क्यारेबियन प्रिमियर लिग (सिपिएल): सन्दीपको मूल्य १ करोड


लेखापढी      १० असार २०७७, बुधबार १६:२५

क्यारेबियन प्रिमियर लिग (सिपिएल): सन्दीपको मूल्य १ करोड

एजेन्सी, १० असार । सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले आज बुधबार खेलाडी छनोटका लागि ड्राफ्ट गर्दैछ । गत वर्ष २०१८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) मा २० लाख भारुमा अनुबन्धन भएर विश्वका विभिन्न लिगमा खेलेका सन्दीप लामिछानेको यस सिजनमा मूल्यह्वात्तै बढेको छ। 

ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन्। सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर मूल्य (१ करोड ८ लाख ५७ हजार रुपैयाँ) तोकेका छन् ।

सीपीएल २०२० को लागि आज हुने भनिएको भर्चुअल ड्राफ्टमा ५ सय ३७ खेलाडी सहभागी हुँदैछन् । सीपीएलको ईतिहासमा नै पहिलोपटक ड्राफ्ट हुनुअगावै क्लबले विदेशी खेलाडीलाई अनुबन्धन गर्न पाउने प्रस्ताव आएसँगै केही क्लबले यसअघि नै विदेशी खेलाडीलाई अनुबन्ध गरि सकेका छन् ।

ड्राफ्टका लागि ५३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा परेका छन्।

सिपिएलका लागि २३ देशका खेलाडीले नाम दर्ता गराएका छन्।

कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ। लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा हुने तय छ। तर ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन बाँकी नै छ ।