लोक सेवा आयोगकै एक अधिकृतले छोरीलाई परीक्षा पास गराउन खाेज्दा


लेखापढी      २९ असार २०७७, सोमबार ०९:१६

लोक सेवा आयोगकै एक अधिकृतले छोरीलाई परीक्षा पास गराउन खाेज्दा
२९ असार, काठमाडौं । लोक सेवा आयोगकै एक अधिकृतले छोरीलाई परीक्षा पास गराउन कोडिङमै चलाखीपूर्ण चलखेल गरेकाे खुलेकाे  छ । उनलेआफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको पाइएकाे हाे ।
यसरी उत्तरै फेरबदल गरेको पाइएपछि लोक सेवा आयोगले उनलाई कारबाहीको तयारी गरेको छ ।
 
सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको खुलेको हो ।

हाल मिमबहादुर शाहीलाई दरखास्त व्यवस्थापन शाखामा पठाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी गरिएको छ । उनकी छोरीको भने उत्तर पुस्तिका रद्द गरिएको छ । आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो ।

आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले अनलाइनखबरसँग भने, ‘सचिवबाट कारबाहीको प्रस्ताव आयोगमा आइसकेको छ । अब छिट्टै निर्णय हुन्छ ।’

कर्णाली शाही (परिवर्तिन नाम) नेपाल वायुसेवा निगमको सहायक चौथो तहको परीक्षा दिन २०७६ जेठ ११ मा परीक्षा केन्द्र पुगिन् । वस्तुगत परीक्षाको उत्तरपुस्तिकामा सबै प्रश्नको उत्तर अंग्रेजी ‘सी’ लेखिन् र बाहिर निस्किइन् । उनलाई सबै प्रश्नको उत्तर ‘सी’ लेख्न उनकै बुबा मिमबहादुर शाहीले सल्लाह दिएका थिए । 

नतिजा प्रकाशन हुँदा उनकी छोरीको वस्तुगत परीक्षाको ५० वटै प्रश्नको उत्तर मिल्यो । अन्तिम नतिजा प्रकाशनको निर्णय गर्नुअघि उनकी छोरीको नाम एक नम्बरमा थियो । उनको प्राप्ताङ्क अस्वाभाविक लागेर सचिव आनन्दराज ढकालले पुनः छानबिन गर्न निर्देशन दिए । छानबिन गर्दा बाबुले नै उत्तर लेखिदिएर पास गराउन खोजेको खुलेको हो । विधि विज्ञान प्रयोगशालाले पनि उत्तरपुस्तिका सच्याएको प्रमाणित गरेको छ। एजेन्सी (कान्तिपुर र अनलाइनखबरमा प्रकाशित)


लेखापढी