देश रोईरहेको छ: पिडा र दु:ख ब्यक्त्त कहिले सम्म ? हुकुम बक्स्योस


लेखापढी      ३० असार २०७७, मंगलवार ०६:५८

देश रोईरहेको छ: पिडा र दु:ख ब्यक्त्त कहिले सम्म ? हुकुम बक्स्योस

“भालुलाई पुराण पढाए झैं” भयो कि सरकार? हुकूम ! हामी समस्या औल्याईरहेका मात्रै त छैनौ ?
माफ पाउँ सरकार !! अलि बढी चनाखो भएर मौसुफमा जाहेरी गर्या जस्तो भएछ !!
तर चाप्लुसि र चाकरिवाजक‍ो झुण्डमा राज भएर मिठा-मिठा तर्क र कालोलाई सेतै हो भन्दै कुतर्क श्रवण गरि मजा लिईबक्सने प्रभुलाई हाम्रा कुरा नमिठा लाग्न सक्छ ।

जनता रोईरहेका छन, देश छिमेकिको राजनैतिक चक्रब्यूहमा परेको छ, नेताहरु आर्थिक प्रलोभनमा बिक्रि भएको आभास हुन्छ, के मौसुफको कोरा विज्ञप्तिले समाधान हुन्छ ? त्यो त्याग र धैर्यताको समय तोडियोस सरकार । देश भित्रको निरन्तर भ्रमण सवारि हुदा जनता रोएको आशु स्मरणमा रहोस ।

इतिहास देखि चलि आएको प्रथा “दरबारमा सेवा गर्नु भन्दा चाप्लुसी गर्न पर्छ” भन्ने भनाइ स्मरणमा खेल्दैछ । सायद फगत गलत तथ्य हो वा बुझाईमा फरक पर्यो । यो बुझ्न गार्हो भयो । 

एउटा पुरानो उखान स्मरण गरे - "दरबार तथा तरवार देखि टाढै रहनु तथा राजाको अघि र घोडाको पछि कहिले नलाग्नु"

तर पनि धेरै सजक भएर हिंड्ने प्रयासरत छौँ। यथार्थमा नियाल्दा राम्रो काम जति चाकरिवाज र चाप्लुसेहरु आफुले गरेको भन्छन र नराम्रा काम जति तितो बोल्नेको उपर तेर्साईन्छन। हुन त, ईतिहासमा भिमसेन थापा र शाह बंसका बंशज “बहादुर शाह” जस्ता ईतिहासका हिर‍ो र भारदार जो ज्ञात-अज्ञात शहिद भए, दरबारकै कु-दृष्टिमा अनायासै ज्यान गुमाउनेमा परेका थिए । ईतिहास देखि चलनमा आएको प्रथा दरबारलाई रिस उठेमा, आफ्नो कुरा बाङ्गै भएता पनि लैमा लै वा हो मा हो नमिलाएमा कि त चोर दोष लगाईन्छ, कि देशद्रोहिको लान्छना लगाईन्छ कि त गद्वि ताकको दोष लगाईन्छ, कि अनेक लान्छना लगाई भारदारलाई बेईज्जत गरिन्छ कि छप्काउन लगाईन्छ।

रिसानी माफ प्रभु! हामी सेवकले सरकारलाई मिठै कुरा मात्रै मन पर्छ होला भन्ने सोच्ने दुस्साहस गर्यौं शायद। थाहा पाईएन कि सरकार! नजिकबाट नियाल्ने हाम्रो क्षमता भएन होला।  प्रभु! तर तिता कुरा अत्यन्तै लाभदायक हुन्छन। कालान्तरमा यसले अचुक औषधीको काम गर्छ भन्ने ठम्याई छ। दौडधुप, समयमा खान्कि नमिल्नाले चिनी रोगले छोएपछि सबै मिठा कुरा छोडेर तिता कुरा रऔषधि सेवनले गर्दा बल्ल य‍ो कुराको अबगत भयो। धन्न चिनी रोगलाई कन्ट्रोल गरें नत्र सिधै भगवानको प्यारो हुने स्थितिमा भईसकेको थिएँ।

माफि प्रभु! उपाय नभए पछि जाहेरी गर्न ईच्छा जागेर आयो। सामाजिक सञ्जालमा आदेश मागेर कुरिरहुञ्जेल खोलामा पानी धेरै बग्ने होकि भन्ठानि केही शब्द राख्ने दुस्साहस गरें। रिसानी माफ सरकार! बहकेर निजी कुरा राख्ने कुचेष्टा भयो। सरकार समय अनुरुप हामीले यो भएन त्यो भएन भन्यौं, समस्या मात्रै औंलायौं, दुखेसो मात्रै गर्यौं, सुझाव दिईरह्यौं, भावनामा बगिरह्यौं, कविता कोरिरह्यौं, लेख पनि लेखिरह्यौं, राष्ट्रियता र देशभक्ति दर्शाईरह्यौं, सायद भालुलाई पुराण मात्रै सुनाए जस्तो पो भएको हो कि ?
 

