आज गाईजात्रा !! (गाईजात्रा मनाउनुको कथा पढ्नुहोस) :


लेखापढी      २२ श्रावण २०७७, बिहीबार ०४:०८

आज गाईजात्रा !! (गाईजात्रा मनाउनुको कथा पढ्नुहोस) :

श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ काठमाडौँ उपत्यकामा मनाइन्छ |
गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ। यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरका साथै देशका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ।
गाइजात्रा पर्व एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्पराका लागि विख्यात छ । मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्राका सम्बन्धमा विभिन्न भनाइ प्रचलित भए पनि राजा प्रताप मल्लसँग जोडिएको प्रसङ्ग भने बढी चर्चामा छ। मल्लको पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन्। लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजा मल्लले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए। यो देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने भनाइ छ।

राजा मल्लले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भन्ने आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ। यो चलन चलाउँदा पनि रानी पूर्णरुपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने विश्वास छ।

राजा मल्लकी रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट लैजान सुरु गरिएको काठमाडाँैका मानिसका गाईजात्रा अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै लैजाने चलन कायम रहेको छ।
#www.lekhapadhee.com
#lekhapadhee@gmail.com