भित्र लिईछ २/३ दिन सम्म सुर्मा देबी त्यहीँ बसिन । त्यहाँबाट सुर्मा देबी थारको भेषमा सेलाखेत भएर आफ्नो भाइ मस्टा भेट्न बान्निको कुमडा भन्ने ठाउँमा गए । त्यो ठाउँमा मस्टाले आफ्नो बहिनी भेट्न गएकोले बान्निकोटका कान्छी परिवार, त्यहाँको चैतली मेला लाग्ने आधा चौर, भुमी सहित दाइजो दिई मोतई, मुम्ल्याल लाई , पनि दाइजो दिए भन्ने किम्बदन्ती रहेको छ । त्यहाँबाट थार मोत्याल, मुम्ल्याल, बान्निकोटा, पालिको रुपमा लिई अगाडि बढेछन । छबिस पाथिभेरा ३ कुमडा भन्ने ठाउँ सम्म खोरेल बोराको बाजे र घट्टेल मण्डेल बाजे सङै गएका थिए ।

खोरिका बाजे बोहरा कुमडाबाट घर फर्केर आएको भन्ने किम्बदन्ती बुढा पाकाबाट सुनिएको पाईन्छ । थार अगाडि बड्छ मन्डी गाउमा घट्टे गाउँको साग भाइ मण्डेल (रावल) थार सङ्ग गएको देखेर एक्कासी यस्तो शब्द मुखमा आएछ।

# हातकी बाउसी त्यही पर झाउसी ।
साग मण्डेल लाग्यो पाथ भाइ मण्डेल लाग्यो साथ । ।

भन्दै त्यो मण्डेल पनि पछि पछि लागेछ । त्यहाँबाट थार धौलनाउ, धामिलेख, पिठाल्लेख, बारिल्ल, घोगाडा, पटिउरी, काटै, दौलिचौर,दौताला, हुँदै थकुनाडा पाङ्गजडी, हालको सुर्मा गा.पा. ४ मा सुर्मा माता पुगेछन । आफुले थली बाट ल्याएको पाङ्गरको रुख रोप्यो र प्रर्बतमा बाण हानेर पानी निकाल्यो भन्ने किम्बदन्ती रहि आएको पाईन्छ । सुर्मा गा.पा. ४ मा साउने पुर्णिामा एकादशीका दिन रतेडीर खोरी घट्टे गाउँमा उबासु भनेर पुजा आराधना गरिन्छ ।

त्यहाँबाट थारले आफ्नो चोखो/ शुद्ध धर्ती हिमाल तर्फ पाईला टेक्दै घुम्तिलिमा घुम्दै थार अगाडि बड्यो । घोगाडीको बाजेले भुत्याले हानेर थार लोटाएकोले त्यस ठाँउको नाम लोटनी राखिएको हो भन्ने भनाई रहिआएको छ ।

विश्वास

अहिले त्यस ठाउँमा नयाँ यात्रु वर माग्ने मानिसले त्यस ठाउँमा पल्टेर लोट्ने चलन छ। थकुन्नाडाबाट सुर्मा सरोबर जाने यात्रुको लागि अन्नि प्रुर्याउन जाने महिलालाई पनि आफुले खोजेको रोजेको, वर माग्न मनमा रहेको भवना पोख्दै त्यहाँसम्म जाने पल्टने चलन अहिले सम्म पर पुर्ब काल देखि चली आएको छ । आफुले चिताएको वर खोज्न त्रियोदशिका दिन माथी सुर्मा सरोबर बाट आउने यात्रु सङग भावना राख्ने कसैले सोधपुछ गर्यो भने आउदै छ भन्यो भने सोचेको पूरा हुने किम्बदन्ती र जनबिस्वास रहि आएको छ । त्यहाँबाट पानी खाने ढुङ्गा, सासातुटुङ्गे, भएर नाचनीमा गएर थार नाचेकोले खोरेल र घट्टेलले नयाँ यात्रुलाई काधमा राखी चह चह भनी नचाई फुर्को (नचाए बफतको दक्षिणा) लिने चलन छ । त्यहाँबाट बाउन्ने वडार, मधु खरक, बुढी बिनायकमा पुग्यो । बुढी बिनायकमा पुग्दा थार ज्यादै थाकेकोले २ दिन सम्म त्यही दिन आफ्नो गर्भबाट धल्देउ देवताको जन्म भएको किम्बदन्ती छ। त्यहाबाट अगौठे, हिउँमा हिडेर जाने ठाउँको नाम हिमखेत चादी जस्तो टल्कने हिमाल चादेशिखर भएर अगाडि बढ्नु पर्छ । बुढाबिनाएकमा धौल्देउको धामी चलेपछि (कापेपछी) प्रहिला घट्ट्याल मण्डेलको काधमा लाग्ने गर्दछ । त्यो चलन अहिले सम्मचली आएको छ ।

