गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई चीनले रिहा गर्‍यो


लेखापढी      ५ असार २०७७, शुक्रबार १३:१०

गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई चीनले रिहा गर्‍यो

भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्।

सोमबार सीमा  विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए।

सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ।

भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन।

गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने यसले दुई शक्ति राष्ट्रबीच तनाव बढाएको थियो।

चीनले भिडन्तमा आफ्नो पक्षको क्षतिको बारेमा बोलेको छैन। भारतका भने कम्तीमा पनि ७६ सैनिक घाइते भएका छन्।

दुवै देशले एकअर्कालाई भिडन्तका लागि उक्साएको आरोप लगाएका छन्।

सो क्षेत्रमा दुई देशको सिमाना राम्ररी सीमाङ्कन नभएको र भौगोलिक अवस्था परिवर्तन हुने खालको रहेको छ।

इन्डिया टुडेका वरिष्ठ सम्पादक शिव अरुरका अनुसार भारतीय सैनिक मुक्त गर्ने कुरा बुधवार भएको वार्ताको प्रमुख विषय थियो।

बिहीवार दिउँसो चीनले भिडन्तमा प्रयोग गरेको भनिएको हतियारको तस्बिर सार्वजनिक भएको थियो।

चीनले पनि आफ्नोतर्फ पनि क्षति भएको बताएपनि के-कति संख्यामा आफ्नोतर्फ हताहती भयो भन्ने बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन।


एजेन्सी