डब्ल्यूएचओद्वारा हावाबाट कोरोना फैलिन सक्ने प्रमाण स्विकार


लेखापढी      २४ असार २०७७, बुधबार १२:०९

डब्ल्यूएचओद्वारा हावाबाट कोरोना फैलिन सक्ने प्रमाण स्विकार

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । 

एरोसोल भनिने हावामा रहने साना कणमार्फत् कोरोनाभाइरस फैलन सक्ने प्रमाण जुट्दै गरेको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले मङ्गलवार स्वीकारेको छ।

यसअघि वैज्ञानिकहरूको एक समूहले डब्लुएचओलाई कोरोनाभाइरस सङ्क्रमण रोकथामसम्बन्धी विद्यमान निर्देशिकामा सुधार गर्न अपिल गरेका थिए।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरूले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले श्वास फेर्दा सङ्क्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।

यसै गरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले भने, ‘खास गरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशङ्कालाई इन्कार गर्न सकिँदैन । हामी यी प्रमाणहरूलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राख्छौँ ।’

हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२(कोरोना) भाइरस मुख्यरुपमा सङ्क्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ । त्यसैले डब्ल्यूएचओले एक–अर्काबिच कम्तीमा ३–३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ । यदि हावाको माध्यमबाट कोरोना सङ्क्रमण फैलिने कुरा औपचारिक रूपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ ।