सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी : १५ घर बगे, दुईको मृत्यु, १८ जना बेपत्ता


लेखापढी      २५ असार २०७७, बिहीबार ११:३९

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी :  १५ घर बगे, दुईको मृत्यु, १८ जना बेपत्ता

सिन्धुपाल्चोक — सिन्धुपाल्चाेकमा बुधबार राति बाढीले १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । कम्तिमा १६ जना मानिस वेपत्ता छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ । भोटेकोसीसँगै वरपरका खाेलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार बाढीले जम्बु बजार नै बगाएको छ । बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खाेला बस्ती पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको हो ।

बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।