सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न समाजवादी पार्टीको कार्यदलले सिफारिस


लेखापढी      २३ असार २०७७, मंगलवार १६:०६

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न समाजवादी पार्टीको कार्यदलले सिफारिस

२३ असार, काठमाडौं ।  समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ। समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको हाे । त्यसअनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।

संसदमा पार्टीको ह्वीप उल्लंघन गरेको र राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गर्न पार्टीले एक कार्यदल गठन गरेको थियो ।

पार्टीका महासचिव रामसहाय यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदलले मंगलबार संसद गिरीलाई कारबाही गर्न यस्तो सिफारिस गरेको हो ।लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति समेत दिँदै आएकी थिइन्।

कार्यदलको सिफारिसबारे छलफल गर्न समाजवादी पार्टीको पदाधिकारी बैठक मंगलबार दिउँसो बस्ने बताइएको छ । एजेन्सी