प्रधानमन्त्री ओलीले भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको दाबी


लेखापढी      १४ असार २०७७, आईतवार २१:२१

प्रधानमन्त्री ओलीले भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको दाबी

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको दाबी गरेका छन् । भारतको यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ ।

स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा राजधानीमा आइतवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई विगतमा जस्तै पदबाट हटाउन खोजिएको दाबी गरे। ५८ वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोजिएको बताउँदै त्यो कुनै गल्ती नभएको उनले जिकिर गरे।

प्रधामन्त्री ओलीले थपे, “तर त्यसो गरेपछि नेपालकै नेताहरू लागिपरेका छन्, बहस चलेको छ। अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन।”

विगतमा चीनसँग व्यापार तथा पारवहन सन्धि गरेर फर्केपछि आफू नेतृत्वको सरकार ढालिएको उनले दाबी गरे।

“…दिल्लीका सञ्चारमाध्यमहरूलाई सुन्नूस् त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ केके भइरहेको छ। यहाँका होटलमा भइरहेका गतिविधिहरू त्यसले पनि देखाउँछ। एम्बेसी [ दूतावास] को सक्रियता त्यसले पनि बताइरहेको छ।”

‘यहाँका होटलहरुमा भइराखेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ ।’

नेपालको नक्सा छापेरे कुनै गल्ती नगरेको भन्दै उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना पूरा नहुने बताए ।

म तपाईहरुलाई यत्ति भन्दिन्छु–नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन । यो नसोचे पनि हुन्छ ।

आफ्नो लागि भन्दा पनि देशका लागि आफू अहिले पदबाट हट्नु उपयुक्त नहुने प्रधानमन्त्री ओलीको तर्क छ।

“मलाई प्रधानमन्त्री पदमा बसिरहन मन छैन, तर यति बेला म हट्ने हो भने फेरि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन। किनभने भोलिपल्ट बर्खास्त हुन्छ।” एजेन्सी