हे देव ! जनताले बुझेका कतै कोरा राष्ट्रियता र फगतका देशभक्ति देखाएर मात्रै केही लछारपटार लाग्दैन भन्ने कुरामा कुनै हेक्का राख्ने चेष्टा गरेनौं कि? प्रभु! सरकारको भावना झैं सेवक तथा अन्य देशभक्त र राष्ट्रभक्तले पनि कोरा कागजमा भावना व्यक्त गरिरहेकै हुन्छन् तर उसको हातमा सहि र सापक्ष निर्देशन गर्ने शक्ति हुन्न भन्ने बल्ल बुझ्न थालेका छौं।


जब यो सेवक २०६० सालमा बिदेशबाट त्यो पनि पृथ्वी कै साक्षत स्वर्ग जस्तै स्विजरल्याण्ड भन्ने देशबाट फर्किएँ, बिदेशको शान, शौकत, आकर्षक तलब (अहिले तलब सम्झे जिब्रै टोक्न पर्छ, शायद अहिले घर गृहस्थको दुखसँग झेल्नु परेकोले होला कि) र उतै बस्ने सुबिधा त्यागेर मुलुक र राजमुकुट धर्मको लागि केही ठोस कदम चाल्छु भनेर फर्किएँ। (यसो भन्दै गर्दा म जस्ता व्यक्ति कैयौं होलान् म मात्रै छु भनेर दाबि पनि गरेको छुईन सरकार)। नेपालको बसाई पछि कैयौं उतारचढाव झेल्दै २०६२/ २०६३को आन्दोलन पछि सरकारहरूको भ्रमणमा सरिक भयौं। त्यो सबै रमाइलो र एउटा रोमान्चित जिवनको लागि कदापि थिएन। मुलुकमा राज मुकुट नहुँदा के कस्तो असर पर्छ र देश कसरी बर्वाद हुन्छ भन्ने आँकलनका साथ लागेका थियौं।

“हुकूम! सरकारको ढृढ संकल्प र ईच्छा शक्तिको अपार भण्डार नै छ जस्तो लाग्छ हामी निमुखा जनतालाई। सरकारको जस्तो त्याग त केवल भगवान बुद्वले गर्न सक्छ कि त एउटा घर जन तथा सम्पुर्ण परिवार छोडि नव चोला धारण गरि शाश्वत रूपको योगीले मात्र गर्न सक्छ । मौसुफ़को देश र जनता प्रति निश्चल भावनाको साथ तपस्या पनि देखेका छौं। तर प्रभुको यो भावना मात्रै आउनुले केही सहि दिशा निर्देश गर्छ जस्तो सेवकलाई पटक्कै लागेन। प्रभु! यस देशको र वैदिक सनातनको अभिभावक हजुर होईबक्सन्छ। तर कहिले ठोस कदम र ठोस निर्णय हामीले भोग्न पाएनौं। कि हामीले यस जनममा भोग्नै नपाउने त होइन भन्नेमा दुबिधा हुन लागि सक्यो र अब हामीले भोग्न पाउँदैनौ कि भन्ने चिन्ता बढ्न थाल्यो।

भ्रमण शुरूवात गर्दा प्राय: सबैलाई माओबादिले मार्छ, अबको शासन पद्धतिले च्यापेर गाह्रो पार्छ भन्दै टाढा बस्ने र दरबारबाट लाभान्वितहरू नै पुरातनवादी ट्याग लगाई सिद्वाउँछ भन्दै डरले थुरथुर हुन्थे। तर हामी घरपरिवारको आशिर्वादका साथ जीवन हत्केलामा राखेर अभियानमा होमियौ। दरबारनिकट व्यक्ति मार्फत “हिमानी ट्रष्ट” खोल्न सुझायौं र निरन्तरता दियौं, यसको लेखाजोखा ईतिहासले नै गर्नेछ। बिरगंज युवराज पारसको सवारी गर्न योजना गर्दै अनेक तामझाम गर्यौं र बिरगंज सवारी गर्न अग्रसर भयौं। बिडम्वना! केहि स्वार्थि अराजक समूहबाट निजी गाडी तोडफोड भएकोमा क्षति सहनु पर्यो,  हाल मनन गर्न बाध्य हुन्छौं “दुख पायौ मंगले आफ्नै ढङ्गले”। भोकप्यास, अभाव, गर्मी , झरि नभनि सबै लागे। कैंयौं अभियान, अनगिन्ती सवारी, ठाउँ ठाउँमा प्रशिक्षण चलायौं आर्थिक अभावले केही दुख भएपनि साथीभाईमा एक किसिमको उर्जा थियो। बिराटनगर भ्रमण सवारिबाट फर्किंदा पहिरोमा परि झण्डै दश जना एकै चिहान परेको व्यथा अर्कै छ। यो गुनासो भन्दा पनि तत्कालिन समयका घटना वा अबिश्मरणीय क्षण मानसपटलमा घुमिरहेकोले स्वतन्त्रपुर्बक पोख्न चाहे ।

