मेलम्ची सुरुङ्ग फुटेर निधन इन्जिनियर सतिस गोइतलाई शहीद घोषणा गर्न माग


लेखापढी      २ श्रावण २०७७, शुक्रबार २०:३६

मेलम्ची सुरुङ्ग फुटेर निधन इन्जिनियर सतिस गोइतलाई शहीद घोषणा गर्न माग

मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर सतिस गोइतलाई शहीद घोषणा माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ।

मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षण क्रममा तीव्र गतिमा आएको पानीले बगाउँदा निधन भएका धनुषाका इन्जिनियर सतिस गोइतलाई शहीद घोषणा गर्न जनकपुरधामका युवाहरूले शुक्रबार केन्द्र सरकार र खानेपानी मन्त्री बिना मगरविरूद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

जनकपुरधामस्थित भानुचोकमा शुक्रबार दिउँसो युवाहरूले  ओली सरकार मुर्दावाद, खानेपानी मन्त्री मगर मुर्दावाद, इन्जिनियरलाई मोहरा बनाउन पाइँदैन, सतिसलाई शहीद घोषणा गर, पीडित परिवारलाई क्षतिपूर्ति देऊजस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन्।

मंगलबार मेलम्ची खानेपानीको सुरूङमार्गको ढोका अचानक खुल्दा तीव्र गतिमा आएको पानीले बगाउँदा धनुषा जिल्ला कमला नगरपालिकाका ५ घर भएका इन्जिनियर सतिस गोइत बेपत्ता भएका थिए। उनको शव बुधबार फेला परेको थियो।