नेकपाकाे संकटः गुटबन्दीदेखि पार्टि विभाजनसम्म


लेखापढी      १८ असार २०७७, बिहीबार २२:४२

नेकपाकाे संकटः गुटबन्दीदेखि पार्टि विभाजनसम्म

काठमाडौँ । बहुमतको सरकार तथा ठुलो पार्टी नेकपा भित्र उठेको विवाद सामान्य तवरले समाधान हुने कुनै संकेत देखिदैन। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ ।

गतहप्ता स्थायी कमिटि बैठकमा प्रम ओलीले आफ्नो सरकार भारतले ढाल्न खोजेको आरोप लगाए पश्चात चर्किएको विवाद मत्थर हुने देखिदैन । नेकपा पार्टी भित्र पुष्पकमल खेमा र ओलि खेमा  अन्तरसंघर्ष झन् चर्किएको छ । अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतका नेताहरूले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न आग्रह गरेका छन् । ४४ सदस्यीय स्थायी कमिटीका ३० जना सदस्य प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका छन् ।

स्थायी कमिटीको केही दिन यता जारी बैठकमा ‘स्वेच्छाचारी रूपमा सरकार सञ्चालन गरेको र पार्टी एकताको भावना अनुसार काम गर्न नसकेको सहितका आरोप लगाउँदै’ प्रचण्ड सहितका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका छन्।

पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल अनि उपाध्यक्ष बामदेव गौतम सहित बहुमत नेताहरू विपक्षमा उभिएपछि ओलीमाथि पद छाड्न दबाब बढिरहेको छ।

दलभित्रको समीकरणमा प्रधानमन्त्री असहज अवस्थामा पुगिरहेको देखिएपनि ओली निकटका एकजना नेताले प्रधानमन्त्री ती दुवै छाड्न तयार नरहेको सङ्केत गरेका छन्।

नेता महासेठका अनुसार जारी स्थायी कमिटीको एजेण्डामा प्रधानमन्त्रीको राजिनामाको विषय पर्दैन।

गत आइतवार प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन भारत र आफ्नै पार्टीका नेताहरू पनि लागि परेको भन्ने धारणा राखेपछि त्यसले नेकपा भित्रको विवादलाई थप बढावा दिएको देखिन्छ।

अन्य शीर्ष नेताहरू एकठाउँमा उभिएपछि प्रधानमन्त्री ओली नेकपाको नौ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी दुवैमा अल्पमतमा परिरहेको बताइन्छ।

धानमन्त्री ओलीले बिहीबार संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि विवाद झनै चुलिएको छ । ओलीले संसदीय दलमा ४० प्रतिशत संख्या भए दल फुटाउन सकिने अध्यादेश ल्याउने तयारी गरेको अर्को पक्षको दाबी छ । विद्यमान कानुनअनुसार पार्टी विभाजनले मान्यता पाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत चाहिन्छ ।

बुधबार साँझ प्रचण्ड र नेपाल पक्षका ३० जना स्थायी कमिटी सदस्य झम्सिखेलमा भेला भएका थिए । सो भेलाले ओलीले दुवै पद छाड्नुपर्ने नेताहरूको माग अनुमोदन मात्र गरेन, पार्टीको निर्णय मान्छु भनेर आए मात्रै प्रधानमन्त्रीसँग वार्ता गर्ने शर्त राख्यो ।