नेकपा बैठक १६ गतेसम्मका लागि स्थगित; असार १६ गते सीमाबारे र कोरोनालगायत एजेन्डामाथि छलफल हुने


लेखापढी      १३ असार २०७७, शनिबार १८:५४

नेकपा बैठक १६ गतेसम्मका लागि स्थगित; असार १६ गते सीमाबारे र कोरोनालगायत एजेन्डामाथि छलफल हुने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ। बैठकबारे शनिबार अपरान्ह पत्रकारहरूलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको बताए।

‘असार १६ गते विहान ११ बजे पुन: बैठक बस्नेछ,’ प्रवक्ता श्रेष्ठले भने। भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले अर्को बैठक असार १६ गते बालुवाटारमै बस्ने उनले जानकारी दिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सचिवालय सदस्य द्वय ईश्वर पोखरेल र वामदेव गौतम लगातयत १० जना स्थायी कमिटी सदस्यले आआफ्नो धारणा राखेका छन् । शनिबार सीमाबारे स्थायी कमिटीमा छलफल भएको थियो। २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेको श्रेष्ठले बताए। भूमि फिर्ता ल्याउनुपर्छ भन्नेमा सदस्यहरूले धारणा राखेको उनको भनाइ छ। सबैले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्नु ऐतिहासिक भएको बताएका छन् । साथै अब कूटनीतिक सम्वादमार्फत अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् ।

असार १६ गते सीमाबारे केहीबेर छलफल गर्ने र कोरोनालगायत एजेन्डामाथि छलफल हुने उनले जानकारी दिए। एजेन्सी


लेखापढी