थकुन्नाडाबाट सुर्मा सरोबर जाने यात्रुको लागि अन्नि प्रुर्याउन जाने महिलालाई पनि आफुले खोजेको रोजेको, वर माग्न मनमा रहेको भवना पोख्दै त्यहाँसम्म जाने पल्टने चलन अहिले सम्म पर पुर्ब काल देखि चली आएको छ ।

त्यहीँबाट जलजला जहाँ थारले फलेको हुनाले अहिले सम्म हिंड्दा खेरी हल्लिने गर्दछ । आफ्नो तलाउको प्रवेश द्रारको रुपमा देल्ठेला तिर्काएको अएडीले पानी खाएको ठाउँको नाम बिरपानी आन्नबालिको भावना टिप्ने प्रसादको रुपमा आहिलेसम्म लागाउने गौरिधान, समथल फराकिलो भु- भाग गोपी चउर, राखी रुप धारी थार तलाउमा (कुण्डमा ) प्रवेश गर्यो । जसको नाम पछि सुर्मा सरोबरको नामले संसार भरी चिनिदै आएको छ । त्यहाँ तलाउमा प्रवेश गरिसके पछि थार नरहेर सोह्र बहिनी मध्ये कान्छी बहिनी सुर्मा देबी आफ्नो अवतार लिएर आफ्नो रुप लिई सबै शिकारीहरुलाई तपाईंहरु मेरा आली पाली भया भनेर अर्ति उपदेश दिएर प्रत्येक बर्ष सुर्मा सरोवर आउनु भनेर उपदेश दिई धन्यवाद दिएका थिए भन्ने किम्बदन्नी रहि आएको छ ।

बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातिय मुलूक नेपालका सांस्कृतिक धराेहर मध्ये सुर्मा सराेबर पनि धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हाे । हामी जति सांस्कृतिक रूपमा सुसम्पन्न भएता पनि वर्तमान समयमा यस प्रकारका धार्मिक पाैराणिक महत्वका मेला, पर्वहरू विस्तारै विस्तारै हराउँदै गइरहेका छन् । यस तर्फ स्थानीय सरकार र प्रदेश सरकारका साथै केन्द्रीय सरकारकाे ध्यानाकर्षण हुनु जरूरी छ ।  देशकाे अार्थिक विकासका लागि समेत यस प्रकारका पर्टकीय स्थलहरूलाइ विकास गर्नु अावश्यक रहेकाे छ । अवश्य पनि भविश्यमा यस प्रकारका जात्रा, पर्व र पर्यटकीय स्थानहरूकाे संरक्षण र सम्बर्धनमा स्थानीय सरकारकाे ध्यान जानेछ भन्ने विश्वास लिएका छाैं । 


मीनबहादुर मण्डेल
बझांग (लेखक पेशाले शिक्षक हुनुहुन्छ र यसका साथै नेपाली कला र संस्कृतिकाे अनुसन्धानकर्ता समेत हुन्  र यस लेखापढीका नियमित स्तम्भकार समेत हुन।)


हामीलाई तपाईहरुका अनुभव, सिर्जना र विचारका साथै कुनै पनि सत्य तथ्य घट्नाका बारेमा लेखी पठाउने ठेगाना: lekhapadhee@gmail.com