दरबार निकट रहेका हामीलाई अरूले आर्थिक रूपले मोजमस्ति गरे होलान सोच्थे तर धरातलिय यथार्थ अर्कै छ । दरबार निकट भएर लागेका भाइ भारदारहरूको आफ्नै गुनासो छ, दरबारको पछि लाग्दा रोडपति भईन्छ भन्ने परिस्थितिको सामना गरका छौ। स्व.दामोदर समशेरलाई नचिन्ने सायद यो मुलुकमा कमै नेतागण छन, अन्ततोगत्वा उनक‍ो मरणोपरान्त फोहोरा दरबार नै माटोमा बिलिन भएको सबैले बुझेकै होला। उहाको पुत्रलाई बुवा दामोदर समशेरको बिंडो थाम्न पर्छ, अगाडि बढ्न पर्यो भनेर आग्रह गर्यो भने आफ्नै दुखेसो सुनाउँछन्, बियोगान्त कथा लिएर।
यस्तै रहेछ यहाँको चलन भनेर नै मुलुक र मुकुटको लागि दिलोज्यान दिन पर्छ भन्ने भावना लिएर लाग्न पर्दछ भन्ने उर्जा अझै मरेको छैन। तर एउटा गुनासो लिएर बिचार मार्फत सरकारको जुनाफमा राख्ने धृष्टता गरें। सरकार! सेवकलाई हुकूम हुन पर्यो के मौसुफले हामीलाई सेवक मानिबक्सन्न ? र नमानिबक्सेमा पनि अन्यथा लिने छैन। तर सरकार! सुझाव टक्र्याउने कुचेष्टा गरें ।

ट्विटर र फेसबुकमा पीडा र दु:ख पोखिबक्सँदैमा केही जादू हुन्छ झैं लाग्दैन। प्रभुको गुनासो हामीले धेरै चोटि मनन गरिसक्यौं। जादुको छडी त केवल जनतासँग मात्रै छ र नासो जनताले जतनसँग राखेका छन्। जनतालाई केवल एउटा शसक्त नेतृत्त्वकर्ताको खाँचो छ। सरकारले हामीलाई उचित लाग्ने, जनतालाई मान्य हुने, उत्कृष्ट, स्वतन्त्र, ईतिहास बुझेका, जनताको मनमा बसेको, सफल, नैतिकवान, सबैको प्यारो, संस्कार र संस्कृति बुझेका, सभ्यता मनन गरेका, राष्ट्रिय पहिचान प्रति अडिक, देश प्रति बफादार, शिक्षाविद, नेपाललाई पुर्ण स्वतन्त्रता दिलाउने निडर नेत्रित्त्वकर्ता बकस्योस र हामीलाई उत्कृष्ट निर्देशन बक्स्योस। हामी सरकारबाट यहि नै आशारत छौं।

हुकूम शिरोपर सरकार! सरकारले भेटिबक्सेका मानिसहरू कतिको ल्याकत भएका, सबल र सक्षम मान्छे छन् भन्ने कुरा त अब हामीले पनि बुझ्ने भईसक्यौं। कसलाई नेतृत्व मान्न पर्छ र कसको नेतृत्वमा जनता र देशले निकास पाउँछ तथा कसको नेतृत्वले अन्तराष्ट्रिय छबिमा दखल राख्दछ भन्ने हामी निमुखा जनता बुझ्ने भईसक्यौं। जनतालाई भेटिबक्सेर सुझाव लिई बक्सेको मान्छेमा हामीले पनि गर्ब सकौं।

यति ईति बृतान्त जाहेर गर्दै सेवक आवेसमा आएर राख्यो, उत्तेजित भएर राख्यो वा अत्तालियो होला नठानिबक्सेला साथै सेवकको तिता कुरा नादान मानि माफ गरिबक्सन्छ भन्ने मनशाय राख्दै सरकारको जुनाफमा यो बिन्ती बिचार टक्र्याउन चाहन्छु। ईति ! ॐ !!



मौसुफ सरकारको अनन्य भक्त तथा सेवक
सोम बिक्रम सिंह 

(लेखक स्वाभिमानी  कर्मनिष्ठ अभियन्ता” एबं “राष्ट्रिय सरोकार मञ्च नेपाल” का केन्द्रिय अध्यक्ष हुनुहुन्छ)
“उपर्युक्त्त बिचार उहाँका स्वतन्त्र अभिव्यक्ति हुन ।”


“Thank you for your valuable time”
www.lekhapadhee.com
हजुरहरुका अमुल्य लेख- रचना हामीलाई इमेल गर्नुहोस :-  lekhapadhee@gmail.com