कोरोना संक्रमण मुक्त हुदा पनि सामाजिक ब्यबहारमा भेदभाव किन ?


लेखापढी      २९ असार २०७७, सोमबार १८:११

कोरोना संक्रमण मुक्त हुदा पनि सामाजिक ब्यबहारमा भेदभाव किन ?

विश्वभर फैलिएको कोभिड-१९ आफैमा एउटा महामारी हो । कति बेला कसलाई कोरोना पोजेटिभ देखिने हो थाहा नै छैन, तर कोरोना सक्रमणबाट निको भएर गाँउ-घर फर्किएकाहरुको पिडाको कथा सुन्दा सामाजिक मनोबैज्ञानिक महामारीले झन ग्रस्त पारेको भान् हुन्छ । विश्व भर र नेपालमा पनि डब्लुएचओको डाटा हेर्दा कोरोना संक्रमणलाई जितेर घर फर्कीनेको संख्या उच्च छ । 

कोरोना संक्रमण हुदैमा मरिहाल्दैन वा अरुलाई सरे पनि समयमै सावधानी अपनायो भने निको हुन्छ भन्ने खालको सकरात्मक सन्देश फैलाउनु पर्ने देखिन्छ । कोरोनाको हाउगुजी नेपाली समाजमा फरक-फरक स्वरुमा फैलिएको छ । जसले गर्दा मानिसहरु कोरोना भए के गर्ने ? मरियो भने समाजले बचेका परिवारलाई के गर्ला ? के भन्लान्  ? मेरो कृया-कर्म र सदगद पनि राम्रो संग नहुने होला भन्ने अनेक किसिमका मानसिक भयले नराम्रो संग गाँजेको छ ।

यस्तै काठमाडौं उपत्यकाको एउटा घटना मैले छोट्करीमा तल प्रस्तुत गरेको छु । मुलुकको राजधानी जस्तो शहरको शिक्षित वातावरणमा रहेकी स्वास्थकर्मी माथिको अवस्था यस्तो छ भने गाँउका दुर-दराजमा अल्पज्ञानी र कम शिक्षित समुदायका मानिसमा के-कस्तो अवस्था होला ? हामी कल्पना मात्र गर्न सक्छौं । त्यसैले समुदायमा कोरोना महामारीलाई अत्यन्तै भयावहको रुप तथा अवस्थामा उजाल्ने काम नगरौं र कोरोना संक्रमणबाट निको भएर गाँउ-घरमा फर्किएकालाई राम्रो, सभ्य अर्थात पहिलेकै जस्तो सामाजिक व्यवहार गरौं, अन्यथा यो अवस्था समाजमा यथावत रहे कोरोना भन्दा महामारीको रुपमा प्रती उत्पादक हुने ठुलो सम्भावना छ । 

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका – ८ लुभुकी एक युवती काठमाडौं बल्खुस्थित वयोधा अस्पतालको ल्याब टेक्निसियन हुन् । उनले अस्पतालमा काम सुरु गरेको १२ दिन मात्रै भएको थियो । अकस्मात अस्पतालमा १ जना बिरामीलाई कोरोना पुष्टि हुन्छ र अस्पतालले अषाढ १४ गते ३ सय जनाको स्वाब निकाली परिक्षण गर्छ । १७ गते रिपोर्ट आउँदा उनिसहित अन्य तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आउछ । त्यही दिन नै अस्पतालबाट उनलाई बलम्बु स्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा लगेर राखियो ।

९ दिनको बसाइमा दुई पटक पीसीआर गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछी कोरोना मुक्त भएर असार २५ गते ति युवतीलाई अस्पतालकै एम्बुलेन्सले दिउसो करिव ५ बजे तिर घरमा पुर्याइदियो, घरमा सबैलाई देख्नेबित्तिकै उनले पिलपिल आँसु झार्दै निकै भक्कानिन्छिन। आफन्त सबैले उनलाई सम्झाए पछी पनी उनको सुक्क-सुक्क रोकिदैन र केहीबेरको दु:ख गुनासो पछी नुहाएर खाजा खाइन्, परिवारका सदस्यहरू सबै भेला भएर खुसियाली साटे ।  कोरोना मुक्त भएर घरमा आएकी उनको अहिलेको दुखेसो यस्तो छ, म मा कोरोनाको कुनै लक्षण थिएन  तर पनि अस्पतालको पीसीआर रिपोर्ट पोजेटिभ आएपछी ९ दिन आईसोलेसनमा बसे, बरु अहिले पो घरमा आए पछि समाज र साथिभाईले गर्ने व्यवहार बाट हार खाँए, उनले  भनिन् । बाहिर जाऔं भने सबैको छि:छि: दुरदुर छ, घर बाहिर निस्कँदा पनि मलाई देखेर अरू भाग्छन्, के गर्ने ! निकै निरास सब्दमा उनले भन्छिन । म हेल्थ वर्कर हो । फ्रन्टलाइनमा काम गर्नुपर्छ भनेर सबैले प्रोत्साहन दिनुपर्नेमा उल्टै हतोत्साहि बनाइरहेका छन् । सबैले मैले रोग सारेको भन्छन् । मेरो कुरा सुनिदिने कोही भएनन् । मेरो कुरा नबुझी सामाजिक सञ्जालमा जे पायो त्यही कुरा पोस्ट गर्छन् । अस्पतालले टेस्ट गराइदियो । त्यसमा मेरो पोजिटिभ आयो । मेरो के गल्ति छ ? उनले प्रश्न गर्छिन् ।

