भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गर्याेः प्रधानमन्त्री (भिडियाे)


लेखापढी      ३० असार २०७७, मंगलवार ०७:१२

भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गर्याेः प्रधानमन्त्री (भिडियाे)

३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको र तथ्यहरुमा अतिक्रमण भएको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्‍जदेखि पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका छन् ।

 

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताए । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौ‌ं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्या रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो ।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरे । त्यो समयमा कुनै सञ्चार सुविधा बिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो ।

उनले भने,’यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन । नजिकै पर्थ्‍यो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् ।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको बताए । एजेन्सी