सरकारले अकस्मात सिफारिस गरेपछि राष्ट्रपतिबाट संसद्‌को अधिवेशन अन्त्य


लेखापढी      १८ असार २०७७, बिहीबार २१:३५

सरकारले अकस्मात सिफारिस गरेपछि राष्ट्रपतिबाट संसद्‌को अधिवेशन अन्त्य

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा संसद्को बर्खे अधिवेशन बिहीवार साँझ ५ बजेदेखि अन्त्य गरेकी छन्। 

बिहीबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गर्‍यो । त्यसको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरिन् र यससम्बन्धी पत्र राष्ट्रपति कार्यालयले संघीय संसद् सचिवालयलाई पठायो।

संसद्‌को अधिवेशन बैशाख २६ गतेदेखि सुरु भएको थियो। अधिवेशन शुरु हुनुअघि मन्त्री, सांसद र संसद्‌का कर्मचारी सबैको कोरोनाभाइरस परीक्षण गरिएको थियो।

चालु अधिवेशनमा संविधान संशोधन विधेयक अनि आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित भएका छन्।

निकै महत्त्वपूर्ण मानिएका नागरिकतासम्बन्धी विधेयक र निजामती कर्मचारी विधेयक अन्तिम चरणमा आएर रोकिएको छ।

नेकपाभित्र विवादित बनेको एउटा अमेरिकी सहयोग सम्झौता एमसीसी पनि संसदीय अनुमोदनको पर्खाइमा रहेको थियो।

दुई अधिवेशनबीच छ महिनाभन्दा बढी समय राख्न नहुने संवैधानिक व्यवस्था छ।

प्रतिनिधि सभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा नयाँ संसद् अधिवेशन सुरु हुन सक्नेछ।

 प्रतिक्रिया

 

पत्र