भारतीय न्युज च्यानल को दादागिरी किन? (लेखापढी विचार)


लेखापढी      २५ असार २०७७, बिहीबार १५:०३

भारतीय न्युज च्यानल को दादागिरी किन? (लेखापढी विचार)

नेपाल एक स्वतन्त्र सार्बभौम मुलुक हो ।  हाम्रो आफ्नो स्वतन्त्रता अनि सार्बभौम रास्ट्रियता छ । विश्व मानचित्रमा भलै हाम्रो भुगोल सानो होला तर हाम्रो पहिचान, हाम्रो इतिहास, हाम्रो बीरगाथा सानो छैन । 

प्रम ओली नेतृत्व सरकारले राष्ट्रियता विभिन्न बिषयहरुमा आफ्नो अडान कायम राखेको छ । जसका कारण छिमेकी मुलुक भारतको टाउको दुखेको देखिन्छ र त्यो भन्दा बढी केहि भारतीय संचार माध्यमहरु बीच चर्चा जारि छ ।

लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भु-भागहरुलाइ नेपाली नक्सामा राखेसंगै भारतीय संचार जगतले तर्कहीन, भ्रामक समाचार बनाएर नेपाली स्वाभिमान माथि एकतर्फी हमला गरिरहेकाे देखिन्छ । नेपाली जनतालाई अपहेलित गर्ने यस्ता विभिन्न मिडियाहरुले बजारमा खुब चर्चा पाएसंँगै दुइ देशका जनता बीचको सौहार्दपुर्ण वाताबरणमा समेत प्रत्यक्ष असर पारेको छ । जुन बिषय सामान्य होइन । 

हिजो मात्र एक भारतीय न्युज च्यानलले प्रम केपी ओली तथा नेपालका लागि चिनिया राजदुत होउ यान्छीको अनर्गल समाचार बनाएर प्रसारण गरेको देखियो । याे त एक उदाहरण मात्रै हाे । सत्य-तथ्य र स्वस्थ समाचार हेर्न, सुन्न अबैले पाउनु पर्छ तर कुनै पनि बिषयलाई गलत ढंगले अर्थ्याएर सम्प्रेषण गर्नु घोर निन्दनीय छ । 

वर्तमान सरकार वा प्रम केपी ओली नेतृत्वकाे सरकारले अधिकांस जनताको मन जित्न सकेको छैन होला, भाषण गरे जति तिब्र गतिमा बिकास निर्माण वा जनसरोकारका बिषय सम्बोधन भएनन् होला तर राष्ट्रियताकाे सवालमा आफ्नो निर्णयमा अडिक रहेको हामी कसैले नकार्न सक्दैनौ ।

राजनैतीक आन्तरिक विभिन्न महत्त्वपूर्ण बिषयहरुमा हामी नेपालीहरुबीच पक्कै मतभेद होलान, हामी आफ्नो पार्टीगत राजनैतिक सिद्दान्तमा अलग विचार, कार्यगत शैली फरक होला ।  हामीले चाहेको राजनैतिक व्यवस्था अलग होस भन्ने आ-आफ्नै अडान पक्कै छ होला तर राष्ट्रियताकाे सवालमा, देशको स्वाभिमानको सवालमा हाम्रो एकतामा कुनै कमि देखिदैन र देखिनु पनि हुदैन । 

भारतीय मिडियाको यस्ता भ्रामक न्युज च्यानललाइ रोक लगाउने सरकारको रणनीति तय हुनु पर्ने देखिन्छ भन्ने हाम्रो धारणा रहेको छ । – सम्पादक