राती १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक हिँडडुल गर्न रोक


लेखापढी      ५ असार २०७७, शुक्रबार २१:२९

राती १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक हिँडडुल गर्न रोक

५ असार, काठमाडौं । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

नयाँ मापदण्डअनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठलगायतका सामाजिक सांस्कृतिक कार्यक्रमहरुमा १५ जनाभन्दा बढी भेला हुन नपाइने भएको हो।

यस्तै मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरुले चालक, सहचालकबाहेक अन्य कुनै पनि यात्रुको ओसारपसार गर्न नपाइने नयाँ सुरक्षा मापदण्डमा उल्लेख गरिएको छ ।

असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको गृह मन्त्रालयले जनाएको छ ।

कार्यस्थल, सार्वजनिकस्थल तथा अन्य काममा बाहिर निस्कँदा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्न र नियम पालना गरे/नगरेको अनुगमन गर्न पनि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । यस्तै मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ । उद्योग/कलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।

गृह मन्त्रालयले जिल्लाको स्थिति हेरेर हरेक जिल्ला प्रशासन कार्यालयले सुरक्षा मापदण्ड/लकडाउन मोडालिटी बनाउन सक्ने छन् चैत ११ गतेबाट लगाइएको लकडाउन मोडालिटी जेठ ३२ सम्म देशभर एकै किसिमको थियो ।

https://drive.google.com/file/d/1UBo2xhY5LOTZz-XTZalmHv-dTXHATk2j/view