अस्पताल बस्दा धेरैको फोन आउँथ्यो । १०/१५ दिन अगाडि मैले भेटेकाले पनि मेरो पीसीआर गराइदे भन्थे । जति धेरै संक्रमित भेटिन्छन्, त्यति नै मलाई दोष दिने गरेका छन् । यहाँ अहिले धेरै जनाको पीसीआर गर्न स्वाब निकालिएको छ । उनीहरूमा कोरोना पोजिटिभ आयो भने पनि मलाई दोष दिने होलान भनेर चिन्ता लागीरहेको छ, उनि भन्छीन्  । 
उता आमा, बुबा, दाइलाई आइसोलेसनमा राखेकामा छुट्टै  चिन्ता छ । यता गाँउ-घर, समाज र साथिभाईले गर्ने व्यवहारले कस्तो मन् खिन्न बनाउछ। समुदायबाट मलाई सरेको पनि त हुन सक्छ, उनले भनिन्, मेरो कारणले हो भने वयोधामा ३ सय जनाको पीसीआर गर्दा पेसेन्टसँगको कन्ट्याक्टमा भएका डक्टर/नर्शको नेगेटिभ आएको छ । हाम्रो पोजिटिभ आयो । जबकि म सँगै ल्याबमा काम गर्ने १ जनाको टेकुमा परीक्षण गराउँदा पनि नेगेटिभ आयो ।

यि स्वास्थकर्मी युवती त एउटा प्रतिनीधि पात्र मात्रै हुन् । हाम्रो समाज, गाँउ-घरमा यस्ता विभिन्न कारणले मानिसलाई सामाजिक बहिस्कार गर्ने गरेका घटना धेरै छन् । पछिल्लो समय कोरोना संक्रमित हुन वा संक्रमणलाई जितेर घर फर्कनेहरु नै तिनिहरुलाई समाजले हेर्ने गरेको घृणाको दृस्टी र तिरस्कृत सामाजिक व्यवहारले आत्महत्याको बाटो सम्म रोज्ने गरेका घटना पनी आईरहेका छन् । त्यसैले हामी मानिस यो श्रृष्टीका सर्वश्रेष्ठ प्राणी हौं, हामीले गर्ने व्यवहार पनी उत्कृष्ट र सर्वश्रेष्ठ हुनु पर्दछ भन्ने मेरो मान्यता छ । 
 
सन. १९८१ मा एचआइभी (एड्स) को पत्ता लागे संगै एच. आई. भी. संक्रमित बिरामीलाई सामाजिक बहिस्कार गर्ने परिस्थिति उत्पन्न गरिएको थियो । तत्कालिन समयमा अल्प बिकसित देश सहित बिकसित युरोपियन देशहरुले समेत एड्स हावा बाट, पानि बाट वा छुदा समेत सर्छ भन्ने नकारात्मक प्रचार बाजी चलेको थियो जसका कारण बिरामीहरु रोगले भन्दा सामाजिक ब्यबहार र भेदभावको कारण आत्महत्या गरि मर्नेको संख्या धेरै थियो । हाम्रो सानो ब्याबहर, भेदभावले  आफ़न्तजन, छिमेकि वा अन्य यो परिस्थितिबाट गुज्रन बाध्य नहुन ।
 

मैले यहाँ ध्यानाकर्षण गर्न खोजेको बिषय हो – हामी आधुनिक शिक्षित समाजमा रहेर पनि यस्ता भेदभावपुर्ण ब्याबहार किन गरिरहेका छौ ? कोरोनाको महामारीमा आफ्नो अमुल्य जीवन, घर परिवार नभनी स्वास्थ्य सेवामा लागिरहेका लाखौ स्वास्थ्यकर्मीलाइ अपहेलना, भेदभाव नगरौ ।  महामारीबात उन्मुक्त भइ घर प्रवेश गरेका आफ्ना छर-छिमेकीहरुलाई सामाजिक दुरी कायम गर्दै मानबिय ब्यबहारले हौसला अभिवृद्धि गर्न प्रोत्साहन गरौ ।  बिरामि होस वा अहिलेको महामारीमा दिनरात सेवा प्रदान गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुलाई आबश्यक सहयोग गर्नु हामी सबैको मानबिय धर्म हो ।



बिबेक चन्द ठकुरी 
मध्यपश्चिम नेपाल


“Thank you for your valuable time”
www.lekhapadhee.com
हजुरहरुका अमुल्य लेख- रचना हामीलाई इमेल गर्नुहोस :-  lekhapadhee@gmail.com