नेविसंघ नेतृत्वलाई थर्काउँदै देउवाले भनेः बढ्ता जान्ने भइहाल्नुपर्ने ? लाज छैन (भिडियाे सहित)


लेखापढी      १९ असार २०७७, शुक्रबार १४:३४

नेविसंघ नेतृत्वलाई थर्काउँदै देउवाले भनेः बढ्ता जान्ने भइहाल्नुपर्ने ? लाज छैन (भिडियाे सहित)

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्व प्रति आक्रोशित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् ।

पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विद्यार्थी नेतालाई सार्वजनिक रुपमै थर्काएका हुन् ।

 

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुलाई गाउँ गाउँ र स्कुलमा संगठन नबनाएको भन्दै गुनासो पोखेका छन् । शुक्रबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित रक्तदान कार्यक्रममा छोटो सम्बोधन गरेका देउवाले त्यही छोटो समयमा पनि नेविसंघ नेताहरुलाई थर्काएका छन् ।

देउवाले भने ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन’ भन्दै सम्बोधन शुरु गरेका उनले महामारीका बेला भाषणबाजीको कार्यक्रम नराख्न आग्रह गरे । खतरा रोग आएको भन्दै उनले भने, ‘कहिलेकाहीं कार्यक्रम नगरे पनि हुन्छ । ठूलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिरहनु पर्ने ?’